बाढी र डुवानका कारण सयौं परिवार विस्थापित

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी ०२ असोज /
कैलालीको भजनी नगरपालिका वडा नं. ८ का प्रताप विश्वकर्मा बाढीजा कारण विस्थापित भएर हुलाकी सडकमा पुग्नुभएको छ । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रीपाल हालेर आश्रय लिन थालेका छन् ।
अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुवानमा परेपछि पशु चौपाया सहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन । “रातिदेखि बस्तीमा बाढी पसेर जताततै जलमग्न भएको छ । घरहरू सबै डुवानमा परेका छन् ।” प्रतापले भन्नुभयो, “रातभर निदाउन पनि पाएका छैनौं । सामान सार्न, चौपाया व्यवस्थापन गर्न र परिवारलाई सुरक्षित स्थानमा पुर्याउँदै रात कटेको थाहै भएन ।” वडा नं. ८ कै खेमराज पाण्डेले सयौं परिवारहरु बाढीका कारण विस्थापित भएको बताउँदै पिडितको व्यवस्थापनमा निकै समस्या भएको बताउनुभएको छ । “उच्च सेल्टर घर, केहि परिवार आफन्त छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने सयौं परिवार हुलाकी रोडमा छन् ।” पाण्डेले भन्नुभयो, “अवस्था निकै अस्तव्यस्त भएको छ । जताततै पानी मात्रै देखिन्छ । हुलाकी सडकबाट हेर्दा जताततै समुद्रको आभास हुने गरेको छ ।”
चारैतिरबाट नदीले घेरिएको भजनीका सबै वडा जलमग्न भएका छन् । सयौं बिघा धान नदीको कटानबाट नष्ट भएको स्थानीय रामबहादुर साउँद बताउनुहुँन्छ । “कान्द्राले सबैभन्दा बढी क्षति गरेको छ । कटानले खेतीयोग्य जमिन नष्ट गरेको छ भने डुवानले स्थानीयको जनजीवन निकै प्रभावित बनाएको छ ।” साउँदले भन्नुभयो, “स्थानीयलाई ज्यान जोगाउन मुस्किल छ । उद्दारका लागि पनि निकै कठिनाइ भैरहेको छ ।” उहाँले अहिलेसम्म मानवीय क्षति नभएपनी धनजनको ठूलो क्षति भएको बताउनुभएको छ ।
नगरपालिकाका नगर प्रमुख केवल बाढीका कारण भजनी क्षेत्रको अवस्था निकै अस्तव्यस्त भएको बताउनुभयो । उहाँले नदीमा पानीको बहाव निकै उच्च भएका कारण उद्दारमा समस्या भएको बताउँदै कैयौं क्षेत्रमा बाढी र कटानका कारण सम्पर्क बिच्छेद समेत भएको बताउनुभएको छ । “हामी हिजोदेखी स्थानीयको सम्पर्कमा छौं । सयौं परिवार विस्थापित भैसकेको अवस्था छ । अधिकांशको आश्रय स्थल यतिबेला हुलाकी सडक बनेको छ ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “उद्दार सामाग्रीको अभावका कारण समस्या भएको छ । नदीमा पानीको बहाव बढ्दै छ । कहाँ जाने कस्को उद्दार गर्ने भन्ने अप्ठ्यारोमा हामी छौं ।”
बाढीका कारण हुलाकी सडक समेत अवरुद्ध भएको छ । भजनी नगरपालिका वडा नं. ८ सोनाहाफाटामा पथरैया नदीको बाढी सडकमाथी ओभर भएर कटान हुँदा आवागमन अवरुद्ध भएको स्थानीय जयप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ । उहाँका अनुसार तिन सय मिटर सडक कटानमा परेको छ । “सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । भजनीसँगको सम्बन्ध बिच्छेद भएको छ ।” ढुंगानाले भन्नुभयो, “डुंगाको सहायताको लागि नगरपालिकालाई आग्रह गरेका छौं । स्थानीय निकै त्रसित छन् ।”
बाढी र डुवानका कारण कैलालीका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ । टीकापुर नगरपालिकाको वडा नं. ७, ८ र ९ का स्थानीयको जनजीवन प्रभावित भएको स्थानीय जितबहादुर चौधरीले बताउनुभएको छ । उनका अनुसार कर्णाली नदीले वडा नं. ८ को बनगाँउ क्षेत्र बढी प्रभावित भएको छ । टीकापुर बजार क्षेत्रमा समेत डुवान भएको छ । टीकापुर उद्योग वाणिज्य संघको समन्वयमा नाली निकासको काम भएको बताउँदै संघका नवनिर्वाचित उपाध्यक्ष कृष्ण प्रसाद उपाध्याय बजगाईले समयमै निकासको काम गर्दा कम क्षति भएको बताउनुभएको छ ।
त्यसैगरी जोशिपुर गाउँपालिकामा पनि अधिकांश वडामा बाढी र डुवानले सयौं परिवार विस्थापित भएको बताइएको छ । बाढीबाट प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउँदै गाउँपालिकाका अध्यक्ष चित्र चौधरीले विस्थापितलाई आवश्यक राहतको व्यवस्थापनकालागि लागिपरेको बताउनुभयो । उहाँले बाढीबाट मानवीय क्षति गाउँपालिकामा नभए पनि धनजनको ठूलो क्षति भएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *