शेयेर गर्नुहोस
टीकापुर ११ माघ /
टीकापुर नगरपालिका वडा नं. ८ धनसिंहपुरमा बृहत थारु सांस्कृतिक तथा माघी मिलन कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषदको आयोजनामा दुईदिने थारु सांस्कृतिक तथा माघी मिलन कार्यक्रम आयोजना हुन लागेको हो । माघ १६ र १७ गते आयोजना हुन लागेको उक्त कार्यक्रमको तयारी थालिएको समन्वय परिषदका संयोजक तथा कार्यक्रम संयोजक जितबहादुर चौधरीले जानकारी दिएका छन् ।
कार्यक्रममा वडा नं. ८ भित्रका आठ टोलका सांस्कृतिक झाँकी बिच प्रतिस्पर्धा गराइने छ । उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको संयोजक चौधरीले जानकारी दिएका छन् । त्यसैगरी कार्यक्रममा थारु राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने छ । “संस्कृतिको जगेर्ना गर्दै सामाजिक सद्भाव स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।” उनले भने, “यसभन्दा पहिले कार्यक्रम गर्दा एक दिनमा सबैलाई समेट्न नसकिएको हुँदा यसपटक दुई दिन कार्यक्रम राखिएको हो ।”
टीकापुर नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा हुन लागेको कार्यक्रम सफल बनाउनका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न संयोजक चौधरीले आग्रह पनि गरेका छन् ।










