शेयेर गर्नुहोस
टीकापुर २३ असोज /
गएको साउन १ गतेबाट टीकापुर नगरपालिकाले प्लास्टिक कालो प्लास्टिक मुक्त नगरपालिका बनाउने अभियान असफल भएको छ ।
नगरपालिकाले आह्वान गरेको सुचनाका आधारमा टीकापुर बजार क्षेत्रमा केही हदसम्म प्लास्टिकका झोला प्रयोग बन्द भएको भए पनि पछिल्लो समय बजारमा छ्यापछ्याप्ती प्लास्टिकका झोलाको निर्वाध प्रयोग हुन थालेको छ । प्लास्टिकका झोलाको खुला रुपमा प्रयोग हुन थालेपछि नगरपालिकाले चलाएको अभियान पुर्ण रुपमा असफल भएको हो ।
नगरपालिकाको बजार अनुगमन फितलो हुनुको कारण प्लास्टिकका झोलाको प्रयोग बढेको स्थानीयको बुझाई छ । “केही दिन प्लास्टिकका झोला बन्द हुँदा हामीले प्लास्टिक बिर्सीसकेका थियौं ।” स्थानीय रामजिवन चौधरीले भने, “एक हप्ता भयो जताततै प्लास्टिकका झोला मात्रै प्रयोग भएको देखिन्छ । यसमा नगरपालिकाको अनुगमन फितलो भएको सहजै बुझ्न र देख्न सकिन्छ ।
अन्य झोला भन्दा सामान बोक्नको लागि प्लास्टिकको झोला बलियो हुने हुँदा व्यापारीले प्लास्टिकको झोला रुचाउने गरेका छन् । त्यतिमात्र नभई अन्य झोला भन्दा प्लास्टिकको झोला सस्तोमा पाइने हुँदा पनि व्यापारीले त्यसको प्रयोग बढाएको देखिन्छ । “हामीलाई झोला उपलब्ध गराउने व्यापारीले नै प्लास्टिकको झोला प्रयोग गर्न भनेपछि पुनः प्रयोगमा ल्याएका हौं ।” टीकापुरका एकजना डेरी सञ्चालकले भने, “सबैले प्लास्टिकको झोला प्रयोग गरेको देखेपछि मैले पनि सुरु गरेको हुँ ।” उनले नगरपालिकाले अहिलेसम्म अनुगमनका लागि आफ्नो पसलमा नआएको पनि बताए ।
उसो त नगरपालिकाले पनि फितलो अनुगमनका कारण प्लास्टिकका झोलाको प्रयोग बढेको स्वीकार गरेको छ । नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले जेन जि आन्दोलन र त्यसपछिको दशैको समयमा बजारको अनुगमन नभएका कारण प्लास्टिकका झोलाको प्रयोग बढेको बताएका छन् । “प्लास्टिकका झोलाको प्रयोग बढेको छ । अनुगमन फितलो भएर पनि हुनसक्छ ।” उनले भने, “अब हामीले नियमित अनुगमन गरेर त्यसलाई नियमन गर्छौं ।”
उनका अनुसार अनुगमनका क्रममा प्लास्टिकका झोला भेटिए जफत गरेर कारबाही गरिने बताएका छन् । शाखा प्रमुख बुढाले पहिलोपटक भेटिएको प्लास्टिक जफत गर्ने र दोस्रोपटक भेटिए जरिवाना सहितको कारबाही गरिने जानकारी दिएका छन् । “हामी नागरिक पनि गैरजिम्मेवार छौँ । हामीले गर्ने कैयौं काम र कर्तव्य अर्काको लागि गरेको जस्तो गर्छन् ।” उनले भने, “कम्तिमा प्लास्टिक निषेध हुँदा त्यसले हामीलाई नै फाइदा गर्ने हो भन्ने कुरा बुझ्दैनन । उल्टै दोष थुपार्ने काम गर्छन् ।”
हुन त नगरपालिकाले यसअघि अभियानकै रुपमा सुरु गरेका कैयौं कार्यक्रम अलपत्र छन् । नगरपालिकाले सुरु गरेको सार्वजनिक जग्गाको अतिक्रमण हटाउने काम, सार्वजनिक जग्गामा राखिएको निर्माण सामाग्री हटाउने काम, गुलाव अभियान लगायतका कैयौं कार्यक्रम अलपत्र पर्दा प्लास्टिकका झोला प्रतिबन्धको अभियान पनि अलपत्र पर्ने होकि भन्न शंका स्वभाविक छ ।










