शेयेर गर्नुहोस
भजनी २८ चैत /
भजनी स्थित मदरल्याण्ड इङलिस बोर्डिङ स्कुलको १५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
स्कुलका संस्थापक खडक बहादुर बुढाको अध्यक्षतामा भएको उक्त वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले शैक्षिक क्षेत्रलाई हेर्ने सरकारको नजर एउटै हुनुपर्ने धारणा राखेका छन् । सरकारले सामुदायिक र संस्थागत बिधालयलाई फरक ढंगबाट हेर्दै आएको बताउँदै चौधरीले शैक्षिक क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटै बनाउनुपर्ने बताएका हुन ।
“शिक्षामा सरकारले नै विभेद गर्दै आएको छ । सामुदायिक बिधालयमा अध्ययन गरेको बिद्यार्थीले पाउने सेवा सुविधा सरकारले संस्थागत बिधालयमा अध्ययन गरेको बिद्यार्थीलाई दिँदैन ।” उनले भने, “यो विभेद सबैभन्दा पहिले हट्नुपर्छ । अनि मात्रै शैक्षिक क्षेत्रको विकास सम्भव छ ।” संस्थागत बिधालयले गुणस्तरीय शिक्षाका साथै रोजगारी पनि सिर्जना गर्ने काम गरेको प्रदेशका पुर्व मन्त्री समेत रहेका चौधरीले बताए ।
“आज सामुदायिक बिधालयको भन्दा राम्रो शिक्षा संस्थागत बिधालयले प्रदान गरिरहेका छन् । उनीहरूले शिक्षाको साथसाथै रोजगारी सिर्जना समेत गरेका छन् ।” उनले भने, “त्यसकारण पनि राज्यले संस्थागत बिधालयलाई पनि सामुदायिक बिधालयसँगसँगै लैजानुपर्छ ।” उनले बालबालिकाहरुको भविष्य अभिभावकको हातमा हुने बताउँदै बिधालयमा मात्रै समर्पित नहुन आग्रह गरे । थारु समुदायमा अहिले पनि उच्च शिक्षामा न्युन सहभागिता देखिँदै आएको प्रती चौधरीले चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा भजनी नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख छाया देवकोटाले भजनीमा संस्थागत र सामुदायिक बिधालयहरुलाई एउटै ठाउँमा ल्याएर समन्वयको वातावरण आफुहरुले सिर्जना गरेको बताएकी छन् । उनले बिद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा आवश्यक भए पनि अहिलेको शिक्षाले विदेश जानको लागि शिक्षा दिएको जस्तो देखिन थालेको भन्दै चिन्ता व्यक्त गरिन ।
“हाम्रो शिक्षा जीवन उपयोगी हुनुपर्ने हो । रोजगारमुलक बन्नुपर्ने हो ।” उनले भनिन्, “त्यो हुन सकेको छैन । १२ कक्षा पास कसरी गर्ने अनि कसरी विदेश जाने भन्ने चिन्ता जस्तो मात्रै देखिन थालेको छ । यसको परिणाम निकै खतरनाक हुनसक्छ ।” देवकोटाले अभिभावकले आफ्ना बालबालिकाको हेरचाह अनि निगरानी समयमा गर्न सकिएन भने पनि भोलि अभिभावकलाई ठूलो संकट आइ पर्न सक्ने भन्दै समयमा सचेत हुन आग्रह गरिन ।
स्कुलले वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर बिद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरेको छ । साथै सोही अवसरमा शैक्षिकसत्र २०८१ को वार्षिक परिक्षाको नतिजा समेत सार्वजनिक गरेको छ । विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ स्कुलको वार्षिकोत्सब सम्पन्न भएको स्कुलका संस्थापक बुढाले जानकारी दिएका छन् । स्कुलका शिक्षक डम्बर दत्त जोशीले सञ्चालन गरेको कार्यक्रमको स्वागत स्कुलका पृन्सिपल सुवास चौधरीले गरेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।










