बसपार्कदेखि पार्कसम्म चार लेनको सडक बन्ने

शेयेर गर्नुहोस


टीकापुर २९ साउन /
टीकापुर बसपार्कदेखि टीकापुर पार्कसम्मको सडक निर्माण हुने भएको छ ।
संघीय सरकारको दुई करोड ५० लाख रुपैयाँको लागतमा नगरपालिकाले बसपार्कदेखि पार्कसम्मको करिब चार किलोमीटर सडक निर्माण गर्ने भएको छ । चार लेनमा निर्माण हुने सडकको चौडाइ ६० फिट हुनेछ । सडकको किनारमा नाली निर्माण हुनेछ । अहिले बसपार्कदेखि पार्कसम्मको सडकको चौडाइ कतै ५० फिट छ भने कुनै ठाउँमा नक्सामा सडक नै छैन । नक्सामा सड्क नभए पनि अहिले पनि चलनचल्तीमा सडक छ । नक्सामा सडक नभए पनि स्थानीयले सडकका लागि आवश्यक जग्गा उपलब्ध गराउने भन्दै नगरपालिकालाई लिखित पत्र पठाएपछि सडक निर्माणको काममा सहज भएको नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारु बताउँछन् ।
नगरपालिकाले स्थानीयसँग जग्गाको विषयमा छलफल समेत चलाएको थियो । छलफलमा पनी सडकका लागि आवश्यक जग्गा दिने सहमति जुटेको छ । “एक चरणमा सडकको नापजाँचको काम सम्पन्न भैसकेको थियो । त्यतिबेला ५० फिटको सडक निर्माण हुनेगरी नापजाँच भयो । अहिले हामीले ६० फिट चौडाईको सडक निर्माण गर्ने भनेपछि पुनः नापजाँच हुन्छ ।” नगर प्रमुख थारुले भने, “स्थानीयले आवश्यक जग्गा सडकका लागि दिने भनेपछि सडक निर्माणका क्रममा आउनसक्ने अवरोध हटेको छ ।” सडक सञ्जालको सहज पहुँच भए पर्यटकहरुका लागि सहज हुने र अहिलेको तुलनामा पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा नगरपालिकाले लिएको छ । हालको विनियोजित बजेटले सनै सडकको काम सम्पन्न नहुने भन्दै नगर प्रमुख थारुले त्यस योजनालाई क्रमागतका लागि पहल भैरहेको बताएका छन् ।
“दुई करोड ५० लाखले सबै सडकको काम सम्पन्न हुँदैन । जति सकिन्छ त्यो बजेटले काम गर्ने बाँकीलाई क्रमागतमा राख्न संघीय सरकारसँग समन्वय भैरहेको छ ।” नगर प्रमुख थारु भन्छन्, “पार्कलाई नमुना पार्कको रुपमा विकास गर्ने योजनाअनुरुप नगरपालिका अगाडि बढेको छ ।” नगरपालिकाले पार्कबाट वार्षिक करिब ५० लाख राजस्व संकलन गर्दै आएको छ । पार्कको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ भने नगरपालिकाको विशेष योजनामा टीकापुर पार्क पर्दै आएको छ ।
करोडौं रुपैयाँ खर्च हुँदा पनि टीकापुर पार्कको मुहार फेरिएको छैन । पार्कमा आउने पर्यटकहरु सन्तुष्ट भएर पार्कको अवलोकन गरेर फर्केको देखिँदैन । वनभोज स्थलको अवस्था नाजुक छ भन्दा अन्यथा नहोला ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *