शेयेर गर्नुहोस
टीकापुर २९ साउन /
पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिती बनाउनुपर्ने बताउनुभएको छ ।
टीकापुरमा पत्रकारहरुसँगको छलफलमा पुर्व प्रधानमन्त्री भट्टराईले संरचनागत रुपमा समिती बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकोले पनि समिती आवश्यक रहेको बताउनुभएको हो । “उच्च पदस्थहरुबाटै पनि धेरै ठुला भ्रष्टाचार भएका छन् । ती सबै तथ्य अझै बाहिर आउन सकेका छैनन् ।” पुर्व प्रधानमन्त्री भट्टराई भन्नुहुन्छ, “दोषी कोहि छुट्नु हुँदैन । निर्दोष फस्नु हुँदैन भन्ने हो । भ्रष्टाचार विरुद्धको छानबिन गर्ने छुट्टै समिति नै बनाउन सके त्यसले भ्रष्टाचारलाई न्यूनीकरण गर्नमा मद्दत मिल्नेछ ।” सरकारले भ्रष्टाचारका विषयमा केही आशा लाग्दा काम गरेको भन्दै भट्टराईले सन्तुष्ट भैहाल्नुपर्ने स्थिति भने नरहेको बताउनुभएको छ । ललिता निवासी जग्गा प्रकरणको प्रसंगमा डा भट्टराईले कानुनले दोषी ठहर गरेमा कारबाही भोग्न तयार रहेको बताउँदै छानबिन निस्पक्ष हुनुपर्ने बताउनुभयो ।
उहाँले लोकतान्त्रिक गणतन्त्रको जगमा रहेर समाजवादीको दिशामा अगाडि बढ्नु अबको आवश्यकता भएको बताउनुभएको छ । पुर्व प्रधानमन्त्री भट्टराईले देशलाई अग्रगामी निकासको लागि संगठन निर्माण अभियानलाई सुदृढ बनाउँदै नागरिकहरूलाई त्यसको विकल्पका लागि तयार रहन आग्रह गर्नुभएको छ । “अब संरचनागत स्वरुप परिवर्तन हुनुपर्छ । केन्द्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपती र प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउने व्यवस्था लागू हुनुपर्छ ।” उहाँले भन्नुभयो, “हिजो पनि हामीले त्यहीँ कुरा उठाएका थियौं । आज पनि त्यहीँ कुरालाई जनता माझ लिएर जादैछौँ । अबको आवश्यकता त्यहीँ नै हो ।” उनले अबको आवश्यकता नै शासकीय स्वरुपको परिवर्तन हो भन्दै त्यसको विकल्पमा देश जान नसके ठूलो दुर्घटना हुनसक्ने चेतावनी समेत दिएका छन् ।
फरक प्रसंगमा पुर्व प्रधानमन्त्री भट्टराईले नेकपा माओवादी केन्द्रसँग कुनै हालतमा पार्टी एकता हुन नसक्ने बताएका छन् । उनले कार्यगत एकता भएपनि पार्टी एकता भएर माओवादीमा आफू जाने कुरा गलत भएको बताएका छन् । “हो कुनै कुरामा कार्यगत एकता होला । त्यो स्वभाविक कुरा हो, तर पार्टी नै एकता हुने कुनै सम्भावना छैन ।” उनले भने, “हामी आफ्नै एजेण्डा र अभियानका साथ देश दौडाहामा छौँ ।” उने नयाँ शक्ति निर्माणको क्रममा उपेन्द्र यादवसँग भएको सहकार्य नै सबैभन्दा ठूलो कमजोरी भएको बताएका छन् । “त्यो बेला ठूलो कमजोरी गरियो । त्यो बेलाको कमजोरी र बिचको समयमा भएका कमजोरीहरुलाई आत्मसात गर्दै जनताको माझमा आएका छौँ ।” डा भट्टराई भन्छन्, “अबको बाटो नयाँ वैकल्पिक शक्तिको उदयका लागि हिडेका छौँ । यो देशको आवश्यकता हो । जुन जनताले महसुस पनि गरिसकेका छन् ।”