शेयेर गर्नुहोस
टीकापुर १८ फागुन /
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) उद्वब सिंह भाटले बोलेर नभई कामले नतिजा दिने बताएका छन् ।
बुधबार टीकापुरका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी नायव उपरीक्षक भाटले टीकापुर क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई बोलेर नभई त्यसको न्यूनीकरण भएको नतिजाले देखाउने बताएका हुन । “म काम गर्नकै लागि टीकापुर आएको हु । मैले काम गरेर परिणाम नतिजामा देखाउने छु ।” प्रहरी नायव उपरीक्षक भाटले भने, “काममा कसैले अप्ठ्यारो नपारोस भन्ने हो । कानुनको परिधिभित्र रहेर समाजमा शान्तिसुरक्षाको प्रत्याभूती गराउने जिम्मा मेरो रहने छ ।”
उनले माघ २५ गतेदेखि कार्यालयमा हाजिर भएको बताउँदै त्यसयता मात्रै लागुऔषधका १० वटा मुद्दा दर्ता भएको बताएका छन् । उनकाअनुसार १० वटा मुद्दामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । लागुऔषध सेवन गरेकै ९ जना बालबालिकालाई सम्झाइबुझाई अभिभावकको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक भाटले बताएका छन् । “यताको मुख्य समस्या गुण्डागर्दी र लागुऔषध रहेछ । यो दुई कुरामा मेरो सक्रियता बढी रहन्छ । लागुऔषध दुर्व्यसनी न्यूनीकरण र गुण्डागर्दी कम भएपछि समाजमा घट्ने आपराधिक घटनामा आफै कमि आउनेछ ।” भाट भन्छन्, “यो कुरामा मेरो कसैसँग सम्बन्ध जोडिने छैन र कसैको उक्साहटमा मेरो संलग्नता रहने छैन ।”
उनले राजनीतिक दलहरुसँग सधै टाढा रहने बताएका छन् । प्रहरी नायव उपरीक्षक भाटले राजनीतिक दलहरूसँग नजिक भए नागरिकहरुले पनि शंका उपशंकाको कोणबाट हेर्ने बताउँदै सम्बन्ध सबैसँग भएपनि नजिक कसैको नहुने बताए । “राजनीतिक दलहरूबाट सधै टाढा रहने प्रयास हुनेछ । कानुन, योग्यता र आफ्नो सामर्थ्यले भ्याएसम्मको काम म गर्नेछु ।” भाटले भने, “सकेसम्म मिडियामैत्री भएर काम गर्ने प्रयास रहने छ ।”