शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०६ जेठ/
टीकापुरलाई शैक्षिक नगरीको रुपमा स्थापित गर्न वीरेन्द्र बिद्या मन्दिर माद्यामिक बिधालय टीकापुरको भुमिका निकै महत्त्वपूर्ण छ ।
शैक्षिक क्षेत्रमा आधा दशक भन्दा लामो अनुबन्ध बोकेको वीरेन्द्र बिद्या मन्दिर माद्यामिक बिधालयले उत्पादन गरेको जनशक्ति सरकारको प्रमुख देखि अनेक ओहोदामा रहेर काम गरिरहेका छन् । कुनै बेला वीरेन्द्र बिद्या मन्दिर नाम नभएर शैक्षिक क्षेत्रको ब्राण्ड थियो । त्यसलाई जीवन्त राख्न नसक्दा आज बिधालय राजनीतिक खिचातानीले निकै ठुलो संकटमा गुज्रिएको छ । संस्थाकै नेतृत्व गर्नेदेखि त्यहीँ संस्थालाई जवाफदेही बनाउँदै सयौं बिद्यार्थीको भविष्यलाई सुनौलो संसार देखाउन लागिपरेका शिक्षकहरुको गैरजिम्मेवार कार्यशैलीले वीरेन्द्र बिद्या मन्दिर गम्भीर संकटमा फसेको देखिन्छ ।
बिद्यालय व्यवस्थापन समितिको अध्यक्षले बिद्यालयलाई हेर्ने दृष्टिकोण, त्यहीँ बिद्यालयबाट पारिश्रमिक खाएर त्यसै माथी प्रश्न गर्ने शिक्षक, अनेक बाहनामा बिद्यालयबाट व्यक्तिगत फाइदा उठाइरहेकाहरुकै कारण बिधालयको भविष्य अन्योलमा छ । त्यसै अन्योलका बीचमा बिधालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा कैलाली जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख इश्वरी प्रसाद ज्ञवालीले गरेको टिप्पणीले बिधालयको शैक्षिक भविष्य प्रती झन चिन्ता थपिएको छ ।
के भने ज्ञवालीले ?
शिक्षा समन्वय इकाईका प्रमुख इश्वरी प्रसाद ज्ञवालीले सोमबार बिधालयमा कार्यरत शिक्षकहरुको लापरबाहीका कारण वीरेन्द्र बिद्या मन्दिर धराशायी बन्दै गएको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए । उनले लेखेका छन्, “वीरेन्द्र त गयो अब । एकदुई वर्ष कक्षा ११ र १२ मा अन्य भर्ना हुन नसकेका विद्यार्थीहरु आउलान । शिक्षकहरु त्यहाँ पढाउँदैनन । प्रअ प्रेम चौधरीले दिउँसो आरएमईमा पढाएका एसईईमा सबै पास,वीरेन्द्रमा फेल । शिक्षकहरुको लापरबाहीले सीमा नाघिसक्यो । बुढानिलकण्ठले उत्कृष्ट बच्चा छानेर दिएका बच्चा समेत एसईईमा फेल हुने गरी बिगारे शिक्षक टिमले ।”
यसविषयमा ज्ञवालीलाई प्रश्न गर्दा उनले बिधालयको शैक्षिक गुणस्तर माथी आफुले प्रश्न उठाएको बताएका छन् । शिक्षकहरु बिधालय प्रती जिम्मेवार नहुँदा बिधालयको भविष्य संकटमा रहेको आम नागरिकहरूले समयमै जानकारी पाउन भनेर सामाजिक सञ्जालमा कमेन्ट गरेको उनको भनाई छ । “आज वीरेन्द्रको नतिजा हेर्दा सामुदायिक बिधालयको भन्दा कम्जोर छ । त्यहाँ कार्यरत प्रधानाध्यापक नै बिधालय समयमा निजि बिधालयमा बिद्यार्थी अध्यापन गर्न जानुहुँन्छ ।” उनले भने, “प्रशासन प्रमुख नै गैरजिम्मेवार बन्दा बिधालयको भविष्य सुन्दर छ भन्न सकिन्छ त ?”
बिधालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष ज्ञवालीले एक वर्ष बिधालयको शैक्षिक तथा प्रशासनिक सुधारका लागि कैयौं प्रयास गर्दा पनि सफल हुन नसकेको गुनासो गरे । “मैले निर्देशन दिने भनेको प्रधानाध्यापकलाई मात्रै हो । शिक्षकहरुलाई प्रधानाध्यापकले त्यसैअनुसार गाइड गर्नुपर्ने हुन्छ ।” उनले भने, “म अध्यक्ष भएदेखि राम्रो गर्नकै लागि यसभन्दा पहिलेका प्रधानाध्यापकलाई कारबाही गर्दै पद छोड्न मैले नै निर्देशन दिएको हो ।”
प्रधानाध्यापक चौधरीको भनाई के छ ?
बिधालयका निमित्त प्रधानाध्यापक प्रेमबहादुर चौधरीले आफ्नो सबै जानकारी दिएर नै पदमा बसेको बताएका छन् । प्रधानाध्यापक चौधरीले आरएमई स्कुलमा चार पिरिएड लिँदै आएक बताउँदै गत शैक्षिकसत्रसम्म बिधालयसँग भएको सम्झौता अनुसार अध्यापन गराएको स्विकार गरे । “मलाई निमित्तको जिम्मेवारी दिँदा म आरएमईमा दिउँसोको समय अध्यापन गराउँदै आएको थिए । मैले त्यस बेला पनि आरएमईले दिइएको जिम्मेवारी बीचमा छोड्न नसकिने बताएको थिए । उहाँहरुले त्यसमा केही फरक नपर्ने बताएका थिए ।” उनले भने, “पछि वीरेन्द्रमा कामको चाप भएपछि मैले चार पिरिएडमा दुई पिरिएड अर्को शिक्षकलाई जिम्मा दिएर दुई पिरिएड अध्यापन गराएको हो । अहिले छोडिसके ।”
बिधालय प्रती सुरुवाती अवस्थादेखि नै सकारात्मक भुमिका ज्ञवाली नदेखिएको बताउँदै उनले बिधालयमा भाडभैलो मच्चाउने र बिधालयमा आउने विद्यार्थीको ध्यान अन्त तान्ने षड्यन्त्र भैरहेको आरोप लगाए । बिद्यार्थी अनुत्तीर्ण भएको विषयमा प्रधानाध्यापक चौधरीले गत वर्षको मध्यान्तर तिर आफुले प्रशासनिक जिम्मेवारी लिएको बताउँदै एसईईको नतिजालाई लिएर प्रश्न गर्नेहरूले कक्षा ८ को परिक्षाको नतिजाको प्रशंसा किन नगरेको भन्दै प्रश्न गरेका छन् ।
बिधालयको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा निवर्तमान अध्यक्षले कुनै सहयोग नगरेको आरोप पनि प्रधानाध्यापक चौधरीले लगाएका छन् । “चालू आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेट अझैसम्म अनुमोदन भएको छैन । लेखापरीक्षणका लागि लेखापरीक्षक नतोक्दा लेखापरीक्षण रोकिने स्थितिमा टीकापुर नगरपालिकाबाट लेखापरीक्षण गरियो ।” उनले भने, “हरेक ठाउँमा स्वार्थ खोज्ने, आफू अनुकुल मात्रै काम गर्न खोज्ने, खरिदका सामान महंगो भए पनि आफै भनेअनुसार खरिद हुनुपर्ने जस्ता कुरा हुन नदिएपछि उहाँ हामीसँग टाढिनु भएको पक्कै हो ।”
वीरेन्द्र बिद्या मन्दिर सार्वजनिक शैक्षिक गुठिले क्याम्पस क्षेत्रलाई मात्रै प्राथमिकता दिएको आरोप बिधालयको छ । सार्वजनिक शैक्षिक गुठीमा आबद्ध व्यक्ति देखि त्यसै विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुले टीकापुरमै निजि बिधालय सञ्चालन गर्दै आएका छन् । जिल्ला शिक्षा समन्वय इकाईको प्रमुख बिधालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था भए पनि हालै गरेको सरकारको निर्णयले बिधालय व्यवस्थापन समिती विहीन बनेको छ । बिधालयमा हाल ६२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने पार्ट टाइम काम गर्ने अन्य शिक्षकहरु पनि बिधालयमा कार्यरत छन् ।









