शेयेर गर्नुहोस
अछाम १९ असार /
गतवर्षबाट शैक्षिक रुपान्तरण अभियान सञ्चालन गर्दै आएको अछामको रामारोशन गाउँपालिकाले विद्यार्थीका लागि प्रोत्साहन प्याकेज कार्यक्रम ल्याएको छ ।
गुणस्तरीय शिक्षाको सुनिश्चितता र विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धिका लागि गाउँपालिकाले ‘शैक्षिक रुपान्तरण अभियान’मा विशेष जोड दिँदै प्याकेज ल्याएको हो । सोही अभियानअन्तर्गत यस वर्षको एसइई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान, नगद पुरस्कार र अभिमुखिकरण कार्यक्रममार्फत प्रोत्साहित गरिने भएको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा रुपान्तरण ल्याउने प्रतिवद्धतासहित काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताएका छन् । उनले यो अभियानले गाउँपालिकाको शिक्षा क्षेत्रलाई गतिशिल बनाउने विश्वास गरेका छन् । गाउँपालिकाको निर्णय अनुसार चालु शैक्षिक सत्रबाट कक्षा ६ देखि १० सम्म अध्ययन गरेर एसइईमा ए प्लस ग्रेड ल्याउनेलाई २० हजार र ए ग्रेड ल्याउनेलाई १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, एसइईमा ननग्रेडेड विद्यार्थीहरुका लागि मौका परीक्षा तयारी गर्न गाउँपालिका भित्रका विद्यालयलाई ५० हजार रुपियाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
संघ, प्रदेश र स्थानीय तहको शिक्षा क्षेत्रमा ठुलो लगानी भए पनि त्यसको प्रतिफल निकै कम भएकाले उपलब्धिमूलक गुणस्तरीय शिक्षा बनाउन अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारी बताउँछन् । ‘‘विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन गाउँपालिकासँग प्रत्येक विद्यालयका प्रधानाध्यापकको कार्य सम्पादन सम्झौता गरिएको छ ।’’ उनले भने, “प्रधानाध्यापकले आफ्नो विद्यालयका प्रत्येक शिक्षकसँग कार्य सम्पादन सम्झौता गर्न थालेका छन् । कार्य सम्पादन सम्झौता अनुसार विद्यालयको आधारभूत आवश्यकता पूरा गर्न गाउँपालिका र शैक्षिक गुणस्तर सुनिश्चित गर्न प्रधानाध्यापकलाई जिम्मेवार बनाइएको छ भने दोस्रोमा प्रधानाध्यापकले आफ्ना विद्यालयका सबै शिक्षकसँग सम्झौता गर्ने र विषय शिक्षकले गुणस्तरको अनिवार्य सुनिश्चित गर्नु नीति लिइएको छ ।”
उनले गुणस्तरीय शिक्षा सबैको हक भएको बताउँदै यो विशेष अभियान तिव्र पारिएको बताए । शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा अघि बढाइएको यो कार्यक्रम रामारोशन गाउँपालिकाको शिक्षा सुधार योजनाको एउटा बलियो पाटो बन्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले शैक्षिक अनुशासन, शिक्षकको उत्तरदायित्व र विद्यार्थीको प्रेरणामा केन्द्रित नीति कार्यान्वयन गर्दै आएको छ ।