बिद्यार्थीको पहुँच पुर्याउन नि:शुल्क भर्ना

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी २७ बैशाख /
कैलालीको भजनी स्थित महुन्याल बहुमुखी क्याम्पस भजनीले क्याम्पसमा बिद्यार्थी संख्या बढाउउन र आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थी क्याम्पससम्म पहुँच पुर्याउनका लागि नि:शुल्क भर्ना अभियान सुरु गरेको छ ।
भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक पहिलो वर्षमा भर्ना हुन आउने बिद्यार्थीको भर्नामा नि:शुल्क गर्ने भएको हो । क्याम्पसमा आर्थिक अवस्था कम्जोर भएर उच्च शिक्षा हासिल गर्न बञ्चित भएका बिद्यार्थीहरुलाई क्याम्पसको पहुँचमा पुर्याउनको लागि नि:शुल्क भर्ना अभियान सुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टंक प्रसाद जोशीले बताउनुभएको छ ।
उहाँकाअनुसार नगरपालिकाले क्यम्पसलाई दिने ३६ लाख अनुदानबाट १० प्रतिशत रकम छात्रवृत्तिको लागि क्याम्पसले छुट्याउने निर्णय गरेको छ । त्यहीँ रकमले नयाँ भर्ना हुन आउने बिद्यार्थीहरुलाई नि:शुल्क भर्नाको कार्यक्रम सुरु गरिएको अध्यक्ष जोशी बताउनुहुँन्छ । “हामीले हतार चाहिँ गरेका छौं । नगरपालिकाले दिने भनिएको अनुदान रकमको लिखित भएको छैन । मौखिक रुपमा भएको कुरालाई आधार मानेर क्याम्पसको निर्णय सार्वजनिक गरेका हौं ।” अध्यक्ष जोशी भन्नुहुन्छ, “सम्भवत नगरपालिकाको यसपछि बस्ने कार्यपालिकाको बैठकबाट निर्णय गर्छ होला । यदि नभएको खण्डमा भने समस्या आउन सक्ने स्थिति पनि छ ।”
क्याम्पसले बिद्यार्थी भर्नाको समयमा लाग्ने दुई हजार पाँच सय भर्ना शुल्क, पुस्तकालय शुल्क पाँच सय, खेलकुद शुल्क दुई सय २५, विकास शुल्क पाँच सय र आवेदन फारम शुल्क पाँच सय गरी चार हजार दुई सय २५ रुपैयाँ छुट गरेको छ । अध्ययनका लागि पालिका बाहिर जाने बिद्यार्थी र कक्षा १२ सम्मको अध्ययन गरेर आर्थिक स्थितिले पढाईलाई निरन्तरता दिन नसकेका बिद्यार्थीहरुलाई ठूलो राहत हुने अपेक्षा गरिएको छ ।
क्याम्पस स्ववियु सभापति अर्जुन खत्रीले क्याम्पसले गरेको निर्णयले बिद्यार्थीको संख्या बढ्ने बताउनुभयो । नगरपालिकाका नगर प्रमुख केवल चौधरीलाई क्याम्पसको विविध समस्याको विषयमा ज्ञापनपत्र बुझाएको बताउँदै त्यसमध्ये एउटा महत्त्वपूर्ण काममा नगरपालिकाले सहयोग गरेको उहाँको भनाइ छ ।
“क्याम्पस छ तर बिद्यार्थी संख्या बढाउन सकिएको छैन । आर्थिक अवस्थाले कम्जोर भएका बिद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका छन् ।” सभापति खत्री बताउनुहुँन्छ , “आशा छ अहिलेको क्याम्पसले गरेको यो निर्णयले क्याम्पसमा बिद्यार्थीको संख्या बढ्ने छ । र हाम्रो प्रयास सफल हुनेछ ।” अहिले क्याम्पसमा करिब दुई सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *