शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २४ चैत /
कैलालीको जानकी गाउँपालिका वडा नं. ४ मुनुवामा रहेको बिज वृद्धि कृषक सहकारी संस्थाले दशक भन्दा लामो समयदेखि बीउ उत्पादनमा जोड दिँदै आएको छ । किसानहरूलाई बीउ उत्पादनमा प्रोत्साहन गर्दै प्राविधिक सहयोग दिएर सहकारी संस्थाले बीउ उत्पादनमा जोड दिँदै आएको हो । खाद्यान्न, दलहन, तेलहन बालीको लागि सहकारीले उन्नत, प्रमाणित र मुल बीउ उत्पादन गर्दै आएको छ । सहकारीले आफ्नो प्राविधिकको निगरानीमा उत्पादन गर्दै आएको बीउ किसानबाट बजार मूल्य भन्दा तीन सय रुपैयाँ बढी दिएर खरिद गर्ने गरेको छ ।
सहकारी संस्थामा आबद्ध एक सय ५० जना किसानले बीउ उत्पादनको काम गर्दै आउनुभएको छ । सिजन अनुसार धान, गहुँ, तोरी, मसुरो लगायतको बीउ उत्पादन गर्दै आउनुभएका रतन बहादुर बढायक सहकारीले दिँदै आएको सेवाबाट प्रभावित हुनुहुन्छ । खेती आफुले लगाउनु परे पनि समयसमयमा हुने प्राविधिकको निगरानीले उत्पादनमा समेत वृद्धि हुने गरेको उहाँको भनाइ छ । किसानहरुलाई आवश्यक मलको व्यवस्था पनि सकेसम्म सहकारी आफैले गर्दै आएको छ । “बजारको समस्या छैन । उत्पादन सोचेभन्दा राम्रो हुन्छ । अझै राम्रो गर्न सके सहकारीले पुरस्कृत समेत गर्छ ।” उहाँ भन्नुहुन्छ, “किसानको लागि सहकारीको काम निकै प्रशंसायोग्य छ ।”
सहकारीलाई अहिले धानको बीउ ग्रेडिङमा भ्याइनभ्याई छ । यसवर्ष चार हजार क्विन्टल धानको बीउ सहकारीले भण्डार गरेको छ । त्यो मध्ये अधिकांश धानको बिक्रि प्रक्रियामा गैसकेको सहकारीका व्यवस्थापक गोविन्द राज रावत बताउनुहुन्छ । “झण्डै ६ जातको धानको बीउ हामीसँग छ । अधिकांश बिक्रि प्रक्रियामा गैसकेको छ ।” उहाँ भन्नुहुन्छ, “बर्सेनि बीउको माग बढ्दै गएको छ । सहकारीले माग अनुसार पुर्याउन सकेको छैन ।”
व्यवस्थापक रावतका अनुसार सहकारीले किसानलाई उन्नतमा मोटो ७०, मध्यम ७३ र मसिनो प्रती केजि ८० रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यसैगरी प्रमाणित बीउ प्रती केजि ७५, ७८ र ८५ रुपैयाँमा र मुल बीउ भने प्रती केजि ८०, ८३ र ९० रुपैयाँमा बिक्री गर्दै आएको छ । “हाम्रो बीउ सुदुरपश्चिम प्रदेशसँगै कर्णाली, लुम्बिनी र मधेस प्रदेशसम्म पुग्ने गरेको छ ।” रावत भन्नुहुन्छ, “अहिले स्थानीय सरकारले पनि बीउ खरिद गरेर लिने गरेको छ । अहिले भैरहेको माग पुरा गर्न ७ हजार क्विन्टल धान र गहुँको बीउ उत्पादन गर्न सक्नुपर्छ ।”
सहकारीले यसवर्ष एक करोड ४१ लाख ५९ हजार ६ सय ८८ रुपियाँको धानको बीउ किसानसँग खरिद गरेको थियो । गतवर्ष एक करोड २५ लाख ८ सय ४२ रुपैयाँको गहुँको बीउ खरिद गरेको सहकारीले चार लाख ९४ हजार पाँच सय १५ रुपैयाँको तोरीको बीउ किसानबाट खरिद गरेको सहकारीका अध्यक्ष विजय कुमार कठरियाले जानकारी दिनुभएको छ । सहकारीसँग पाँच हजार क्विन्टल बीउ भण्डार गर्ने क्षमताको गोदाम रहेको छ । विभिन्न सरकारी निकायबाट राम्रो अनुदान पाइरहेको सहकारीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाई, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र कैलाली ठूलो सहयोगी दाताको रुपमा रहेको अध्यक्ष कठरिया बताउनुहुन्छ ।
गहुँ पाक्ने समयमा आएको यसवर्षको हावाहुरीका कारण गहुँमा ठूलो क्षति भएपछि बीउ संकलन हुनेमा अध्यक्ष कठरियाले चिन्ता व्यक्त गर्नुभएको छ । “पाँच हजार क्विन्टल गहुँको बीउ उत्पादन गर्ने लक्ष्य सहकारीले लिएको थियो । त्यसैअनुसार किसानलाई बीउ उत्पादनमा जोड दिएका थियौं ।” उहाँ भन्नुहुन्छ, “हावाहुरीले ९५ प्रतिशत गहुँमा क्षति पुर्याएपछी त्यो बीउ हुँदैन ।” बीउका लागि लगाएको किसानको गहुँ भने सहकारीले आफै खरिद गरेर बजारीकरण गरिदिने निर्णय गरेको छ ।






