शेयेर गर्नुहोस
टीकापुर ०४ जेठ /
नेपाल समाजवादी विद्यार्थी युनियनले प्रारम्भिक बालविकास तहको शिक्षाको गुणस्तरमा राज्य गम्भीर भएर लाग्नुपर्ने भन्दै ध्यानाकर्षण कार्यक्रम सुरु गरेको छ ।
नेपाल समाजवादी पार्टी सम्बद्ध बिद्यार्थी संगठनका केन्द्रियकोषाध्यक्ष विकल्प केसीले प्रारम्भिक बालविकास तहको शिक्षामा राज्य जिम्मेवार नभएको भन्दै शिक्षाको गुणस्तरमा राज्यलाई जिम्मेवार बनाउनका लागि शान्तिपूर्ण आन्दोलनको सुरुवात गरिएको बताएका छन् । शुक्रबार टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीलाई ज्ञापनपत्र बुझाउँदै राज्यको शिक्षा नीति नै विभेदकारी भएको बताउँदै केसीले सामुदायिक बिधालयमा पनि शिक्षाको जग बलियो बनाउन जरुरी भएको बताएका छन् ।
“घर बलियो बन्नलाई जग बलियो बनाउनुपर्छ । जग बलियो भएन भने घर बलियो बन्न सक्दैन ।” उनले भने, “शिक्षाको सुरुवाती चरण अर्थात प्रारम्भिक बालविकास तहलाई बलियो र गुणस्तरीय बनाउन सक्यो भने त्यो जनशक्ति सक्षम र लाभदायक बन्न सक्छ ।” प्रारम्भिक बालविकास तहमा अध्यापन गराउने सक्षम जनशक्तिको व्यवस्थापन राज्यले गर्न नसकेको केसीले आरोप लगाएका छन् । “अहिलेको स्थितिमा ८/१० हजार मासिक पारिश्रमिक दिएर जनशक्ति व्यवस्थापन गर्दा त्यो जनशक्तिले उत्पादन गर्ने नयाँ जनशक्ति कस्तो आउला ?” उनले प्रश्न गरे, “जुन उमेर समुहलाई केही कुराको थाहा हुँदैन त्यसलाई सक्षम बनाउनको लागि सक्षम जनशक्तिको व्यवस्थापन राज्यले गर्नुपर्छ भन्ने आन्दोलनको मर्म हो ।”
उनले बालबालिकालाई दिइँदै आएको दिवा खाजामा पनि असहमति जनाएका छन् । “एकजना बिद्यार्थीलाई सरकारले दिवा खाजा भनेर १५ रुपैयाँ दिन्छ । आजको जमानामा १५ रुपैयाँको केही आउँछ ?” नेपाल समाजवादी पार्टीका नेता डा जनकराज शाहले संस्थागत बिधालयमा चार तहको प्रारम्भिक बालविकास तह हुँदा सरकारले एउटै तहबाट झारो टार्ने काम गरेको बताएका छ । उनले शिक्षाको प्रारम्भिक चरणमै विभेदको नीति राज्यले अंगालेको आरोप लगाए । उनले अहिले नयाँ आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको बाडफाडको समय भएको हुँदा सबैभन्दा महत्त्वपूर्ण शिक्षा क्षेत्रको विकासका लागि विद्यार्थी संगठनले सुरु गरेको आन्दोलनमा पार्टीको एक्यवद्धता रहेको बताएका छन् ।