शेयेर गर्नुहोस
भजनी २६ चैत /
भजनी नगरपालिका वडा नं. १ मा लामो समयदेखि देखिँदै विद्युत सेवा प्रवाहमा समस्या देखिन थालेपछि जनप्रतिनिधि नै ज्ञापनपत्र बोकेर वितरण केन्द्र पुगेका छन् ।
विद्युतको अनियमितताले जनजीवन प्रभावित बन्दै गएपछि वडा नं. १ का वडा अध्यक्ष सहितका नागरिकहरू ज्ञापनपत्र बुझाउन नेपाल विद्युत प्राधिकरण भजनी वितरण केन्द्रमा पुगेका हुन । नगरपालिकाको वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायतका स्थानीयले वितरण केन्द्र प्रमुख अरविन्द कुमार झालाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले विद्युत सेवा सुधारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।
स्थानीयका अनुसार विद्युत लाइन नजिक रहेका जोखिमयुक्त रुखका कारण दुर्घटनाको सम्भावना बढेको छ भनेज, यस्ता रुख व्यवस्थापनमा प्राधिकरणले आवश्यक सहयोग गर्नुपर्ने माग गरिएको छ। विद्युत लाइन विस्तारका क्रममा लापरवाही हुँदा अनियमित विद्युत प्रवाह भई सडक बत्ती तथा सिसिटिभी क्यामेरामा क्षति पुगेको गुनासो गरिएको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा क्षतिपूर्ति व्यवस्था गर्न पनि ज्ञापनपत्रसमेत माग गरिएको छ ।
सार्वजनिक तथा निजी जग्गामा रहेका विद्युत पोल र तार हटाउने वा काट्ने कार्य गर्दा सम्बन्धित पक्षलाई पूर्वसूचना नदिइने समस्या पनि उठाइएको छ भने विद्युत सेवा नपुगेका क्षेत्रहरूमा पोल, तार विस्तार गर्ने तथा सेवा विस्तार गरी स्थानीय कृषकलाई सहजता प्रदान गर्नुपर्ने माग गरिएको वडा अध्यक्ष श्रेष्ठ बताउँछन् ।
कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत विनियोजित बजेट भए पनि काम सम्पन्न नभएको भन्दै उक्त योजना यथाशीघ्र कार्यान्वयन गर्न जोड दिइएको छ ।










