ब्याडमिन्टन लोकप्रिय खेल बन्दै

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०७ कार्तिक /
खेलकुद क्षेत्रमा पछिल्लो समय ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । व्यावसायिक भन्दा पनि शारीरिक हिसाबले ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको हो । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारु दैनिक बिहानको समयमा ब्याडमिन्टन कोर्डमा भेटिनुहुन्छ । टीकापुर भएको दिन उहाँ बिहानको दुई घण्टा समय ब्याडमिन्टन खेलमा बिताउनुहुँन्छ ।
“मैले फुटबल, कबडी लगायतका खेलम पनि मेरो रुचि हो । उमेरसँगै त्यस्ता सबै रुचिहरु हराउँदै जाँदा रहेछन् ।” नगर प्रमुख थारुले भन्नुभयो, “व्यावसायिक खेल भन्दा अहिले ब्याडमिन्टन मेरो शारीरिक ब्यायामका लागि निकै उपयोगी बनेको छ ।” टीकापुरकै तेजबहादुर थापाको बिहानको समय ब्याडमिन्टन खेलेरै बित्छ । दिनभर ब्यापार व्यस्त हुने थापा आठ वर्षदेखि ब्याडमिन्टन खेल्दै आउनुभएको छ । स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरुमा समेत सहभागिता जनाउनुभएका थापा पनि शारीरिक ब्यायामकै लागि ब्याडमिन्टन खेल्न थालिएको बताउनुहुँन्छ ।
“दिनभर ब्यापारमा व्यस्त, बाहिर जाँदा पनि गाडीको सवार । खानपिनमा ध्यान नदिँदा अस्वस्थता बढ्दै गएको महसुस हुन थालेपछि साथीहरूको संगतमा लागेर ब्याडमिन्टन खेल्न थालियो ।” थापाले भन्नुभयो, “अहिले सबैभन्दा बढी खेलिने खेल नै ब्याडमिन्टन भएको छ । तर, उचित मैदानको अभावमा भने खेलमै भविष्य देखेका युवाहरुलाई समस्या पारेको छ ।” ब्याडमिन्टन इनडोर खेल भएका कारण टीकापुर क्षेत्रमा कभर्डहल अझै निर्माण हुन सकेको छैन । उसो त स्थानिय सरकारले ब्याडमिन्टन प्रतियोगिताको लागि स्थानीय युवाहरुलाई सहयोग समेत गर्दै आएको छ ।
विशेषगरी जागिरे तथा दिनभर ब्यापारमा व्यस्त हुनेहरूका लागि ब्याडमिन्टन निकै उपयोगी बनेको छ । ठूलो स्पेस नचाहिने, दुई जना भए खेल्न सकिने, कुनै टिम बनाइराख्नु नपर्ने भएकै कारण ब्याडमिन्टन लोकप्रिय बनेको स्थानीय रामबहादुर साउँंद बताउनुहुँन्छ । “हामीले कार्यालयको परिसर मै ब्याडमिन्टन कोर्ड बनाएका छौं । एक जना आएन भनेर खेल स्थगित हुने अवस्था हुँदैन ।” साउँदले भन्नुभयो, “दुईजना भए खेल हुन्छ । बिहान शारीरिक ब्यायाम भएपछि दिनभर काम गर्ने जागर पनि आउँछ ।”
खेलको क्षेत्रमा सहयोग भएपनि संरचना निर्माणका लागि बजेट विनियोजन हुन सकेको छैन । गत आर्थिक वर्षम निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले कभर्डहल निर्माणका लागि गरेको शिलान्यासले निरन्तरता पाउन सकेन । चालू आर्थिक वर्षमा पनि कभर्डहलका लागि बजेट विनियोजन नभएको नगरपालिकाकी लेखा अधिकृत लक्ष्मी वडले बताउनुभयो । टीकापुर नगर विकास समितीले निर्माण गर्ने गरि कभर्डहलको शिलान्यास भएको थियो ।
टीकापुरमा खेल मैदानको अभाव नभएपनि लगानीको अभावका कारण कयौं खेलकुदमा भविष्य देखेका युवाहरू खेलकुदबाट विस्थापित हुनुपरेको खेल प्रशिक्षक अर्जुन ठकुल्ला बताउनुहुँन्छ ।
“खेलाडीको लागि उचित बाताबरण नै छैन । खेल्ने आवश्यक सामग्रीको अभाव, प्रशिक्षणका लागि मैदानको अभाव, प्रतियोगितामा सहभागी हुन जाँदा आर्थिकको अभाव ।” ठकुल्लाले भन्नुभयो, “अभावका बाबजुद पनि अहिले ब्याडमिन्टन खेलमा केही युवाहरूले आशालाग्दो प्रस्तुती स्थानीय स्तरका प्रतियोगितामा देखाएका छन् । तिनको संरक्षण हुन सके टीकापुरका लागि त्यसले राम्रो परिणाम दिन सक्छन् ।”
नगर प्रमुख थारुले खेलकुद क्षेत्रको संरचनागत विकासका लागि नगरपालिका स्रोत जुटाउनतर्फ लागेको बताउनुभएको छ । उहाँले नगरपालिकाको स्रोतले खेलकुदका लागि चाहिने दीर्घकालीन योजनालाई पूरा गर्न नसक्ने बताउँदै त्यसका लागि संघ र प्रदेश सरकारसँग समन्वय भैरहेको बताउनुभएको छ । “नगरपालिकामा खेलकुदको लागि भनेर २२ बिघा जग्गा छ । त्यहाँ अल्पकालीन संरचना बनाएर काम छैन । दीर्घकालीन योजनाको लागि संघ र प्रदेशसँग समन्वय भैरहेको छ ।” नगर प्रमुख थारुले भन्नुभयो, “अबको पाँच वर्षमा टीकापुरले खेलकुदको क्षेत्रमा गति लिन्छ । खेलकुदका गतिविधि देखि खेलाडीहरुको भविष्यलाई सुनिश्चित गर्न नगरपालिकाले काम गर्ने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *