प्लास्टिक निरुत्साहित गर्न झोला उद्योग सञ्चालनमा

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी २२ कार्तिक /
प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका वडा नं. १ मा दुईजना युवाहरूले मष्टा वायो प्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरण युक्त झोलाउत्पादन गर्न उक्त वायो प्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।
भजनी नगरपालिका वडा नं. ५ का भीमबहादुर विक र वडा नं. १ का करन कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालन लाएका छन् । सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धि कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विक बताउनुहुँन्छ । बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकुल असर पर्ने भएको हुँदा विकल्पको रुपमा उद्योग सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
एक करोड भन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्न सक्नेछ । मेसिनमा मात्रै झण्डै ८० लाख खर्च भएको भीमबहादुरको भनाई छ । “आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने मानसिकताले समयको आवश्यकता अनुसार उद्योग सञ्चालनमा ल्याएका हौं ।” उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारको साथ सहयोग भयो र प्लास्टिक निषेध गर्न सकियो भने स्थानीय स्तरमा रोजगारी सिर्जना देखि व्यवसायले लय लिने विश्वास गरेका छौँ ।”
दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको अर्का सञ्चालक करन कार्की बताउनुहुँन्छ । उहाँले उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहेको बताउनुभयो । “स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर वातावरणमैत्री झोलाको प्रयोगलाई प्रोत्साहन गर्न सक्नुपर्छ । जुन अहिलेको आवश्यकता हो भने सरकारले ल्याएको कार्ययोजनाको कार्यान्वयन गर्ने आधार पनि हो ।” कार्की भन्नुहुन्छ, “हामीले प्लास्टिकको विकल्पको आधार तयार गरेका छौँ । यसमा व्यापारी र सरकारको साथ चाहिएको छ ।”
भारतसँग खुला सिमानाका कारण प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने भएका कारण बजारीकरणमा निकै चुनौती उहाँहरुलाई छ । प्लास्टिकको झोला बजारमा प्रती केजी तीन सयमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी तीन सय ५० मा बिक्री गर्नुपरिरहेको कार्कीको भनाइ छ । स्थानीय बजारमा उत्पादन भएको झोला खपत नहुँदा धनगढीमा भने राम्रो माग भैरहेको उहाँले बताउनुभएको छ । “धनगढीमा प्लास्टिक निषेध गरिएको छ । त्यहाँ हाम्रो उद्योगको झोलाको माग बढिरहेको छ ।” उहाँले भन्नुभयो, “स्थानीय बजारमा व्यापारीहरु महंगोमा झोला खरिद गर्न चाहिरहनु भएको छैन ।”
असोज १ गतेबाट सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । तत्काल नागरिकहरुमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफै माग बढेर जाने विश्वास उहाँहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *