बाढी विस्थापितलाई बस्न र खानको समस्या

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी ०३ असोज /
कैलालीको भजनी नगरपालिका वडा नं. ८ कि रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्ण धोज चन्द मावीको बिधालयमा बस्दै आएका छन् । वडाका एक सय परिवारको आश्रय स्थल त्यहीँ बिधालय बनेको छ । घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ ।
“ज्यान जोगाएर सुरक्षित स्थानमा बसेका छौं । ज्यान सुरक्षित छ । पानी र खानाको निकै समस्या भयो ।” रुपाले भन्नुभयो, “खाना नभए पनि पानी बिना निकै कष्ट भोग्नु परेको छ । हाते पम्प डुवानमा छन् । जताततै डुवान मात्रै देखिन्छ । पानीको जोहो कतैबाट भए राहत हुनेथियो ।” सो क्षेत्रमा डुवान विस्तारै कम हुँदै गएपनि स्थानीयलाई घर फर्कन अझै एक हप्ता लाग्ने उहाँले बताउनुभयो ।
भजनीकै पर्शुराम चौधरीले तीन दिन देखि भोकै प्यासै बस्नुपरेको बताउँदै अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको बताउनुभयो । “जसोतसो ज्यान जोगियो । अहिले खुला आकाश मुनि बस्नुपरेको छ ।” पर्शुरामले भन्नुभयो, “आफुसँग त्रीपाल पनि छैन । मागौं भने सबैलाई आफ्नै समस्या छ । सरकारले त्रीपाल र पानी दिएपनि हामिलाई ठूलो राहत हुने थियो ।” उहाँले सडक आसपास बसेकालाई सहज भएपनि गाउँको बीचमा आश्रय लिएर बसेकाको जनजीवन निकै कष्टकर रहेको बताउनुभएको छ ।
गाउँको बिचमा आश्रय लिएर बसेका विस्थापितलाई राहत तथा पानी पुर्याउन समेत निकै समस्या भएको छ । पैदल जान सक्ने अवस्था छैन । डुंगाको साहारामा विस्थापित परिवारलाई राहत पुर्याउन आवश्यक स्रोतको अभाव भएको स्थानीय जयप्रसाद ढुंगानाले बताउनुभयो । “हुलाकी सडकमा बसेका स्थानीयलाई नगरपालिकाले एक पटक पानी र चाउचाउ वितरण गरेको थियो । गाउँ भित्र बसेकाले त्यो पनि पाएका छैनन् ।” ढुंगानाले भन्नुभयो, “पैदल वा सवारीसाधन लिएर जान सकिने अवस्था छैन । जानको लागि डुंगा चाहियो । सहजै डुंगा उपलब्ध हुने अवस्था छैन ।”
अझै भजनीमा एक वडाबाट अर्को वडामा सहजै जान सक्ने स्थिती छैन । एक गाउँबाट अर्को गाउँसम्म जान सक्ने अवस्था छैन । “आवागमन नै प्रभावित भएको छ । प्रत्यक्ष सम्पर्क हुन सकेको छैन ।” नगर प्रमुख केवल चौधरीले भन्नुभयो, “हामिले सम्बन्धित वडालाई जिम्मा दिएका छौं । राहत वितरका लागि ।” उहाँले तीन /चार हजार जनसंख्यालाई नगरपालिकाले मात्रै राहत वितरण गर्न सक्ने अवस्था नरहेको बताउँदै अन्य संघसंस्थाहरुलाई समेत सहयोगका लागि आग्रह गरिएको बताउनुभएको छ ।
नगर प्रमुख चौधरीले डुंगा तथा बोट नहुँदा पनि प्रभावितलाई राहत पुर्याउन समस्या भएको बताउनुभयो । “नगरपालिकाका सबै वडा डुवानमा छन् । हामिसँग भएको चार बोट मध्ये दुईवटा मात्रै सञ्चालनमा छन् । दुई बोटले सबै क्षेत्रमा पुग्न कठिन भएको छ ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “अन्य संघसंस्थासँग सहयोग मागेका छौं । दुईवटा बोट सहयोग गर्ने कुरा भएको छ । थप दुईवटा भए अलि सहज हुनसक्छ ।”
उता जोशीपुर गाउँपालिकामा भने जनजीवन सामान्य बन्न थालेको छ । गाउँपालिकामा बाढीका कारण एक हजार भन्दा बढी परिवार विस्थापित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले विस्थापितको तथ्यांक लिने काम सुरु गरिएको बताउनुभएको छ । उहाँले पानी कम भएसँगै स्थानीयहरु आफ्नो घर जाने क्रम चलेको बताउँदै विस्थापित परिवारलाई तथ्यांकको आधारमा गाउँपालिकाले राहत वितरण गर्ने बताउनुभयो । “पहिले तथ्यांक संकलन गर्छौं । त्यसपछि राहत वितरणको काम गर्नेछौं ।” अध्यक्ष चौधरीले भन्नुभयो, “बाढी घटेपनि अवस्था सहज हुन अझै हप्तौं लाग्छ । त्यहाँसम्म विस्थापितलाई गाउँपालिकाले आफ्नो स्रोतले भ्याएसम्मको सहयोग गर्छ ।”
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पछिल्लो समयमा अविरल वर्षाका कारण प्रभावित भएको कैलालीको जनजीवन सामान्य अवस्था फर्किन थालेको बताउनुभएको छ । उहाँका अनुसार वर्षा रोकिएपछि बाढीको मात्रा घट्दै जाँदा वाढी, डुवानबाट आंशिक रुपमा प्रभावित भएकाहरुको जनजीवन सामान्य बन्दै गएको बताउँदै पुर्ण रुपमा विस्थापितका लागि आवश्यक राहत तथा अन्य सहयोगको लागि समन्वय भैरहेको छ । “बाढीबाट बढी प्रभावित भजनी क्षेत्रका लागि नेपाल रेडक्रस र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।” प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “हामिले स्थलगत अवलोकन पछि कताको अवस्था के छ भन्ने र त्यसैअनुसारको राहतको समन्वय गर्ने तयारी भएको छ ।”
बाढीका कारण कैलालीमा दुई जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *