परिणाम नआउने क्षेत्रमा प्रदेशले खर्च गर्दैन : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


टीकापुर १७ फागुन /
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेशले बजेट खर्च गर्न छोडेको बताउनु भएको छ ।
टीकापुर स्थित जालवा देवी सेवा समितीद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्नुहुँदै मुख्यमन्त्री शाहले यसभन्दा पहिले करोडौं खर्च भएका सयौं संरचना अलपत्र परेको बताउँदै प्रदेश सरकारले आवश्यकताको आधारमा बजेट खर्च गर्ने गरेको बताउनुभएको हो । “हिजो समुदायस्तरबाट लाखौं करोडौंका योजना माग भए, त्यसमा बजेट खर्च भयो, आज ती योजना सम्पन्न भए पनि सञ्चालनमा नआएरै अलपत्र परेका छन् ।” उहाँले भन्नुभयो, “अब औचित्यका आधारमा आवश्यकतालाई महसुस गरेर मात्रै बजेट खर्च गर्ने नीति प्रदेश सरकारले लिएको छ ।”
उहाँले समाजलाई आवश्यक परेका र भोलीसम्म त्यसको प्रभाव रहने क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधनका क्रममा मुख्यमन्त्री शाहले राष्ट्रका निम्ति योगदान दिएका व्यक्तिहरुको खोजी हुनुपर्ने बताउनुभएको छ । इतिहासलाई साक्षी राख्ने राष्ट्रका लागि योगदान दिएका व्यक्तिको खोजी हुनुपर्ने बताउनुभएको हो । “देश र समाजलाई हरेक कालखण्डमा योगदान दिएका व्यक्तिको पहिचान गरेर त्यस्ता व्यक्तिलाई समाजले सम्मान गर्न जरुरी छ ।” उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई राष्ट्रका अगाडि पुर्याउन पनि जरुरी छ ।”
प्रदेश सरकारले राष्ट्र र समाजका लागि योगदान दिएका व्यक्तिको खोजी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहले शिक्षा, संस्कार, संस्कृतिका साथै सबै नागरिकहरूलाई एउटै दर्जा दिने डण्डी स्वामी समाजको एक इतिहास भएको बताउनुभयो ।
प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सदस्य प्रकाश रावल इतिहास कसैले मेटेर नमिएटिने बताएका छन् । उनले जालवा देवी मन्दिर क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोड्न सकिने बताएका छन् । आफू मन्त्री बन्दा झण्डै ८५ लाख बजेट मन्दिर परिसरका लागि विनियोजन गरेर खर्च गरिएको बताएका छन् । प्रदेशमा बलियो सरकार बनेका बेला नागरिकहरूले विकासको अपेक्षा बढी गरेको बताएका छन् । पछिल्लो समय युवाहरुमा वितृष्णा जागेको बताउँदै युवाहरूको अपेक्षा अनुसार राजनीतिक दलले काम गर्न सक्नुपर्ने बताएका छन् ।
शालिक अनावरण उपसमितिका संयोजक तथा टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले झण्डै एक सय ५० वर्ष अगाडि अछामको सुगाली स्थित बडिगाउँमा आएर कला संस्कृति सँगै शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याउने काम डण्डी स्वामीले गरेको बताएका छन् । उनले समाजलाई पहिचान दिने कुरामा स्वामीले महत्त्वपूर्ण योगदान दिएको बताए । वि. सं. १९१२ मा जन्मिएका स्वामीले अछामको होरी पर्व देउडालाई छन्दबन्द गर्दै १६ वटा छन्दमा विभाजन गरेको पाइन्छ ।
नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशसँग बजेटको माग गरेका छन् । उनले कर्णाली नदीका कारण नागरिकहरू बर्सेनि जोखिममा पर्दै गएको बताउँदै त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारको तर्फबाट सहयोगको अपेक्षा गरेका छन् । “विकास हुँदा नागरिकहरू खुशी हुन्छन् । त्यसको उदाहरण टीकापुर विमानस्थल एउटा हो ।” उनले भने, “कतिपयलाई विकास अपाच्य हुँदो रहेछ । कतिपयलाई विमानस्थल सञ्चालनमा आउँदा टाउको दुखाइ भएको छ ।” केही संचारमाध्यामले नै सामाजिक सद्भाव बिगार्ने गरेको गरेको उनको दाबी गरे ।
सेवा समितिका संस्थापक अध्यक्ष डा जगतबहादुर सिंह रावल, वीरेन्द्र विद्यामन्दिर माद्यामिक बिधालयका प्राचार्य फणेन्द्र राज रेग्मी, टीकापुर विकास समितिका पुर्व अध्यक्ष मीनबहादुर रावल लगायतले बोलेका थिए । सेवा समितिका अध्यक्ष गोविन्द बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तर्क बहादुर रावलले गरेका थिए भने सञ्चालन महासचिव रमेश रावलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *