भजनी नगरपालिका सहित कैलालीको आर्थिक विकास: चुनौती र सम्भावनाका बहुआयाम

शेयेर गर्नुहोस

✍️ बिष्णु राज न्यौपाने, भजनी ०९ वैशाख /

भजनी नगरपालिका नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ। यसको पूर्वमा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका, पश्चिममा कैलारी गाउँपालिका, उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिका र दक्षिणमा भारतको उत्तर प्रदेश राज्यको तिकुनिया बेलरायाँ पर्दछ। यो नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् र १७६.२५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ।यस नगरपालिकामा १०,८४५ घरधुरी र जनसंख्या ५३,४९४ (महिलाः २७,८८३, पुरूषः २५,६११) रहेको छ (राष्ट्रिय जनगणना, २०७८)। भजनी नगरपालिका ८० डिग्री ९६ मिनेट ८१ सेकेण्ड पूर्वी देशान्तर र २८ डिग्री ४९ मिनेट ३५ सेकेण्ड उत्तरी अक्षांशमा फैलिएको छ।यहाँ प्रमुख रूपमा थारु, बाहुन, क्षेत्री, मुस्लिम लगायतका जातजातिको बसोबास छ। कृषि, पशुपालन, र असंगठित क्षेत्रको रोजगारी, सामुदायिक सद्भाव, सांस्कृतिक विविधता तथा स्थानीय सीप र ज्ञानले आर्थिक विकासको सम्भावनालाई थप बल प्रदान गर्दछ।
भजनी नगरपालिकाको आर्थिक संरचना मुख्यतः कृषि, पशुपालन, असंगठित क्षेत्रको रोजगारी, र वैदेशिक रोजगारमा आधारित छ। यहाँको प्रमुख आर्थिक आधार कृषि नै हो, जसमा धान, गहुँ, मकै, तरकारी तथा तेलहनबाली उत्पादन गरिन्छ। तथापि, परम्परागत कृषि प्रणाली, सीमित सिँचाइ सुविधा, उन्नत बीउ प्रविधिको अभाव, र बजार व्यवस्थापनको कमजोरीले कृषिलाई आयमुखी र दिगो बनाउन अवरोध खडा गरेको देखिन्छ। यद्यपि, आधुनिक कृषि प्रविधिको प्रयोग, कृषि यान्त्रीकरण, सहकारी मार्फत सामूहिक खेती, जैविक उत्पादन प्रवर्द्धन तथा कृषिजन्य उद्योगको विकासका माध्यमबाट कृषिलाई आधुनिक र व्यावसायिक बनाउने ठुलो सम्भावना छ।
पशुपालन तथा मत्स्यपालनको क्षेत्रमा पनि भजनीमा उल्लेखनीय सम्भावना देखिन्छ। यहाँ गाई, भैंसी, बाख्रा पालन तथा माछा उत्पादन गर्ने कृषकहरू बढ्दो क्रममा छन्। दूध तथा माछा उत्पादनमा स्वावलम्बन तर्फ उन्मुख भजनीले दुग्ध सहकारी र मत्स्य पोखरी विस्तारमार्फत आम्दानी वृद्धिको बाटो अपनाउन सक्छ। नगरपालिकाले पशु बीमा, पशु आहार अनुदान, र भेतेनरी सेवा विस्तारका माध्यमबाट यो क्षेत्रको प्रवर्द्धनमा ध्यान दिइरहेको छ।
भजनीको आर्थिक विकासको अर्को महत्वपूर्ण पक्ष वैदेशिक रोजगार र त्यसबाट प्राप्त विप्रेषण हो। नगर क्षेत्रका धेरै युवाहरू भारत, खाडी मुलुक तथा मलेसिया लगायतका देशहरूमा श्रम गर्न गएका छन्। तर सीप अभाव, वित्तीय साक्षरताको कमी, र वैदेशिक आयको उत्पादक उपयोगको अभावले दीर्घकालीन आर्थिक रूपान्तरणमा चुनौती थपिएको छ। यदि युवालाई उद्यमशीलता विकास तालिम, स्टार्टअप सहयोग, सहुलियत ऋण र व्यवसायिक परामर्श प्रदान गरियो भने उनीहरूलाई स्वदेशमै स्वरोजगार बनाउन सकिन्छ।
उद्योग तथा साना उद्यमको सम्भावना पनि भजनीमा उल्लेखनीय छ। यहाँ घरेलु उद्योग, लघु उद्यम, सीपमूलक व्यवसायहरू जस्तै सिलाई-कटाई, हाते कढाई, दुना टपरी, अचार उद्योग, धुप तथा खाद्य प्रशोधन व्यवसायहरू विस्तार गर्न सकिन्छ। महिलाहरूलाई लक्षित गर्दै सञ्चालित सीपमूलक तालिम, महिला उद्यम विकास कार्यक्रम तथा सहकारी सशक्तिकरणका कार्यक्रमहरूले लघु उद्योग क्षेत्रको विकासमा सहयोग पुर्याउनेछ। यसले महिला सशक्तिकरणसँगै पारिवारिक आम्दानीमा वृद्धि ल्याउने सम्भावना छ।
भौगोलिक दृष्टिले भजनी नेपालको भारतसँग सिमाना जोडिएको नगरपालिका हो। सीमावर्ती व्यापार, सस्तो आयात तथा निर्यात, बजार विस्तार र कृषि तथा औद्योगिक उत्पादनको विक्रि-वितरणमा सहजता भजनीको आर्थिक अवसरको बलियो आधार हो। भन्सार सुविधा, सडक विस्तार, गोदाम निर्माण, स्टोरेज सिस्टम तथा बजार व्यवस्थापनलाई व्यवस्थित गरेमा भजनीलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्न सकिन्छ।
भजनी प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र हो। यहाँ मोहना नदीमा पाइने डल्फिन, लौकहभौकाहा ताल,अन्य ठुला प्राकृतिक ताल, माँ शक्ति स्वरुपा मन्दिर, थारु संस्कृति, र ग्रामीण जीवनशैली पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण सम्पदा हुन्। ग्रामीण पर्यटन, होमस्टे, सांस्कृतिक भ्रमण, थारु नृत्य, परम्परागत खानपान लगायतका पक्षहरूलाई समेट्दै पर्यटन क्षेत्रको विकास गर्न सकिने सम्भावना छ। यसका लागि पर्यटन प्रवर्द्धन नीति, पूर्वाधार विकास, निजी लगानीको आकर्षण र प्रचार-प्रसार आवश्यक देखिन्छ।
विपद् व्यवस्थापन आर्थिक विकासको महत्वपूर्ण पक्ष हो, विशेषतः भजनी नगरपालिकाजस्तो बारम्बार बाढी प्रभावित क्षेत्रमा। बाढी, डुबान, नदी कटान र जलजन्य रोगहरू यहाँको स्थायी चुनौती हुन्। नगरपालिकाले तटबन्ध निर्माण, जोखिम नक्सांकन, स्थानान्तरण योजना, विपद् राहत तथा उद्धार योजना निर्माण लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। दीर्घकालीन रूपमा जल व्यवस्थापन, भूउपयोग योजना तथा हरित पूर्वाधारको विकासले वातावरणमैत्री विकासलाई सुनिश्चित गर्न सक्दछ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सूचना प्रविधि र ऊर्जा पहुँचजस्ता सामाजिक क्षेत्रको सुधारले आर्थिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्छ। भजनी नगरपालिकाले विद्यालय पूर्वाधार, स्वास्थ्य संस्था विस्तार, विद्युतीकरण, सामुदायिक इन्टरनेट सेवा, खानेपानी योजना निर्माणजस्ता कार्यक्रम मार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने कार्य गर्दै आएको छ। दक्ष जनशक्ति उत्पादन, डिजिटल पहुँच तथा सेवा प्रवाहमा पारदर्शिता स्थापना आर्थिक वृद्धि र सुशासनका आधार हुन्।
अन्ततः, आर्थिक विकासलाई दिगो, समावेशी र आत्मनिर्भर बनाउने हो भने बहुपक्षीय समन्वय आवश्यक हुन्छ। संघीय संरचनाले स्थानीय सरकारलाई नीति निर्माण, योजना निर्माण र स्रोत परिचालनको स्वतन्त्रता दिएको वर्तमान अवस्थामा भजनी नगरपालिका समृद्धिको बाटोमा अघि बढ्न पर्याप्त आधारहरू बोकेको छ। निजी क्षेत्र, सहकारी, गैरसरकारी संस्था, युवा, महिला र समुदायसँगको सहकार्यमार्फत दिगो आर्थिक रुपान्तरण सम्भव छ। आर्थिक अवसर र प्राकृतिक स्रोतको समुचित उपयोग, नवप्रवर्तन, नीति र कार्यक्रमको कार्यान्वयन क्षमता तथा पारदर्शी प्रशासनको बलमा भजनीलाई समुन्नत, समावेशी र आत्मनिर्भर नगर बनाउनु हामी सबैको साझा लक्ष्य हुनु पर्छ ।
(लेखक न्यौपाने भजनी नगरपालिकामा अधिकृत छैठौंको रुपमा कार्यरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *