शेयेर गर्नुहोस
टीकापुर २९ साउन /
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि साउन ३० गते बुधबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले शाहले विश्वासको मत लिने भन्दै संसद बैठक बुधबार आव्हानका लागि लागि सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका हुन । मुख्यमन्त्री शाहले पठाएको पत्रका आधारमा बुधबार दिउसो ३ बजेका लागि संसद बैठक आह्वान गरिएको सभामुख भण्डारीले बताएका छन् । संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।
मुख्यमन्त्री शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८, एमालेका ११ गरेर २९ प्रदेश सभा सदस्यको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशमा बहुमतका लागि चाहिने संख्या २७ भए पनि नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएको छ । नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका छन् ।
मुख्यमन्त्रीको सचिवालयले नागरिक उन्मुक्तिका ७ जनाले पनि विश्वासको मत दिने जनाएको छ। नागरिक उन्मुक्तिका ७ जनाले विश्वासको पक्षमा मत हाले शाहसँग ३४ जनाको समर्थन हुनेछ। यो भनेको संसदको झण्डै दुई तिहाईको नजिक हो । प्रदेशको दुई तिहाईका लागि मुख्यमन्त्री शाहलाई थप दुईजना सांसदको साथ चाहिन्छ । ५३ सदस्यीय प्रदेश सभामा ३६ को संख्या दुई तिहाइ हो ।










