शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०२ भदौ /
कैलालीको टीकापुर नगरपालिका वडा नं. २ सीतापुरका भुवनचौधरीले नसोचेको कुरा भएपछि निकै खुशी हुनुहुन्छ । जंगल नजिक भएका कारण पनि दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका भुवनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने कल्पना समेत गर्नुभएको थिएन । उहाँले पाइप लाइनबाट घरमै ग्यास पुग्ला भन्ने कल्पना समेत गर्नुभएको थिएन । भुवनले कल्पना नगरेकै त्यो खुशी पाइप लाइनबाट घरमै ग्यास पुगेपछिको हो । वर्षौदेखि दाउराबाट खाना पाक्ने भुवनको घरमा अहिले ग्यासबाट खाना पाक्न थालेको छ ।
“नजिकै जंगल छ । दाउराको समस्या पनि हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न पनि सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो ।” भुवन भन्नुहुन्छ, “अहिले घरमा पाइप लाइनबाट घरमै ग्यास पुगेको छ । यो हामीले सोचेको भन्दा धेरै परको कुरा सम्भव भएपछि राम्रो भएको छ ।” टीकापुर नगरपालिकाले वडा नं. ५ मा रहेको सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरेको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घरघरमा पाइप लाइनबाट ग्यास पुगेको हो ।
सोही ठाउँकी धनादेवी चौधरी ग्यास घरमा पुगेपछि दुख दिन गएको अनुभव सुनाउनुहुँन्छ । “यो बर्खा समयमा चुलोमा आगो बल्दैन । आगोमा खाना पकाउन समय पनि धेरै लाग्ने हुँदा समयमा बाहिरको काममा जान सकिएको थिएन ।” धनादेवी भन्नुहुन्छ, “अहिले एक घण्टामा खाना पाक्छ । समयमा काममा जान सकिएको छ । भाडाकुडा माझ्न पनि समय लाग्दैन । हाम्रालागि नसोचेको भएको छ ।” ग्यास नियमित नहुँदा भने कहिलेकाही झुक्याउने गरेको गुनासो धनादेवीको छ ।
ग्यास प्लान्ट परिक्षणमा रहेकोले नियमित भने छैन । अहिले दिनमा चार घण्टा ग्यास आउने गरेको फरहरी थारु बताउनुहुँन्छ । उहाँले कहिलेकाही भनेको समयमा ग्यास नआउने र खाना पकाउँदै जाने हुँदा समस्या भएको भन्दै नियमित गर्न आग्रह गर्नुभएको छ । “कुनै बेला रेडियोमा पाइप लाइनबाट घरघरमा ग्यास पुग्छ भन्ने कुरा सुनेका थियौं । त्यो बेला मजाक जस्तो लागेको थियो । आज त्यो पुष्टि भएको छ, हाम्रै घरमा पाइप लाइनबाट ग्यास पुगेको छ ।” फरहरी भन्नुहुन्छ, “अब निश्चित मापदण्ड बनाएर नगरपालिकाले नियमित ग्यास सञ्चालन गर्न सके राम्रो हुन्थ्यो ।”
ग्यास प्लान्ट परिक्षणको क्रममा हुँदा स्थानीयले नि:शुल्क ग्यास उपभोग गर्न पाएका छन् । दुई महिनादेखि परिक्षणका लागि ग्यास प्लान्ट सञ्चालनमा रहेको छ । ग्यास नियमित भए वर्षौंदेखिको दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने बबिता चौधरी बताउनुहुँन्छ । “दीर्घकालीन बन्ने नबन्ने थाहा भएन । दीर्घकालीन भयो भने हाम्रालागि धेरै राम्रो छ । हामीले नियमित खोजेका छौँ ।” बबिता भन्नुहुन्छ, “नयाँ काम हो, सबै सफल हुन्छन् भन्ने हुँदैन । तर नगरपालिकाले गरेका थुप्रै कामभन्दा राम्रो काम बायो ग्यास प्लान्ट पनि एक हो ।”
दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्यास पुगेको छ । ग्यास प्लान्टको क्षमता एक सय ५० घरधुरीका लागि छ ।ग्यास घरघरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ । एक करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल उर्जा विकास कम्पनीले पाएको थियो । गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको छ । “चौपायाको गोबरलाई संकलन गरेर प्लान्टमा राख्छौं । त्यसबाट प्रशोधन भएर ग्यास वस्तीमा जान्छ । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलको रुपमा बिक्री सुरु गरेका छौं ।” सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले भन्नुभयो, “गोबर प्रयाप्त छैन । आवश्यकता गोबरको अभावका कारण दिनमा चार घण्टा मात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ ।”
गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भैसकेको छ । मल भण्डारका लागि भण्डार कक्ष समेत नगरपालिकाले निर्माण गरेको छ । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भैरहेको समितिका अध्यक्ष बुढाक्षेत्री बताउनुहुँन्छ । “एकातिर मल बेचेर आम्दानी गर्न सकिन्छ भने अर्कोतिर स्थानीयलाई सहुलियत ग्यास वितरण गरेर ।” बुढाक्षेत्रीले भन्नुभयो, “नगरपालिकाले एक वर्षको लागि परिक्षण कालको रुपमा सञ्चालनको जिम्मा दिएको छ । त्यो अवधिमा गौशालालाई व्यावसायिक गौशालाको रुपमा स्थापित गरेर छोड्छौँ ।”
नगरपालिकाका इन्जिनियर नवराज जोशिले यसबाट नगरपालिका भित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनुका साथै स्थानीयले ग्यास प्राप्त गर्नुको साथै खेतको लागि कम्पोस्ट मल समेत उत्पादन हुने बताउनुभएको छ । नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट संकलन भएको फोहोरको व्यवस्थापन गर्ने तयारी समेत गरेको छ । त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहोरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डष्टविनको व्यवस्था गरिएको नगरपालिकाका फोहोर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताउनुभयो ।
गौशालासँग सुदुरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेश गरेको प्रस्तावना अनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ । गौशालाका गाईबाट दुध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाडाकुडा, ग्यास प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डार कक्ष, ग्यासको लागि बजार क्षेत्रमा संकलन हुने कुहिने फोहोरको छुट्टै व्यवस्थापनका लागि डष्टविनको व्यवस्था लगायतमा सहयोग गरेको इन्जिनियर जोशीले बताउनुभएको छ ।