बाढी प्रभावित भन्छन् : अब हाम्रा दु:खका दिन सुरु भए

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी २० असार /
कैलालीको भजनी नगरपालिका वडा नं. ३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तामा हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौं दिनसम्म घरबार विहिन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुन सकेको छैन । “असोज महिना लागेपछि त्यो बर्खाको पीडा कम हुँदै जाँदा असार सुरु भएपछि पुरानै भएर बल्झिएर आउँछ । त्यो पिडामा मल्हम लगाउने कोहि छैन ।” उहाँ भन्नुहुन्छ, “बाढीबाट विस्थापित भएर सडकमा आउँदा चाउचाउ र चिउरा ल्याएर आउनेहरु त्यो बीचको समयमा कोहि पुग्दैनन । नदी नियन्त्रण गर्ने वाचा गरेर नीति निर्माण गर्ने तहमा पुगेकाहरु पनि फिरेका छैनन् ।”
भजनीकै शर्मिला चौधरीलाई पनि बर्खा सुरु भएपछि निकै चिन्ता हुन्छ । उहाँलाई आफ्नोभन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ । “प्रायः रातीको समयमा बाढी आउने गर्छ । त्यो अध्यारो रातमा बालबालिकालाई कसरी व्यवस्थापन गर्ने, पशुचौपायको व्यवस्थापन कसले गर्ने अनि घरका महत्त्वपूर्ण सरसामान कसले व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ ।” शर्मिला भन्नुहुन्छ, “जन्मिदा त्यहीँ बाढीको जोखिममा जन्मेकी म अन्तिम साससम्म पनि बाढीको चिन्ताले छोड्ला जस्तो लाग्दैन ।”
बाढी र डुवानका कारण विस्थापित भएका नागरिकहरूलाई राहतमा जुट्नुभन्दा सधैका लागि बाढीको छुटकारा भजनीले चाहेको क्षितिज चौधरी बताउनुहुँन्छ । वर्खायाममा डुवानको जोखिम भएका क्षेत्र र बाढीको पानी निकास हुनेगरी स्थानीय सरकार र संघ प्रदेश सरकारले समन्वय गरेर जोखिम कम गर्न सकिने उहाँले बताउनुभयो । “राहत त यसभन्दा पहिले पनि पाएका थियौं, अझ पनि पाइएला । बाढीको दीर्घकालीन समाधान भएको हामीले कहिले देख्न पाउने ?” क्षितिज भन्नुहुन्छ, “राहत बापत आएको चाउचाउ, चिउरा र एक बोतल पानीले एकपटकको भोक र प्यास मेटिएला तर हाम्रो दुख मेटिने गरी काम होस् भन्ने हाम्रो चाहना हो ।”
भजनी नगरपालिका वडा नं. १ ठेङ्गरपुरका भलमन्सा राजु चौधरीको बुधबार आएको कान्द्रा नदीको बाढीले घरमा भएको सबै खाद्यान्न डुवानमा पर्यो । एकाएक कान्द्रा नदीमा आएको बाढी वस्तीमा पसेपछि स्थानीयले घरमा भएको खाद्यान्न सहितको सामान सुरक्षीत गर्न नसक्दा डुवानमा परेको राजु बताउनुहुँन्छ । “खासै वर्षा भएको थिएन । एकाएक बाढी वस्तीमा पसेपछि धनमाल जोगाउन सकिएन ।” उहाँले भन्नुभयो, “आफ्नो आवासको व्यवस्थापन कता गर्ने भन्ने चिन्ता एकातिर छ भने डुवानमा परेको खाद्यान्नलाई कसरी व्यवस्थापन गर्ने अर्को चिन्ता अर्कोतिर थपिएको छ ।”
सोही ठाउँका कल्लु चौधरी कान्द्रा बर्सेनि दुख बनेर आउने गरेको बताउनुहुँन्छ । उहाँले दशकौंदेखि कान्द्राको दुख भोग्दै आएको बताउनुभयो । “बर्खा बर्सेनि हाम्रो लागि दु:खको समय हो । कुनै वर्ष छैन होला घर छोडेर त्रीपालमा गएर बस्नु नपरेको ।” उहाँ भन्नुहुन्छ, “हाम्रो पीडा कस्तो छ भन्ने पनि तिनै तहको सरकारलाई राम्रोसँग थाहा छ । समाधान गर्नसक्ने ल्याकत न स्थानीय सरकारको छ न संघ र प्रदेश सरकारको ।” उहाँ निर्वाचनको समयमा झुटा आश्वासन देखाएर चुनाव जितेर जाने प्रतिनिधिहरुलाई सम्झेर आक्रोश पोख्नुहुँन्छ ।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी स्थानीय सरकारको स्रोतले जनतालाई ओभानोम राख्न सक्ने स्थिति नरहेको बताउनुहुँन्छ । उहाँले प्रदेश र संघ सरकारले जति आग्रह गर्दा पनि भजनीको दुखमा मल्हम लगाउन नसकेको गुनासो गर्नुभयो । “म आफै पनि बाढीबाट प्रभावित भएको छु । सिंगो भजनी प्रभावित हुन थालेको छ ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “हामीले गर्नसक्ने पुर्व तयारीमा लागेकै छौँ । आशा छ प्रदेश र संघ सरकारको पनि समन्वय र सहकार्य गरोस् । आगामी दिनमा नदी नियन्त्रणमा स्थानीय सरकारको आवाज सुन्न सकोस् ।”
भजनी नगरपालिकामा काढा, कान्द्रा र पथरैया नदीको बाढीले बर्सेनि हजारौं नागरिकहरू विस्थापित हुँदै आएका छन् । बाढीबाट प्रभावित नागरिकहरूका लागि हुलाकी राजमार्ग आश्रय स्थल बनेको छ । बाढीको जोखिममा परेका नागरिकहरू महिनौं दिनसम्म हुलाकीमा आश्रय लिने गरेका छन् । जुन समय भजनीका लागी सुरु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *