प्रदेशको सरुवा रोग अनुसन्धान केन्द्र बन्दै

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १७ फागुन /
सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्न लागेको छ । सरुवा रोग अनुसन्धान केन्द्रका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसैवर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ ।
संघीय सरकारले प्रदेशको डोटी जिल्लामा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका बेला प्रदेश सरकारले प्रदेशस्तरिय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो । त्यसबेला वर्षको अन्तिममा भवन निर्माणको काम सुरु भएपछि काम समयमा सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एकवर्ष पछाडि धकेलिएको थियो । दुई करोडको लगानीमा पहिलो दुई तलासम्मको काम भएको भवनको यसवर्ष बाँकी काम सम्पन्न गरेर सञ्चालनको प्रक्रियामा लैजाने तयारी प्रदेशको रहेको छ । यसवर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवनको बाँकी कामको लागि दुई करोड बजेट विनियोजन गरेको छ ।
विनियोजन भएको बजेट टेन्डर प्रक्रियामा गएर सम्झौताको लागि निर्माणका लागि छनोट भएको निर्माण कम्पनीलाई पत्र पठाइसकेको मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । “मन्त्रालयले दुई करोडको टेन्डर आव्हान गरेकोमा १२ कम्पनीले शिलबन्दी बोलपत्र पेश गर्नुभएको थियो । त्यसबाट बिबि खप्तड जेभीले भवनको काम पाएको छ ।” इन्जिनियर तिमिल्सिनाले भन्नुभयो, “चालू आर्थिक वर्षभित्र संरचनाको काम सम्पन्न हुने गरी मन्त्रालयले निर्माण कम्पनीले सम्झौता गर्नेछ ।” उहाँका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले करिब ३२ प्रतिशत कम रकममा बोलपत्र पेश गरेको छ ।
संरचनाको काम सम्पन्न भएपछि सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने सामाजिक मन्त्रालयका सचीव गणेश सिंहले बताउनुभयो । उहाँले अहिले भवन निर्माणकै चरणमै रहेको बताउँदै त्यसपछि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले काम अगाडि बढाउने बताउनुभएको छ । “प्रदेशका लागि सरुवा रोग अनुसन्धान केन्द्र एउटा महत्त्वपूर्ण संरचना हो । त्यसलाई महत्त्वका साथ हेरिएको छ ।” सचिव सिंह भन्नुहुन्छ, “चालू आर्थिक वर्षमा भवन निर्माणको काम सकिएपछि नयाँ आर्थिक वर्षमा त्यसको नयाँ योजना तयार हुनेछ ।” उहाँले सरुवा रोग अनुसन्धान केन्द्रले प्रदेशको स्वस्थ्य क्षेत्रलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
टीकापुर अस्पताल परिसर भित्र निर्माण हुन लागेको सरुवा रोग अनुसन्धान केन्द्रले टीकापुर अस्पतालको स्तरोन्नतिमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ । सरुवा रोग अनुसन्धान केन्द्र टीकापुरमा स्थापना हुनु सुखद पक्ष भएको बताउँदै टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारीले छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । “सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा आउन आक्यो भने त्यसले टीकापुर अस्पताललाई पनि फाइदा पुग्नेछ ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोडारी भन्नुहुन्छ, “स्वास्थ्य क्षेत्रको विकासमा पनि सरुवा रोग अनुसन्धान केन्द्रले टेवा पुग्नेछ ।” प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा मजबुत बनाउने काममा सरुवा रोग अनुसन्धान केन्द्रले सहयोग पुग्ने विश्वास अध्यक्ष सोडारीले गर्नुभएको छ ।
उहाँले टीकापुर अस्पताल कैलालीको पुर्वी क्षेत्र लगायत कर्णाली र लुम्बिनी प्रदेशका सेवाग्राहीहरुका लागि पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । “प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालले यतिबेला ६ किसिमका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । सेवा विस्तारको क्रममा अस्पतालले स्थानीय तहसँग पनि समन्वय गर्दै आएको छ ।” अध्यक्ष सोडारीले भन्नुभयो, “अस्पतालमा भवनको अभाव र उपचारका लागि उपकरणको अभाव छ । त्यसको समाधानका लागि पनि भोलिका दिनमा सरुवा रोग अनुसन्धान केन्द्र बन्यो भने प्रदेशको ध्यान त्यसमा जाने म बेला अस्पतालमा समेत पुग्ने विश्वास छ ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *