शेयेर गर्नुहोस
टीकापुर १३ कार्तिक /
नेपाल एयरलाइन्सले कैलालीको टीकापुर विमानस्थलमा सफल परिक्षण उडान गरेसँगै सोमबार पहिलो व्यावसायिक उडान पनि भएको छ ।
नेपाल उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको 9N -ABU नम्बरको जहाले विमानस्थलमा सफल परिक्षण उडान गरेसँगै पहिलो व्यावसायिक उडान पनि भएको हो । तारा एयरलाइन्सनको N9 – AEV नम्बरको जहाजले नेपालगन्जबाट टीकापुरहुँदै पोखराको लागि पहिलो व्यावसायिक उडान भरेको हो । नेपालगञ्ज विमानस्थलबाट उडेको जहाज टीकापुरहुँदै पोखरा गएको थियो । उसले टीकापुरका ३ र पोखराका १५ जना यात्रु बोकेर उडेको थियो । सो जहाजबाट नेपालगञ्ज हुँदै टीकापुर आउनेमा पूर्व साँसद रेशमलाल चौधरी, व्यवसायी टीकाराम जैशी र बसन्त हमाल रहेका छन । व्यवसायी जैशीले सम्भाव्यता अध्ययनका लागि तारा एयरले टीकापुर उडान भरेको बताए ।
नेपाल एयरलाइन्सको परिक्षण उडानले विमानस्थलको अवस्था ठिक रहेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरएसँगै व्यावसायिक उडानको लागि बाटो खुलेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले जानकारी दिनुभएको छ । “सफल परिक्षण उडानसँगै व्यावसायिक उडानको लागि पनि अनुमति पाइएको छ । यो खुशीको कुरा हो” राज्यमन्त्री चौधरीले भन्नुभयो, “आगामी दिनमा सुदुरपश्चिम र कर्णाली प्रदेशक पहाडी जिल्लामा व्यावसायिक उडानको बाटो खुलेको छ । निरन्तरताको लागि पहल गर्छौं ।”
नेपाल एयरलाइन्स N9 – AEV नम्बर जहाजका क्याप्टेन महेश विष्टले विमानस्थलमा जहाजको लागि समस्या नरहेको बताउनुभएको छ । उहाँले सानो जहाज सञ्चालन गर्दा कुनै समस्या नआउने बताउनुभयो । परिक्षण उडानमा क्याप्टेन विष्ट सहित चालक दलका उज्ज्वल सिलवाल, रुप कुमार सिद्धी रहेका थिए । भने प्राधिकरणका इन्जिनियरहरु रहेका थिए ।
परिक्षण उडानका क्रममा प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले ठूलो जहाजको लागि धावन मार्ग कम हुने बताउँदै सानो जहाज सञ्चालनका लागि कुनै समस्या नरहेको बताउनुभएको छ । “ठूलो जहाजका लागि धावन मार्ग पुग्दैन । सानोको लागि कुनै समस्या छैन ।” उहाँले भन्नुभयो, “नेपाल एयरलाइन्ससँगै निजि कम्पनीहरुसँग समन्वय गरेर विमानस्थल सञ्चालनलाई निरन्तरता दिन सकिन्छ ।”
त्यसैगरी व्यावसायिक उडानका लागि आएको तारा एयरलाइन्सका क्याप्टेन पवनसिंह नगरकोटीले टीकापुर पहिलोपटक आएको बताउँदै उडान भर्नका लागि समस्या नभएको प्रतिक्रिया दिनुभएको छ । २०७१ सालमा तारा एयरलाइन्सको जहाजले परिक्षण उडान भएको भए पनि विमानस्थल सञ्चालनले निरन्तरता दिन सकेन । टीकापुर नगरपालिकाको समन्वयमा विमानस्थलको परिक्षण उडान भएसँगै नियमित उडानको अपेक्षा आम नागरिकहरूले गरेका छन् । उसो त २०४१ सालमा सञ्चालनमा आएको टीकापुर विमानस्थल २०५४ सालमा बन्द भएको थियो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुर विमानस्थल जस्तै ओझेलमा परेका सबै विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन् । उनले टीकापुरले वर्षैदेखी देखेको सपना पूरा भएको बताउँदै त्यसलाई सार्थकतामा बदल्न सबैले लाग्नुपर्ने बताएका छन् । “विमानस्थल सञ्चालनमा सबै टीकापुरको सोच सकारात्मक हुनुपर्छ । नकारात्मक टीकाटिप्पणीले समाज बन्दैन ।” उनले भने, “नकारात्मक कुराले समाजलाई खण्डित गर्ने गर्ने काम मात्रै गर्छ ।” टीकापुर विमानस्थल निरन्तर सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सुदुरपश्चिम प्रदेश पर्यटन तथा वन वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले निर्वाचनमा बोलेको कुरा पूरा गरेको बताएका छन् । जनतासँग गरेको प्रतिबद्धता पुरा गरेको बताउँदै विमानस्थल सञ्चालनका लागि पहाडी जिल्लाहरुमा उडानको वातावरण सिर्जना गर्नुपर्ने बताए । विकासको प्रमुख आधारस्तम्भको रुपमा विमानस्थल सञ्चालनलाई लिइएको उनको भनाई छ ।