शेयेर गर्नुहोस
टीकापुर १३ बैशाख /
टीकापुर स्थित कैलाशेश्वर शिव मन्दिर पुनःनिर्माणका लागि महायज्ञ सञ्चालन गरिने भएको छ ।
शिव मन्दिर र यज्ञशाला जिर्ण बन्दै गएपछि त्यसको पुनःनिर्माणका लागि मन्दिर व्यवस्थापन समितिले जेठ ७ गतेदेखि १३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागेको हो । मंगलबार पत्रकार सम्मेलन मार्फत महायज्ञ सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् । “मन्दिरको स्थिति निकै नाजुक बन्दै गएको छ । कतिखेर भत्किन्छ त्यो भन्न सकिने स्थिति छैन ।” अध्यक्ष तिमिल्सिना भन्छन्, “कतै कार्य गर्दागर्दै अप्रिय घटना घट्न सक्ने स्थिति पनि छ । त्यसकारण मन्दिर निर्माणका लागि महायज्ञ सञ्चालन गर्नुपर्ने सुझावअनुसार कार्य अगाडि बढाएका हौं ।”
उनले टीकापुर नगरपालिकाले मन्दिरको गुरुयोजना तयार पारेको बताउँदै गुरुयोजना अनुसारको संरचना निर्माणका लागि करिब तीन करोड लागत लाग्ने बताएका छन् । “शिव मन्दिर टीकापुरको ऐतिहासिक मन्दिर हो । सबैभन्दा बढी कर्महरु यसै मन्दिरमा हुन्छन् ।” अध्यक्ष तिमिल्सिनाले भने, “मन्दिर कसैको नजरमा पर्न सकेको छैन । संरचना निर्माणमा कसैको ध्यान पुग्न सकेको छैन ।” महायज्ञ सञ्चालनका लागि अध्यक्ष तिमिल्सिनाको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ भने, मुक्तिनाथ रेग्मीको संयोजकत्वमामा आर्थिक समिती गठन भएको छ । अन्य उपसमिति बनाउने काम भैरहेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि एक सय एक इट्टा सहयोग अभियान समेत सञ्चालन गरेको समितीका कोषाध्यक्ष नारायण प्रसाद भट्टराईले बताएका छन् ।