पहिलोपटक इ-हाजिरी जडान

शेयेर गर्नुहोस

टीकापुर २३ मंसिर /
टीकापुर नगरपालिकाले पहिलोपटक इ-हाजिरी सुरु गरेको छ ।
विगतदेखि ढड्डा (हाजिर रजिस्टर) मा कर्मचारी हाजिर हुँदै आएकोमा नगरपालिकाले अहिले इ-हाजिरी सुरु गरेको हो । इ-हाजिरी पुर्ण रुपमा कार्यान्वयनमा आएपछि कर्मचारीले रजिष्टरमा अबदेखि हाजिरी गर्नुपर्ने छैन । कर्मचारीले महिना दिनको हाजिरी एकैदिन गर्ने गर्ने परिपाटीको अन्त्य हुनेछ । यसभन्दा पहिले केही कर्मचारीले महिनादिनको हजिर एकैदिन गर्ने गरेको पाइएको थियो । अब त्यो हुने छैन । त्यतिमात्र नभई प्रशासनलाई जानकारी नदिएरै मनलाग्दी बिदामा बस्ने परिपाटी पनि इ-हाजिरी सफ्टवेयर पुर्ण कार्यान्वयनमा आएपछि बन्द हुने छ ।
उसो त यसभन्दा पहिले पनि नगरपालिकाले इ-हाजिरी जडान गएको थियो । त्यो पुर्ण कार्यान्वयनमा नआएरै प्रयोगविहीन बन्यो । जुन नगरपालिकाले इ-हाजिरी आफै खरिद गरेको थियो । अहिलेको इ-हाजिरी सामान्य प्रशासन मन्त्रालयले सित्तैमा उपलब्ध गराएको छ । सित्तैमा उपलब्ध हुने कुरालाई पनि स्थानीय तहले कार्यान्वयन गर्न सकेका छैनन् । अन्य पालिकाले अझै उक्त सफ्टवेयर ल्याउन पनि सकेका छैन । कार्यालयमा कुशल प्रशासक भएपछि धेरै कुरा परिवर्तन गर्न सम्भव छ भन्ने उदाहरण पछिल्लो समय टीकापुर नगरपालिकाले दिन थालेको छ ।
“सामान्य प्रशासन मन्त्रालयले जिआइडिसी सिस्टम लागू गरेको छ । जुन सुस्टम पुर्ण कार्यान्वयन गर्न सके कार्यालयका सबै काम अनलाइन प्रणाली मार्फत हुन्छन् ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले भने, “हामीले त्यहीँ सफ्टवेयर जडान गरेका छौं । तत्कालका लागि कर्मचारी हाजिरी र दर्ता चलानीलाई अन्लाईन प्रणालीमा लैजान्छौं ।” उनका अनुसार आइटीबाट कर्मचारीको विवरण प्रणालीमा राख्ने काम भैरहेको छ । त्यो सकिएपछि कर्मचारीको कार्यालय समयमा पुगे नपुगेको सबै कार्यालय प्रमुखले जताबाट पनि हेर्न मिल्नेछ ।
कर्मचारी हाजिरीसँगै कार्यालयको दर्ता चलानी प्रणालीलाई पनि अन्लाईनमार्फत गरिने गरी सफ्टवेयर जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत धितालले बताएका छन् । कार्यालयबाट बाहिर जाने चलानी फाइल र बाहिरबाट आएका दर्ता फाइलको अपडेट रजिस्टरमा नभई अनलाइनमा हुनेछ । प्रारम्भिक चरणमा नगरपालिकाबाट सुरु गरिए पनि त्यसलाई वडा तथा नगरपालिकाको मातहतका सबै कार्यालयमा इ-हाजिरी जडान गरिने धिताल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *