भलिबलका राष्ट्रिय प्रशिक्षक बिष्णुको परिवार नै भलिबलमा

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २२ फागुन /
नेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले पनि हुनसक्छ भलिबल निकै लोकप्रिय खेल मानिन्छ । नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल युवा पुस्ता देखि पाको पुस्तासम्म निकै रुचाइएको खेल हो । केही वर्ष पहिले भलिबल भन्दा अरु खेलहरु देख्न पनि निकै कम पाइन्थ्यो ।
स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गर्नुभएका बिष्णु प्रसाद चौधरीको खेल जिबन निकै रोचक छ । भलिबललाई नजिकबाट नियाल्नुभएका कैलारी गाउँपालिका वडा नं. ७ का चौधरीसँग २० वर्ष राष्ट्रिय भलिबल खेलाडीको रुपमा रहेर काम गरेको अनुभव छ । बिधालय पढ्दै गर्दा खेल क्षेत्रमा लाग्नुभएका बिष्णुको सरकारी जागिरले पनि खेल खेल्ने सपनालाई मार्न सकेन । उहाँले स्थानीय क्षेत्रमा भलिबल खेलमा उत्कृष्ट भएकै कारण स्थानीय क्षेत्रमा धेरै समय बेथित गर्नै परेन । २०४२ सालदेखि राष्ट्रिय भलिबल टिममा रहनुभएका बिष्णुले २० वर्षसम्म राष्ट्रिय भलिबल टिममा रहेर भलिबल खेल्नुभयो । नेपाल विद्युत प्राधिकरणमा जागिर हुँदा पनि उहाँले जागिरकै कारणले कुनै खेल छुटाउनु परेन ।
“मैले भलिबल खेललाई नजिकबाट नियालेको छु । खेलकुद भन्दा ठूलो कुरा मेरालागि जिबनमा केही पनि भन्न सकेन । जागिर पनि यस्तो पाए, जति बाहिर हुँदा पनि कुनै अप्ठ्यारो महसुस नै नहुने ।” बिष्णुले भन्नुभयो, “विद्युत प्राधिकरण भित्रबाट पनि हामिले खेल्ने अवसर पाउने भएकोले मलाई अझै सहज भएको थियो । त्यसैले पनि मेरो खेलप्रतिको लगाव कहिल्यै कम भएन ।” राष्ट्रिय भलिबल टिममा रहँदै बिष्णुको छोरीले पनि महिला तर्फको राष्ट्रिय भलिबल टिममा अवसर प्राप्त गर्नुभयो । अचम्मको कुरा त के छ भने, बिष्णुका तीन छोरी र एक छोरा खेल क्षेत्रमै हुनुहुन्छ । त्यो पनि भलिबल मै ।
साफ चेम्पेन्सिममा दुई पटक बुवा र जेठी छोरी नेबिका चौधरीले सँगै सहभागिताको अवसर पाउनुभयो । बिष्णुकी जेठी छोरी नेबिका र संगिता चौधरी भलिबलको राष्ट्रिय महिला टिममा छन् । नेबिका अहिले पारिवारिक समस्याका कारण घरमा आराम गर्दै आएको बताउँदै बिष्णुले माइली छोरी भने अहिले पनि महिला राष्ट्रिय टिमबाट भलिबल खेल्दै आएको बताउनुहुँन्छ । “नेबिका र मैले दुईपटक सँगै साफ चेम्पेन्सिपमा सहभागी भएका थियौं । म पुरुषबाट थिए भने छोरी महिला टिमबाट ।” बिष्णुले भन्नुभयो, “त्यो अवसर सम्भव कसैलाई पनि जुर्दैन होला । जुन मलाई जुर्यो ।”
बिष्णुका छोराले पनि प्रदेश स्तरिय थुप्रै प्रतियोगिता खेल्ने अवसर पाउनुभएको छ । अहिले पनि उहाँका छोरा आरिस चौधरी प्रदेश टिममा सहभागी हुनुहुन्छ । बिष्णुकी कान्छी छोरी बक्सिङमा राम्रो भएपनि परिवारका अन्य सदस्य भलिबल क्षेत्रमै भएका कारण उहाँले पनि बक्सिङ खेल छोडेर भलिबलमै केन्द्रित भएको बिष्णु बताउनुहुँन्छ । कान्छी छोरीले बक्सिङमा राष्ट्रिय स्तरको प्रतियोगितामा सम्म लड्नु भएको छ । गाउँपालिकामा अहिले भलिबल प्रशिक्षण केन्द्र खोलेर युवाहरूलाई भलिबल सिकाउँदै आउनुभएका चौधरीले भलिबल खेलका लागि आफ्नो क्षमताले भ्याएसम्म लागिरहने बताउनुभयो ।
आफ्नो खेलप्रतिको लगावले छोराछोरीलाई पनि खेल क्षेत्रमा लाग्न प्रेरित गरेको बताउँदै बिष्णुले खेलाडीहरुको भबिस्य भने अझै सुनिश्चित हुन नसकेको बताउनुभएको छ । “खेलाडीहरु उत्पादन नभएको भने होईन । नेपालमा पनि थुप्रै खेलाडीहरु उत्पादन भएका छन् ।” बिष्णुले भन्नुभयो, “खेलाडीहरुको संरक्षण भने हुन सकेको छैन । जसका कारण खेलाडीहरुको सुनिश्चितता हुन सकेको छैन ।” स्थानीय सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताउँदै बिष्णुले खेलाडी उत्पादनको मुख्य आधार नै स्थानीय सरकार भएको बताउनुभयो ।
उहाँले नेपालमा पुरुष भलिबल टिम भन्दा पनि महिला भलिबल टिमसँग बढी सम्भावना देखिएको बताउनुभयो । बिष्णुले पुरुष भलिबल टिमको प्रशिक्षणमा पनि निकै कमजोरी रहेको बताउनुभयो । “पुरुष भलिबल टिम पनि कम्जोर छ भन्न मिल्दैन तर उहाँहरुले प्रशिक्षण राम्रो पाइरहेको अवस्था छैन ।” बिष्णुले भन्नुभयो, “वर्षभरि बन्द प्रशिक्षणमा राष्ट्रिय टिमलाई राख्न सक्नुपर्छ । प्रतियोगिता हुँदा मात्रै प्रशिक्षण बोलाएर खेलाडी खेलमा पोख्त हुन सक्दैन ।”
अहिले बिष्णु राष्ट्रिय रेफ्रीको भुमिकामा हुनुहुन्छ । सुदुरपश्चिममा हुने अधिकांश भलिबल खेलमा उहाँले मुख्य रेफ्रीको भुमिका समेत निर्वाह गर्दै आउनुभएको छ ।

ताजा खबर

लाखौंको गरगहना सहित नगद चोरी

स्थापना दिवसको अवसरमा फलफुल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *