मन्त्री हाम्रै छन् अब लालपुर्जा पाउँछौं की”

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २२ असार/
राजकुमार चौधरी टीकापुर नगरपालिका वडा नं. १ शक्तिनगर शिविरमा बस्दै आउनुभएको छ ।
निर्वाचनको समयमा दैनिक चहलपहल हुने उहाँको घर तथा आसपासको क्षेत्र यतिबेला सुनसान छ । एकातिर असारको व्यस्तता अर्कोतिर चुनाव पनि सकियो । भोट माग्न निर्वाचनको समयमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधि दैनिक भोट माग्नको लागि राजकुमारको घरमा आउने गरेको भएपनि निर्वाचन सकिएपछि शिविरमा कुनै राजनीतिक दलका प्रतिनिधि पुगेका सुन्न पाइएको छैन । पछिल्लो समय आफुले भोट हालेर जिताएका सांसद मन्त्री भएको खबरले भने आशा जागेको उहाँको भनाइ छ । “कसले चुनाव जित्यो, कसले हार्यो त्यो ठुलो कुरा भएन । जुन वर्षौदेखि भोग्दै आएको समस्या छ, त्यो पूरा हुन्छ भन्ने आशा बढेको छ ।” राजकुमार भन्नुहुन्छ, “किनभने हाम्रो क्षेत्रले मन्त्री पाएको छ ।”
कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारको भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री हुनुहुन्छ । उहाँले टीकापुर नगरपालिका भित्रका सात शिविरका नागरिकहरूलाई जतिसक्दो छिटो लालपुर्जा दिएर जग्गाको मालिक बनाउने बाचा निर्वाचनको समयमा गरेको स्थानीय भागीराम चौधरी बताउनुहुँन्छ । “हाम्रा लागि यो संयोग भन्नुपर्छ । निर्वाचनको समयमा माननीय ज्युले हामीसँग जग्गाको मालिक बनाउने बाचा गर्नु र आज त्यहीँ मन्त्रालयको जिम्मेवारी पाउनु ।” उहाँ भन्नुहुन्छ, “आशा छ, अब हामीले जग्गा पाउँछौं । वर्षौदेखिको सपना अब पूरा हुन्छ भन्ने विश्वास छ ।”
यसभन्दा पहिले नै सरकारले मुक्तकमैया, भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको प्रक्रिया अगाडि बढासकेको छ । टीकापुर नगरपालिकामा पनि तथ्यांक संकलनको काम यसअघि नै भैसकेको छ । बाँकी प्रक्रियाको काम पनि भैरहेको नगरपालिकाले बताएका छ ।
करिब डेढ दशकदेखि शिविर बस्तीका नागरिकहरुलाई एउटै अपेक्षा छ त्यो भनेको उचित बसोबास । त्यो पनि जुन जग्गा अहिले भोगचलन गर्दै आएका छन्, त्यहीँ जग्गा । निर्वाचनको समयमा शिविरलाई बढी लक्षित गरेर उम्मेदवारहरुले गतिविधि बढाउने गरेको भएपनि सुकुम्बासीहरुका समस्या समाधान हुन नसक्दा आफुहरु भोट बैंकको रुपमा मात्रै प्रयोग हुँदै आएको गुनासो स्थानीयको छ ।
सोही ठाउँका भोजराज चौधरी सुकुम्बासी वस्तीको समस्या समाधान गर्छु भनेर आउनेहरू प्रति गुम्दै गएको विश्वास पुनः जिवित भएको बताउनुहुँन्छ । “१७ वर्षदेखि त्यहीँ एउटै कुरा सुन्न पाइन्छ, हामीले जितेपछि सुकुम्बासीका सबै समस्या हामी समाधान गर्छौं । वर्ष १७ बिते तर यो १७ वर्ष बिताउन ७० वर्षजस्तो लागेको छ ।” भोजराजले भन्नुभयो, “ती सबै चुनाव अगाडिका कुरा मात्रै थिए । चुनाव सकिएपछि शिविरमा फर्केको भने छैन । आज आफ्नै क्षेत्रले मन्त्री पाएको बेला आश लाग्नु स्वभाविक हो । तर विश्वास भने अझै छैन ।”
नगरपालिकामा भने ९ हजार ९ सय ३५ परिवारले फारम भरेको तथ्यांक छ । जसमध्ये अव्यवस्थित बसोबासीको संख्या धेरै छ । ६ हजार ७ सय ६८ परिवारले अव्यवस्थित बसोबासीको फारम भरेका छन् । भुमीहिन दलितमा एक हजारवेक सय ६३ परिवार र भुमीहिन सुकुम्बासीमा दुई हजार चार परिवारले फारम भरेको नगरपालिकाकी सुचना अधिकारी रञ्जु आचार्यले बताउनुभएको छ । उहाँका अनुसार स्थानीय तहको निर्वाचन भएपछि अधुरो रहेको कामलाई निरन्तरता दिन अलमल भएपछि काममा ढिलाइ भएको छ । “निर्वाचन अगाडि हामीले तथ्यांक संकलनको काम सम्पन्न गरेका थियौं । त्यतिबेला संकलन भएका फारमहरुको प्रमाणीकरणमा अलमल हुँदा पनि ढिलाई भएको हो ।” आचार्यले भन्नुभयो, “अहिले फारम प्रमाणीकरण भैसकेको छ । फारम अन्लाईनमा चडाउने काम भैरहेको छ ।”
सबैभन्दा बढी तथ्यांक नगरपालिकाको वडा नं. १ मा छ । वडामा अव्यवस्थित बसोबासी, भुमीहिन दलित र भुमीहिन सुकुम्बासी गरी चार हजार ७ सय २१ जनाले फारम भरेका छन् । जसमध्ये अव्यवस्थित बसोबासी सबैभन्दा बढी अर्थात दुई हजार चार सय ७८ रहेका छन् । त्यस्तै भुमीहिन दलित ९ सय ३४ परिवारले फारम भरेका छन् भने भुमीहिन सुकुम्बासीमा एक हजार तीन सय ९ परिवारको तथ्यांक संकलन भएको वडा अध्यक्ष मोहन विकले बताएका छन् । “हामीले अहिले पनि त्यहीँ काम गरिरहेका छौँ । अव्यवस्थित बसोबासी बाहेकका सबैको फारम प्रमाणित भैसकेको छ । जग्गाको क्षेत्र निर्धारणको काम पनि सम्पन्न भैसकेको छ ।” वडा अध्यक्ष विकले भने, “साउनबाट संकलन भएको तथ्यांकलाई अनलाइन सिस्टममा राख्ने काम सुरु गर्ने छौं । वडाबाट हुने काम लगभग अन्तिम चरणमा छ ।”
नगरपालिकामा भने ९ हजार ९ सय ३५ परिवारले फारम भरेको तथ्यांक छ ।
मन्त्री सहित कैलाली क्षेत्र नं. १ बाट समानुपातिकमा केन्द्रिय सदस्य इश्वरी न्यौपाने, माओवादी केन्द्रबाट रुपा चौधरी, राष्ट्रिय सभा सदस्यमा एकीकृत समाजवादी पार्टीबाट गरिमा शाह लगायत पाँच जना संघीय सांसद भएपछि सुकुम्बासीहरुको जग्गाको प्रमाणपुर्जा पाउने आशा गर्नु स्वभाविक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *