बजार क्षेत्र आसपासमै बाघको आतंक

शेयेर गर्नुहोस


टीकापुर २१ साउन /
टीकापुर बजार नजिकैको बस्तीमा नै बाघको आतंक देखिएपछि स्थानीय त्रसित बनेका छन् ।
आइतबार राती टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १७ स्थित खोरमा रहेका छ वटा बाख्रा बाघको आक्रमणबाट मरेपछि स्थानीय त्रसित बनेका हुन । इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार बाघले स्थानीय बिजुसिँह विष्ट र दुर्गा परियारका तीनतीन वटा बाख्रा मारेको छ। प्रहरी निरीक्षक लोकराज अवस्थीले मृत बाख्राको अवस्था हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बताएका छन् । “मरेका सबै बाख्राको घाँटीमा घाउ देखिन्छ जहाँबाट बाघले रगत पिएको हुनसक्छ ।” उनले भने, “शरीरको अन्य भागमा खासै चोटपटक देखिँदैन । सामान्य रुपम हेर्दा बाख्रालाई बाघले आक्रमण गरेको हुनसक्छ ।”
टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिका वडा नं. ३ स्थित रानी कुलाको मुहान क्षेत्रमा बेलाबेलामा बाघ देखिने गरेको छ। स्थानीयका अनुसार सो बाघ डमरु सहित बेलाबेलामा कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा देखिन्छ । कर्णाली नदीको पश्चिमी किनारमा रहेको वन क्षेत्रमा जङ्गली जनावरको संख्या बढेपछि त्यसको त्रासमा स्थानीय रहेका छन् । यहाँ बाघ, हात्ती, बँदेल लगायतका जङ्गली जनावर देखिन थालेका छन्। तिनै जङ्गली जनावरले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याउने गरेका छन्। घाँस दाउरा गर्न वन क्षेत्रमा प्रवेश गरेका केही व्यक्तिले जङ्गली जनावरको आक्रमणमा परेर ज्यान समेत गुमाइसकेका छन्। अहिले बाघले बजार नजिकैको बस्तीमा आक्रमण गरेपछि मानवीय क्षति हुनसक्ने भन्दै स्थानीय डराएका छन् । केही दिन अगाडि मात्रै नगरपालिकाको वडा नं. ८ मा पनि बाघले बाख्रालाई आक्रमण गरेको थियो । विशेषगरी नगरपालिकाको वडा नं. २ र ५ मा सामुदायिक वन क्षेत्र बढी भएका कारण जंगली जनावरको जोखिम पनि बढी देखिएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *