भजनीमा महोत्सव आयोजना हुने

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी १३ माघ /
भजनी उद्योग वाणिज्य संघको आयोजनामा भजनीमा महोत्सव आयोजना हुने भएको छ ।
शनिबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै भजनी महोत्सवको मिति सार्वजनिक गरेपछि महोत्सव आयोजना हुने कुरा पुष्टि भएको हो । संघका अनुसार यहीँ माघ २५ गतेबाट फागुन ८ गतेसम्म भजनी महोत्सव २०८० आयोजना हुन लागेको संघका अध्यक्ष प्रेमराज जैशीले जानकारी दिएका छन् । उहाँले भजनी क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको बताएका छन् । “भजनी राज्यको दृष्टिबाट निकै टाढा छ । यहाँका सम्भावनाहरुलाई महोत्सवको माध्यमबाट प्रचारप्रसार गर्दै त्यसबाट भजनीलाई समृद्ध बनाउने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागेका हौं ।” अध्यक्ष जैशीले भने, “यसमा उद्योग वाणिज्य संघले मात्रै चाहेर सम्भव छैन । सबैको सहयोग, समन्वय र सहकार्यले महोत्सव सफल पार्नुका साथै भजनीको सम्भावनालाई उजागर गर्न सकिन्छ ।”
संघका महासचिव नैनबहादुर चौधरीले महोत्सवको आन्तरिक तयारी पूरा भैसकेको बताए । उनले महोत्सवमा स्थानीय वस्तु र उत्पादनलाई विषेश महत्त्व दिइने बताए । “हामीले महोत्सवमा थारु गाउँ, स्थानीय उत्पादनका स्टल, रमाइलो मेला, स्थानीय कला संस्कृतिलाई विशेष जोड दिने तयारी गरेका छौँ ।” उनले भने, “अन्य कुरामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगायतका महोत्सवका अन्य आकर्षणहरु त छदैछ्न ।” उनले भजनी क्षेत्रको विकासमा थप मद्दत पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताएका छन् ।
यसभन्दा पहिले संघले भजनीमा दुईपटक महोत्सव आयोजना गरेको थियो । दुबै पटक आर्थिक रुपमा सफल हुन नसकेको महोत्सवको खर्च संघका पदाधिकारीहरुले ब्याक्तीगतरुपमा पनि व्यवस्थापन गरेका थिए । संघले एकपटक महोत्सवको उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत ल्याएको थियो । त्यसपछिको कोरोना संक्रमणका कारण तीन वर्ष भजनीमा महोत्सव हुन सकेन, भने गत वर्ष भजनीको युवा क्लबले महोत्सव आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *