बर्सेनि बढ्दै चैते धानको आकर्षण

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी १० वैशाख /
कैलालीको भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानको खेती गर्दै आउनुभएको छ । पाँच कठ्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उहाँले खेती विस्तार गर्दै लगेको बताउनुभयो । “मिहेनत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे धान भन्दा चैते धानले बढी उत्पादन दिन्छ ।” उहाँ भन्नुहुन्छ, “बजारको पनि समस्या छैन । उत्पादन राम्रो हुने भएपछि किसानको आकर्षण बढेनै भयो ।”
वर्षातको समयमा डुवानका कारण कुनै खेती नहुने भएका कारण पनि कृष्ण जस्ता सयौं किसानका लागि चैते धान विशेष बनेको छ । कैलाली जिल्लाकै सबैभन्दा बढी डुवानको चपेटामा पर्ने भजनीका फाँट यतिबेला धानले हरियाली छन् । हिउँदे बाली भित्र्याएर अधिकांश किसानले धान रोपेका छन् । कतिपय किसान अझै पनि धान रोप्न व्यस्त छन् । “हाम्रो यता बर्खाको समयमा डुवान बढी हुने भएका कारण खेती हुँदैन ।” सोही ठाउँका बलदेव चौधरी भन्नुहुन्छ, “चैते धान नै प्रमुख बनेको छ । त्यहीँ उत्पादन भएको धानले खान पुगेको छ भने अन्य आर्थिक कारोबार पनि त्यसैबाट टर्ने गरेको छ ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनी क्षेत्रमा चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं. ३ र ८ मा धान जोन नै सञ्चालन गरेको छ । किसानहरूमा चैते धान प्रती देखिएको आकर्षणले चैते धान विस्तार कार्यक्रम राम्रो बन्दै गएको परियोजना प्रमुख गोविन्द राज जोशी बताउनुहुन्छ । “परियोजनाले जोन नै सञ्चालन गरेपछि किसानहरूले ठूलो सहुलियत पाउनुभएको छ । बर्सेनि धान खेती विस्तार पनि हुँदै गएको छ ।” उहाँले भन्नुभयो, “गतवर्ष करिब पाँच सय हेक्टरमा चैते धानमा परियोजनाको सहयोग रहेको थियो भने यसवर्ष झण्डै पाँच सय हेक्टरमा विस्तार भएको छ ।”
परियोजनाले भजनी सहित कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना प्रमुख जोशीका अनुसार यसवर्ष परियोजनाले एक हजार हेक्टर क्षेत्रमा चैते धान विस्तार मार्फत सहयोग गरेको छ । उहाँले किसानलाई बीउसँगै अन्य कृषि उपकरणहरुमा पनि परियोजनाको सहयोग गर्दै आएको बताउनुभएको छ ।
उता, कृषि ज्ञान् केन्द्र कैलालीको तथ्यांकअनुसार यसवर्ष एक हजार पाँच सय हेक्टरमा चैते धानको खेती भैरहेको छ । गतवर्षको भन्दा यसवर्ष तीन सय हेक्टरले धान खेती बढेको ज्ञान् केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिनुभएको छ । “एकिन तथ्यांक त संकलन भैसकेको छैन । त्यहीँ एक हजार पाँच सय भन्दा बढी हेक्टरमा धान खेती भएको छ । जसमध्ये ज्ञान् केन्द्रले अढाइ सय हेक्टरमा सहयोग गरेको छ ।” उहाँले भन्नुभयो, “जसमध्ये ८० प्रतिशत धान खेती भजनी नगरपालिका भित्रमा भैरहेको छ ।”
भजनी नगरपालिकामा २०६३ सालमा आएको बाढीका कारण डेढ करोड भन्दा बढीको धान बालीमा क्षति भएपछि त्यसको विकल्पमा किसानले चैते धान सुरु गर्न थालेको विष्ट बताउनुहुन्छ । बर्खे धानभन्दा राम्रो उत्पादन दिने भएका कारण किसानको आकर्षण बढ्दै गए पनि लागत भने महंगो हुने गरेको उहाँको भनाइ छ । “अहिलेको सिजनमा सिँचाइको सहज पहुँच हुँदैन । जमिन मुनिबाट पानी तानेर सिँचाइ गर्न महंगो पर्छ ।” उहाँले भन्नुभयो, “सिँचाइमा सहजताको लागि हामीले बिजुलीमा सहुलियतका लागि किसानलाई सहयोग पुग्ने गरी कार्यक्रम बनाइरहेका छौँ ।” किसानलाई धान बाली भित्र्याउन र धान सुकाउनका लागि आवश्यक मेसिनरी अनुदानको योजनामा ज्ञान् केन्द्र रहेको विष्टले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान् केन्द्र कैलालीले चैते धानमा सहयोग गरेपछि भजनी नगरपालिकाले यसवर्ष सो क्षेत्रमा सहयोग गरेको छैन । कार्यक्रमको डुब्लिकेशन हुने भन्दै सो कार्यक्रम चालू आर्थिक वर्षमा समावेश नगरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताउनुभयो । “हामीले कार्यक्रम नराखे पनि प्राविधिक सहयोग भने रहेको छ ।” उहाँ भन्नुहुन्छ, “चैते धानमा बर्सेनि किसानहरूको संख्या बढ्दै गएको छ । यसवर्ष नगरपालिका क्षेत्र भित्र एक हजार हेक्टर भन्दा बढीमा चैते धान विस्तार भएको छ ।” उहाँले आवश्यकताका आधारमा किसानलाई सहजीकरण गर्दै आएको बताउनुभएको छ ।
सरकारले पनि पहिलोपटक चैते धानको समर्थन मूल्य तोकेको छ । सरकारले चैते धानको समर्थन मूल्य तोक्नु पर्ने माग गर्दै आएका किसान यतिबेला धानको समर्थन मुल्य तोकिएपछि झन खुशी भएका छन् । “बजारमा धानको मूल्य हामीले तोक्न पाइरहेका थिएनौं । व्यापारीले जति दिन्छ, त्यतिमै चित्त बुझाउनुपर्ने स्थिति थियो ।” किसान कल्लु डगौराले भन्नुभयो, “अब हामीले धानको मूल्य पाएका छौँ । त्यसकारण पनि किसानहरूले यसवर्ष बढी धान लगाएका छन् ।” सरकारले चैते धानको प्रती क्विन्टल दुई हजार ८ सय ६९ पैसा समर्थन मूल्य तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *