शेयेर गर्नुहोस
टीकापुर ०९ जेठ /
टीकापुर नगरपालिका वड नं. ७ का राजु बुढाक्षेत्रीले लागुऔषध दुर्यसनीका घटना बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा बढी रहेको बताएका छन् ।
टीकापुर नगरपालिकाको आयोजना तथा सिर्जनशील युवा समाज नेपालको समन्वयमा सुरु भएको लागूऔषध दुर्व्यसनी, साइबर अपराध, ट्राफिक नियम तथा बाल यौन अश्लीलता न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक सहितको हस्ताक्षर कार्यक्रममा क्रममा बुढाक्षेत्रीले शैक्षिक पहुँच भन्दा बहिर भएका समुदाय लागुऔषध दुर्व्यसनीको बढी जोखिममा रहेको बताएका हुन । “शहर बजारमा शिक्षित मानिसहरू बसोबास गर्छन् । त्यसैमा शान्तिसुरक्षाको दृष्टिकोणले पनि गाउँ भन्दा शहर बढी संबेदनसिल हुन्छ ।” उनले भने, “सबै कुराको पहुँचमा शहर हुने हुँदा जोखिमयुक्त घटनाहरु शहर भन्दा ग्रामीण क्षेत्रमा घट्ने गरेका छन् ।” उनका अनुसार ग्रामीण क्षेत्रमा जनचेतनामूलक कार्यक्रमले नागरिकहरूलाई सचेत गराउने काम गरेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।
टीकापुर नगरपालिका वडा नं. ४ इन्द्रैयाका बडघर धनुवा थारुले जनचेतनामूलक कार्यक्रमले बुझ्न सजिलो हुने बताएका छन् । उनले पहुँच भन्दा बाहिर रहेको समुदाय यस्ता समुदाय केन्द्रित कार्यक्रमबाट प्रभावित हुने बताएका छन् । “स्थानीय सरकारले सामाजिक क्षेत्रमा कस्ता काम गर्दै आएको छ भन्ने हामीलाई थाहै हुँदैन । आज पनि जनचेतनाको अभाव नागरिकहरूमा छ ।” उनले भने, “यस्ता जनचेतनामूलक कार्यक्रम भयो भने नागरिकहरूमा सचेतना जागृत हुन्छ । स्थानीय सरकारले पनि आफ्नो क्षेत्रबाट प्रयास गरिरहेको छ भन्ने अनुभुती जनतालाई हुन्छ ।”
वडा नं. ५ पहाडीपुरका चन्द्रा सार्कीले अभिभावक आफ्ना बालबालिका प्रति जिम्मेवार नभएसम्म लागुऔषधका घटनामा कमि आउन नसक्ने बताएकी छन् । जिम्मेवारीबाट पन्छिएका अभिभावकका कारण समाज अशान्त बन्दै गएको उनको धारणा छ । “बालबालिकाको लागि अभिभावक जिम्मेवार हुनुपर्छ । अभिभावकलाई जिम्मेवार बनाउन जनचेतनामूलक सडक नाटक महत्त्वपूर्ण एक माध्यम हो ।” उनी भन्छिन्, “नागरिकहरूलाई चेतना फैलाउने यस्ता कार्यक्रमलाई नियमित सञ्चालन गर्दै लैजानुपर्छ ।”
सडक नाटकमा सहभागी भएका अधिकांश स्थानीयले जनचेतनामूलक कार्यक्रम समाजमा हुने विकृति, विसंगतिलाई न्यूनीकरण गर्नका लागि फलदायी बन्न सक्ने बताएका छन् । समन्वय गर्ने संस्थाका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माले लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि संस्थाले अन्य निकायसँग अभियानको रुपमा कार्यक्रम गर्दै आएको बताएका छन् । “समाजम सबैभन्दा बढी चुनौतीको विषय लागुऔषध बन्दै गएको छ । त्यसलाई न्यूनीकरण गर्नको लागि विगत लामो समयदेखि अभियानको रुपमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।” उनले भने, “समुदाय स्तरमै गएर प्रत्यक्ष नागरिकहरूसँग समन्वय गरेर हुने कार्यक्रमले केही हदसम्म दुर्व्यसनी न्यूनीकरणमा सहयोग मिलेको महसुस हामीले गर्दै आएका छौँ । अझै निरन्तरता दिँदै जानेछौं ।”
नगरपालिकाको आयोजनामा भएको उक्त सडक नाटक आठ स्थानमा प्रस्तुत गरिएको छ । नगरपालिका क्षेत्र भित्रका जोखिममा रहेका समुदायमा कार्यक्रम सञ्चालन गरिँदै शनिबार समापन गरिएको छ ।