बेरुजुको ग्राफ घटाउने प्रयास गर्दै नगरपालिका

शेयेर गर्नुहोस


टीकापुर २६ माघ /
भजनी नगरपालिकाले नीतिगत सुधारमा ध्यान नदिएका कारण बर्सेनि बेरुजुको ग्राफ बढ्दै गएको पाइएको छ ।
नगरपालिकाले नीतिगत सुधारमा ध्यान दिन नसकेका कारण बेरुजुको ग्राफ बढ्दै गएको पाइएको हो । नगरपालिकाको बेरुजु हालसम्म ३६ करोडको हाराहारी पुगेको छ । चालू आर्थिक वर्षको नगरपालिकाको विनियोजित बजेट ६८ करोड भए पनि बेरुजु मात्रै ३६ करोड पुगेपछि स्थानीय सरकार माथी प्रश्न उठ्न थालेका छन् । “हिजोका दिनमा केही नीतिगत विषयहरूमा ध्यान दिन नसकेका कारण बेरुजु बढेको देखिन्छ ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले भने, “अहिले त्यसलाई सुधार गर्ने प्रयास हामीले गरिरहेका छौँ ।”
आन्तरिक लेखापरीक्षण गरेर आवश्यक कागजात मिलाएर भुक्तानी प्रक्रिया अगाडि बढाएको भए बेरुजुको आकार यति ठूलो नहुने प्रमुख प्रशासकीय अधिकृत भट्ट बताउँछन् । नगरपालिकाले अहिले भने भुक्तानीका लागि नगरपालिका पुगेका हरेक फाइलको आन्तरिक लेखापरीक्षण गरेर मात्रै भुक्तानी गर्न थालेको छ । त्यसो हुँदा अपुग कागजात समयमा उपलब्ध हुने र भोलीका दिनमा महालेखापरिक्षणले पनि प्रश्न गर्ने ठाउँ नहुने भट्ट बताउँछन् । “यसभन्दा पहिले पुर्व लेखापरीक्षण एकैपटक गर्ने गरिएको रहेछ । अहिले पहिले लेखापरीक्षण गरेर मात्रै भुक्तानी प्रक्रिया सुरु हुन थालेको छ ।” अधिकृत भट्टले भने, “यसो हुँदा केही भुक्तानी प्रक्रियामा ढिलाइ भएको होला तर, कागजातमा परिपक्व भएर भुक्तानी भएको छ ।”
नगरपालिकाले सामुदायिक बिधालयमा दिवा खाजाका लागि उपलब्ध गराउने रकममा पनि त्यसैको समस्या देखिएको छ । यसभन्दा पहिले बिधालयले निवेदन सहितको भुक्तानी माग गरे सिधै भुक्तानी हुने गरेको भए पनि अहिले सबै कागजात चेकजाँच गरेर भुक्तानी हुन थालेपछि केही बिधालय नगरपालिकाको कामबाट असन्तुष्ट देखिएका छन् । साथै कतिपय बिधालयले पेश गरेको बिद्यार्थी संख्यामै शंका भएपछि दिवा खाजाको रकम भुक्तानी केही ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए । “बिद्यार्थी हाजिर, बिद्यार्थी संख्यामा कतै शंका गर्ने ठाँउ देखिएको छ । त्यसलाई अनुगमन गरेर वास्तविक तथ्यांक ल्याउने काम गरिरहेका छौँ ।” उनले भने, “अको पहिले सिधै भुक्तानी हुने कुरामा अहिले लेखापरीक्षण पछि मात्रै भुक्तानी हुँदा दिवा खाजाको भुक्तानी लम्बिएको हो ।”
भट्टले कतिपय बिधालयले भुक्तानीका लागि अझै निवेदन पेश नगरेको बताउँदै यसभन्दा पहिले एकपटक दिवा खाजाको भुक्तानी नगरपालिकाले गरिसकेको बताएका छन् । उनले केही बिधालयले पठाएको बिद्यार्थी विवरणमा विद्यार्थीको नाम दोहोरो परेको आशंका भएको बताए । नगरपालिकालाई बिधालयले उपलब्ध गराएको रिपोर्ट र बिधालयको वास्तविक रिपोर्ट फरक परे त्यस्तो गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत प्रमुख प्रशासकीय अधिकृत भट्टले दिएका छन् ।
यसअघि २३ दिनको पेश्की वापतको रकम बिधालयलाई नगरपालिकाले भुक्तानी गरेको पाइएको छ । त्यसपछि दिवा खाजाको रकम बिधालयलाई भुक्तानी नभएको एकजना शिक्षकले बताए । “यसभन्दा पहिले भुक्तानी प्रक्रिया सहज थियो । अहिले आन्तरिक लेखापरीक्षण लगायतका विषयले ढिलाइ भएको छ ।” उनले भने, “यसो हुँदा सामान्य त्रुटि हुँदा पनि भुक्तानी रोकिने गरेको छ भने । आलेप बाहिर भएको हुँदा पनि भुक्तानीमा समय लागेको भन्ने नगरपालिकाबाट आएको छ ।”
बालविकास देखि कक्षा ५ सम्मका तीन हजार तीन सय ५५ जना विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।
नेपाल सरकारले नै व्यवस्था गरेअनुसार नगरपालिका भित्रका विभिन्न सामुदायिक बिधालयमा अध्ययनरत बालविकास देखि कक्षा ५ सम्मका तीन हजार तीन सय ५५ जना बिद्यार्थीको दिवा खाजाको लागि एक करोड ४४ लाख १८ हजार रुपैयाँ नेपाल सरकारले नगरपालिकालाई पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *