शेयेर गर्नुहोस
भजनी १८ मंसिर /
भजनी नगरपालिका बक्यौता रकम असुल गर्नका लागि कठोर भएर प्रस्तुत भएको छ ।
नगरपालिकाले विभिन्न मितिमा सम्झौता गरेर सञ्चालनमा आएका नगरपालिका भित्रका ताल तलैयाहरुको बक्यौता रकम बर्सेनि बढ्दै गएपछि असुल गर्न नगरपालिका कठोर भएर प्रस्तुत भएको हो । पटकपटक ताल तलैयाको ठेक्का लिएका ठेकेदारलाई सम्झौता अनुसारको बक्यौता रकम बुझाउन पत्राचार गर्दै आएको नगरपालिकाले बक्यौता नबुझाउने ठेकेदारको घरजग्गा रोक्का गर्नेसम्मको तयारी गरेको छ ।
नगरपालिकाको सोमबार बसेको बैठकको निर्णय अनुसार तालको बक्यौता तिर्न बाँकी रहेका ठेकेदारको घरजग्गा सम्पत्ति रोक्का गरेर बक्यौता असुल गर्ने निर्णय गरेको छ । सोमबार भएको निर्णयका आधारमा नगरपालिकाले ठेकेदारको तीन तिनपुस्ते नामावली र तिर्नुपर्ने रकम सहितको सुचना जारी गरेको छ । सुचनामा घरजग्गा सम्पत्ति रोक्का गरेर असुल उपर गर्नु नपर्ने आधार भए उक्त आधार एक हप्ताभित्र नगरपालिकामा पेश गर्न पनि भनिएको छ ।
नभए ठेकेदारको घरजग्गा तथा सम्पत्ति कानुनअनुसार रोक्का गरिने र त्यसपछि आउने सम्पुर्ण विषयहरुमा स्वयम ठेकेदार जिम्मेवार हुने भनिको छ । साथै महालेखा परिक्षकको कार्यालयले उल्लेख गरेको जरिवाना तथा कानुन बमोजिम तिर्नुपर्ने सबै रकम तिर्नुपर्ने भनिएको छ । नगरपालिकाले जारी गरेको सुचना अनुसार २७ वटा ठेक्काको ठेकेदारको तिनपुस्ते सहित तिर्नुपर्ने रकम सार्वजनिक गरेको छ । नगरपालिकाको तालको मात्रै चार करोड भन्दा बढी रकम बक्यौता उठ्न बाँकी छ ।










