पुस्तकालयलाई फर्निचर उपलब्ध

शेयेर गर्नुहोस

भजनी २७ माघ /
भजनी नगरपालिका वडा नं. ५ ले भजनीमा रहेको जनता सामुदायिक पुस्तकालयलाई फर्निचर उपलब्ध गराएको छ ।
चालू आर्थिक वर्षमा वडा कार्यालयले विनियोजन गरेको ५० हजार बजेटबाट सामुदायिक पुस्तकालयलाई फर्निचरका सामाग्री वितरण गरेको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख केवल चौधरीले सामुदायिक पुस्तकालय भजनीका लागि गौरवको विषय भएको बताउँदै त्यसलाई जीवन्त राख्नको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्दै आएको बताएका छन् । उनले आगामी दिनमा पनि पुस्तकालयलाई हुने सहयोगमा कुनै कन्जुस्याइँ नहुने बताए ।
नगर प्रमुख चौधरीले पुस्तकालयले युवाहरूलाई प्राविधिक ज्ञानमा जोड दिन आवश्यक रहेको बताउँदै पुस्तकालयलाई डिजिटल तर्फ लैजान जोड दिएका छन् । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष केशव बुढाले विगतमा पनि वडाले पुस्तकालयलाई सहयोग गर्दै आएको भन्दै यसपटक पनि सिमित बजेटबाट पुस्तकालयलाई सहयोग गरिएको बताए । वडामा बजेट सिमित हुने र नागरिकहरूका अपेक्षा धेरै हुने हुँदा एकैपटक सबै क्षेत्रलाई समेटन गाह्रो हुने गरेको बताउँदै वडा अध्यक्ष बुढाले आवश्यकता अनुसार सबै क्षेत्रको सम्बोधन हुने गरी वडाले बजेटको बाडफाड र कार्यान्वयन गर्दै आएको बताएका छन् ।
वडा कार्यालयको स्वीकृत बजेटबाट पुस्तकालयलाई चार थान टेबुल र १५ थान काठको वितरण गरिएको हो । कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष हेमेन्द्र भारद्वाजले वडा कार्यालय तथा नगरपालिकालाई धन्यवाद दिएका छन् । उनले पुस्तकालयलाई भजनीको साझा सम्पत्तिको रुपमा स्थानीय सरकारले ग्रहण गर्नुपर्ने बताए । अध्यक्ष भारद्वाजले पुस्तकालय हालसम्म मागेरै सञ्चालनमा ल्याउनुपर्ने स्थितिमा रहेको बताउँदै स्थानीय सरकारले दीर्घकालीन योजनाका साथ पुस्तकालयलाई जीवन्त राख्नुपर्ने बताएका छन् ।
विभिन्न दातृ निकायबाट चलेको पुस्तकालयले हाल कम्प्युटर तयारी कक्षा, स्थानीय सरकारसँगको सहकार्यमा लोकसेवा तथा शिक्षक सेवाका तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *