शेयेर गर्नुहोस
टीकापुर २१ असार/
टीकापुर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि बजा क्षेत्रमा डष्टविन राख्ने भएको छ ।
सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री नव प्रवर्द्धन कार्यक्रम अन्तर्गत पेश भएको नगरपालिकाको प्रस्तावना स्वीकृत भएर काम अगाडि बढेपछि नगरपालिकाले बजार क्षेत्रमा दुई सय ३० थान डष्टविन राख्ने भएको हो । जहाँ तीन किसिमको डष्टविन खरिद गरिएको छ । चक्का भएको ठुलोमा ३३ थान, चक्का भएको सानोमा ४४ थार र स्टेन सहितको एक सय ५४ थान डष्टविन नगरपालिकाले खरिद गरेको छ ।हिल्टेक कम्पनी मार्फत २६ लाख २८ हजार रुपैयाँका डष्टविन खरिद भएको नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताएका छन् ।
उनले प्रदेशले नगरपालिकालाई कुनै उत्कृष्ट कार्यक्रमका लागि प्रस्तावनाको आव्हान गरेपछि नगरपालिकाले नव प्रवर्द्धन कार्यक्रमको प्रस्तावना पेश गरिएको बताएका छन् । “यो धेरै ठूलो कार्यक्रम छ । बजारको फोहोर व्यवस्थापनमा मात्रै नभई सामुदायिक चौपाया व्यवस्थापन र बायो ग्यास प्लान्टसम्म यो कार्यक्रम जोडिएको छ ।” इन्जिनियर जोशीले भने, “बजारको फोहोर व्यवस्थापन गर्दा दुई चरणमा विभाजन गरेर व्यवस्थापन गर्न मात्रै सक्यो भने पनि त्यसले बायो ग्यास प्लान्टमा ग्यास उत्पादनमा समेत काम लाग्ने छ ।”
बजारमा डष्टविन राखेपछि बजार क्षेत्रबाट संकलन भएको कुहिने फोहोरलाई बायो ग्यास प्लान्टमा प्रयोग गरेर ग्यास उत्पादन गर्ने योजना नगरपालिकाले बनाएको छ । “अब हामीसँग गौशाला छ । त्यहाँ चौपाया पनि छन् । त्यहाँको वस्तुस्थिति हेर्दा ती चौपाया बायो ग्यास प्लान्टका लागि दीर्घकालीन नहुन सक्छन् ।” इन्जिनियर जोशी भन्छन्, “त्यसको विकल्पमा बजारबाट संकलन भएको फोहोरलाई राखेका छौँ । यसो गर्दा बायो ग्यास प्लान्ट सधैं सञ्चालनमा रहने छ ।”
बजारको बढी फोहोर हुने क्षेत्रमा राखिने डष्टविन दुई प्रकारको हुनेछ । एउटामा कुहिने फोहोर राख्नुपर्ने छ भने अर्कोमा नकुहिने फोहोर । त्यसो गर्दा फोहोर व्यवस्थापनमा सहजता हुने बताइएको छ । जम्मा भएको फोहोरलाई संकलनका लागि सोही कार्यक्रमबाट सवारीसाधन पनि थपिने छ । विशेषगरी बजार क्षेत्रमा डष्टविन राखेपछि नागरिकहरुलाई जिम्मेवार बनाउन आवश्यक रहेको नगरपालिकाको बुझाइ छ । “अहिले पनि केही ठाउँमा नगरपालिकाको डष्टविनहरु छन् । फोहोर डष्टविनमा नभई त्यसको वरिपरि हुन्छ । फोहोर डष्टविनमा राख्ने जिम्मा त कम्तिमा सचेत नागरिकको कर्तव्य पनि हो ।” वातावरण तथा सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले भने, “त्यसमा नागरिक सचेत हुनुपर्छ । त्यति भयो भने फोहोर व्यवस्थापनमा समस्या हुनेछैन ।”
उनले नगरपालिकाले राख्ने भनिएको प्लास्टिकको डष्टविनको संरक्षणको जिम्मा त्यस क्षेत्रको व्यापारीलाई दिइने बताएका छन् । उनले व्यापारी जिम्मेवार नभएसम्म फोहोर व्यवस्थापनलाई उचाईमा पुर्याउन नसकिने बताउँदै नागरिकहरू नै बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । “नगरपालिका बजार क्षेत्रको फोहोर व्यवस्थापनका विषयमा निकै गम्भीर छ । त्यसमा हामीले काम गरिरहेका पनि छौं । र अर्को कुरा विगतको भन्दा अहिले बजार क्षेत्रको फोहोर उठ्नमा ढिलाई पनि भएको छैन ।” बुढाले भने, “हामी जिम्मेवार छौँ । नागरिक जिम्मेवार हुनुपर्यो । अनि हाम्रो नगर आफै सुन्दर र फोहोर मुक्त हुन्छ ।”