पुरैना तालले पुनर्जीवन पाउने सम्भावना बढ्यो

शेयेर गर्नुहोस

पदमराज जैशी, भजनी २६ पुस /
नेपालकै सबैभन्दा लामो जैविक मार्ग वसन्ता जैविक मार्गसँग जोडिएको भजनी नगरपालिका वडा नं. ७ मा रहेको पुरैना तालको विषयमा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र लगायतको टोलिले चासो दिएको छ ।
ऐतिहासिक महत्त्व बोलेको पुरैना ताल स्थानीयको अतिक्रमणमा परेको समाचार यस हाम्रो समाधान डटकम लगायत केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी मिश्र लगातले चासो दिएको हो । वर्षौंदेखि अतिक्रमणमा परेको तालको संरक्षण गर्दै पुनर्जीवन दिने विषयमा चासो बढ्दै गएको छ । ऐतिहासिक महत्त्व बोकेको पुरैना ताल प्रती देखिएको चासोले तालले पुनर्जीवन पाउनेमा आशा समेत पलाएको स्थानीय बताउँछन् । तालको चासो सँगै प्रमुख जिल्ला अधिकारीको टोलीले ताल क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ ।
स्थलगत अनुगमनका क्रममा उनले पुरैना ताललाई पुरानै अवस्थामा फर्काउनका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले तालको जग्गा खाली गराउने कार्यमा आफू सकारात्मक रहेको बताउँदै भने, “इतिहासलाई कसैले मेटाउन हुँदैन । पुरैना ताल यसक्षेत्रको एक इतिहास हो ।” प्रमुख जिल्ला अधिकारी मिश्रले भने, “मैले मातहतका निकायलाई निर्देशन समेत दिइसकेको छु । माघ भित्र तालको नापीको काम सुरु हुन्छ ।”
नगरपालिकाका नगर प्रमुख केवल चौधरीले तालको नक्साङ्कनको काम अहिले सकेर बाँकी काम तालमा लगाएको अन्न बाली भित्र्याएपछि सुरु गर्ने तयारी भएको बताएका छन् । “लगाएको खेती नष्ट गर्नु राम्रो काम होइन । अहिले नक्साङ्कनको काम गर्ने र हिउँदे बाली भित्र्याएपछी बाँकी काम गर्ने गरि योजना बनाएका छौं ।” नगर प्रमुख चौधरीले भने, “स्थानीय पनि अतिक्रमण गरेको जग्गा खाली गर्नका लागि तयार रहेको बेला प्रमुख जिल्ला अधिकारी सहितको टोलिले गरेको अनुगमनले ताल पुरानै अवस्थामा ल्याउन सकिने आशा बढेको छ ।”
तालतलैया सिमसारमा आश्रित चराको प्रमुख बासस्थान रहेको पुरैना तालमा जाडो याममा बसाइँसराइ गरी आउने पाहुना आगन्तुक चराहरुको उडने मार्ग बाटो पहिचान हुने तालको रुपमा पनि पुरैना ताललाई चिन्ने गरिन्छ । त्यतिमात्र नभई विश्वकै दुर्लभ तथा संरक्षित ठुलो पन्छी सारसको प्रमुख प्राकृतिक बासस्थानको रुपमा पुरैना ताललाई चिन्ने गरिन्थ्यो । अनुगमनमा भजनी नगरपालिकाका नगर प्रमुख चौधरी,नगर उपप्रमुख राजु तिरुवा, डिभिजन वन कार्यालय पहलमानपुर कैलाली, नापि कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *