शेयेर गर्नुहोस
टीकापुर ०१ पुस /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले वर्तमान कार्यसमितिले कार्यकालको एक सय दिन पूरा भएको अवसरमामा प्रगति विवरण सार्वजनिक गरेको छ ।
संस्थाका अध्यक्ष खडक धामी धामीले सो कार्यक्रम मार्फत संस्थाको चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन । उनले प्रस्तुत गरेको विवरण अनुसार संस्थाले चालू आर्थिक वर्षको हालसम्म एक करोड ७६ लाख ९ हजार तीन सय ५४ रुपैयाँ आम्दानी गरेको देखाइएको छ ।
आम्दानीका स्रोतमा खानेपानी महसुलबाट एक करोड ३८ लाख १० हजार ७३ रुपैयाँ, धारा जडान शुल्कबाट ३३ लाख ५१ हजार एक सय १५ रुपैयाँ र अन्य विविधबाट चार लाख ४८ हजार एक सय ६६ रुपैयाँ देखाइएको छ । उता खर्चमा भने ७७ लाख ३५ हजार पाँच सय २८ रुपैयाँ छ । चालु आर्थिक वर्षको हालसम्म संस्थाले ११ लाख ७ हजार ७ सयको पाइप फिटिङ तथा अन्य सामान खरिद र फर्निचर खरिद गरेको छ । कर्मचारीको पारिश्रमिक तथा भत्तामा ३२ लाख ६३ हजार ८ सय ७० रुपैयाँ खर्च भएको देखाइएको छ ।
साधारण सभामा पाँच लाख ३५ हजार तीन सय १५ रुपैयाँ खर्च भएको छ भने वर्तमान कार्यसमितिले चन्दा तथा दान नदिने भने पनि प्रगति विवरणमा २३ हजार ५५ रुपैयाँ दान तथा चन्दामा खर्च भएको उल्लेख गरिएको छ । बैठक खर्चमा मात्रै ६८ हजार खर्च भएको छ । खानेपानीले हालसम्म ९८ लाख ७३ हजार ८ सय २६ रुपैयाँ बचत देखाएको छ भने गत आर्थिक वर्षको बचत गरी एक करोड १७ लाख ४२ हजार दुई सय ५१ रुपैयाँ देखिएको छ । संस्थाको मुद्द्ती खातामा भने एक करोड ५० लाख थप रहेको छ । खानेपानीसँग १३ करोड ८ लाख ऋण छ ।
अध्यक्ष धामीले प्रस्तुत गरेको विवरण अनुसार पाँच महिनामा दुई हजार ७ सय ५० मिटर पाइपलाइन विस्तार, दुई सय ६६ वटा नयाँ धारा जडान र मर्मतसम्भार निरन्तर भैरहेको उल्लेख छ । उनले निर्वाचनको बेला उपभोक्ताको माझमा उठाएका विषय भन्दा बाहिर गएर कुनै काम नगरेको बताउँदै आगामी दिनमा क्रमश गर्दै जाने बताएका छन् । “कतै पनि विचलित नभएर उपभोक्ताका माझमा गरेका प्रतिबद्धता अनुसार नै संस्थाको काम भैरहेको छ ।” उनले भने, “सबै कुरा एकैपटक हुन सक्दैनन् । हामीले सक्ने प्रयोग गरेर संस्थालाई बलियो बनाउने तर्फ सतर्क छौँ ।”
कार्यक्रममा संस्था विगत भन्दा झन दिनप्रतिदिन संकटमा गैरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । समाजसेवी ललित थापाले संस्था बिधि र सिद्धान्त भन्दा बाहिर गएर चलिरहेको बताउँदै त्यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमान प्रदेश अध्यक्ष योगेश रावलले खानेपानीमा विगत र वर्तमानलाई तुलना गर्दा कुनै सुधार हुन नसकेको बताएका छन् । उनले नेतृत्वले सबै कुराहरू मिलाएर जानुपर्ने भन्दै संस्थाका सचीवले कार्यशैली प्रती अध्यक्ष धामीसँग प्रश्न गरेका छन् । “संस्था भित्रको वास्तविकता के हो ? सचीवले सामाजिक संजालमा ल्याएकै जस्तो हो कि केही फरक छ ?” उनले भने, “यदि हो भने त्यो कसरी भयो ? होइन भने अनावश्यक कुराहरू किन बाहिर आइरहेका छन् । अध्यक्षले जवाफ दिनुपर्छ ।”
उनले केटाकेटी पाराले खानेपानी संस्था नचल्ने बताउँदै खानेपानी संस्थालाई संकटमा पुर्याउने काम भए त्यो उपभोक्ताका लागि राम्रो नहुने बताएका छन् । कार्यक्रममा बोल्ने वक्ताले धारामा दुई दिन बिराएर अहिले पनि धमिलो पानी आउने गरेको गुनासो गर्दै मिटर रिडिङमा समेत मनलाग्दी हुने गरेले त्यसतर्फ संस्था जिम्मेवार बन्न जरुरी रहेको बताएका छन् ।
संस्थाका संस्थापक अध्यक्ष नवराज रावल प्रमुख अतिथि रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष सीता चौधरीले गरेकी थिइन । कार्यक्रमको सञ्चालन सदस्य तेजे ठकुल्लाले गरेका थिए ।










