शेयेर गर्नुहोस
भजनी २० असार /
कैलालीको भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुग्नुभयो । उहाँको जीवन भजनीमै बित्यो । त्यो उमेरसम्म उहाँले कतिपटक कान्द्रा नदीको जोखिममा नदी वारपार भयो त्यो भनेर साध्य छैन ।
आफ्नो सम्झना कालदेखि कहिले नदीमा हाम फालेर, कहिले ढुङ्गाको सहायता त कहिले काठे पुलबाट वारपार गर्नुभएका भिक्कु कान्द्राको पुल निर्माण भएर आवतजावतमा सहज भएपछि आउने सन्ततिले आफ्नो जस्तो दुख भोग्नु नपर्ने बन्दै खुशी हुनुहुन्छ । “हामीले सोचेक पनि थिएनौं । कान्द्रामा पक्की पुल बन्ला र हामीले नदीको जोखिमबाट छुटकारा पाउला भनेर ।” भिक्कु भन्नुहुन्छ, “हेर्दाहेर्दै पुल बन्यो । यसवर्ष कान्द्रामा डुङ्गा देख्न नपाइने भयो । कसैले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भयो ।”
निर्माण सुरु भएको करिब १२ वर्षपछि कान्द्रा नदीको पुलले पुर्णता पाउन लागेको छ । केही काम बाँकी रहे पनि आवतजावतसम्म गर्न मिल्ने भएपछि यसवर्ष कान्द्रामा सञ्चालन हुने डुङ्गा विस्थापित भयो । विशेषगरी वर्षातको समयमा नदीमा पानीको बहाव निकै हुने भएकाले वारपार गर्न निकै कठिन हुँदै आएको थियो । सामान्य टाउको दुख्यो भने भजनी बजार, नगरपालिकाबाट कुनै सेवा लिनको लागि भजनी बजार, अझै भनौं जेसुकै कामका लागि पनि भजनी बजार आउनुपर्ने बाध्यतामा कान्द्रा नदी जहिल्यै बाधक बन्दै आएको थियो । “हामीले सोचेका पनि थिएनौं । पुल बन्ला र कान्द्रको डुङ्गा विस्थापित होला भनेर । समयको माग रहेछ आज विस्थापित भयो ।” स्थानीय प्रकाश चौधरी बताउनुहुँन्छ, “१२ वर्षसम्म सम्पन्न हुन नसकेको पुल बन्ला भन्ने आशा समेत मारिसकेका थियौं । आज पुल बनेको छ । हाम्रालागि यो खुशी कहिल्यै नबिर्सने खुशी पनि हो ।”
भजनी नगरपालिकाको वडा नं. ५ र ७ का स्थानीयका लागि सधै दुख बनेर बसेको कान्द्रा नदीले यसवर्ष अन्य दुखलाई यथावत राखे पनि आवतजावतमा हुने दुख सधैका लागि अन्त्य भएको कविता देवकोटा बताउनुहुँन्छ । “दैनिक भजनी बजार आउनुपर्ने प्रायः काम हुन्छ । नदीका लागि ४० रुपैयाँ छुट्याउनु पर्ने बाध्यता ।” कविताले भन्नुभयो, “कम्तिमा ४० रुपैयाँ त बच्यो । अर्को नदी किनार नपुदा सम्मको मनको भय पनि अन्त्य भयो ।” उहाँले पुल निर्माणसँगसँगै पुलसँगको सडक निर्माण गरेर सहजता गरिदिएको भए अझै राम्रो हुने बताउनुभएको छ ।
नगरपालिकाका नगर प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको एउटा सपना पूरा भएको बताउनुभएको छ । उहाँले निकै मिहेनत र संघर्षबाट पुल सम्पन्न भएको बताउँदै आगामी दिनमा कसैले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता नरहने बताउनुभयो । “कान्द्रा नदीमा सञ्चालन हुँदै आएको डुङ्गा सधैका लागि विस्थापित भएको छ । अब पैसा तिरेर नदी तिर्नुपर्ने छैन ।” नगर प्रमुख चौधरी भन्नुहुन्छ, “भजनीका स्थानीयलाई मात्रै नभई हुलाकी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले पनि सहज यात्रा गर्न पाउने भएका छन् । यो भजनीका लागि खुशीको कुरा हो ।”
एक सय मिटर लामो सो पुलको २०६८ जेठ ३१ मा ठेक्
का सम्झौता भएको थियो । सुरुको समय डिजाइन परिवर्तनका कारण निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीले बताउँदै आएको छ । बिरुवा/लामा/शेर्पा साल्पा जेभीले निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि कैयौँपटक म्याद थप गर्दा पनि काम पूरा हुन सकेको थिएन । तीन करोड ४५ लाख २० हजार रुपियाँ लागतमा पुल निर्माणको जिम्मा ठेकेदार कम्पनीले पाएको थियो । पुल निर्माणको काम ९५ प्रतिशत सकिएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार पुलको रेलिङ्गको काम बाँकी छ भने केही भागमा ग्राभेल गर्न बाँकी रहेको छ । “पुलको महत्त्वपूर्ण काम सम्पन्न भएर सुचारु भैसकेको छ । केही कामहरू छ । त्यो काम गर्नका लागि कार्यालयबाट निर्माण कम्पनीलाई दबाब दिइरहेका छौँ ।” सुनारले भन्नुभयो, “निर्माण कम्पनीको चरम लापरबाहीका कारण नै पुल निर्माणको काम सम्पन्न हुन समय लागेको हो । कम्तीमा पुल बनेको छ । यसलाई नै सफलता मानौं ।”