मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २० चैत /
किसानका लागि सबैभन्दा ठूलो समस्या सामुदायिक छाडा पशु चौपाया हो । पशु चौपायाका कारण किसानहरुले लगाएको अन्न बाली सकुशल कहिल्यै भित्र्याउन पाएका छैनन् । चौपायाको समस्या समाधान गरी किसानलाई सहज बनाउन स्थानीय तहले चौपाया व्यवस्थापनको प्रक्रिया थाल्यो । छाडा छोडिएका चौपायालाई एकीकृत गरेर व्यवस्थापन गर्ने स्थानीय सरकारको योजना बर्सेनि फेल हुँदै गएको छ ।
अहिले त स्थानीय तहले चौपाया व्यवस्थापन भन्दा तिनलाई मार्ने काम गरेको भन्दा फरक नपर्ला । लाखौं खर्च हुँदा त्यसको प्रतिफल शून्य हुँदा किसानले स्थानीय तहलाई र स्थानीय तहले किसानलाई दोष लागाउने काम भन्दा बढी उपलब्धि हुन सकेको छैन ।
कैलालीको जानकी गाउँपालिका वडा नं.१ दुर्गौलीमा पनि स्थिति त्यहीँ देखिएको छ । गाउँपालिकाको कार्यालयबाट करिब तीन सय मिटरको दुरीमा गौशाला बनेको छ । केही समय किसानको अन्न बाली जोगाउनको लागि बनेको गौशालामा गाउँपालिका र स्थानीय किसानको लगानी छ । संयुक्तरुपमा लगानी भएको गौशाला बाहिरबाट निकै सुन्दर देखिए पनि त्यसभित्रको नाजुक अवस्थाको बारेमा समिती र गाउँपालिका कोही जानकार छैन । मरेका चौपाया व्यवस्थापन हुन सकेका छैनन् । दुर्गन्धले गौशाला आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । नाक छोपेर हिड्नुपर्ने स्थिति रहेक्प स्थानीय महेश चौधरी बताउनुहुँन्छ ।
“मैले जिल्ला समन्वय समितिको पहिलो बैठकमै सामुदायिक चौपाया व्यवस्थापनका लागि सबै पालिकाले काम गर्ने गरी निर्णय गराएको थिए । त्यसलाई कार्यपालिकाको बैठकमा पनि छलफलमा ल्याए ।” गाउँपालिकाका अध्यक्ष गणेश चौधरी भन्नुहुन्छ, “त्यसैअनुसार स्थानीयको पनि लगानी रहनेगरी काम सुरु भएको थियो । चौपाया व्यवस्थापन गर्ने कुरा सहज थिएन र समाधानतिर लैजान सकिएन ।”
उहाँले चौपाया व्यवस्थापन समितिले माग गरेअनुसार गाउँपाकिकाले सहयोग गरेको बताउँदै सबै काम गाउँपालिकाको स्रोत र साधनले नभ्याउने बताउनुभयो । “वडा स्तरबाट चौपाया व्यवस्थापन गर्नेगरी काम सुरु भएको हो । त्यसमा हाम्रो मात्रै लगानी नरहनेगरी समुदायको पनि लगानी हुनेगरी काम अगाडि बढाएका थियौं ।” अध्यक्ष चौधरीले भन्नुभयो, “आज दोषी गाउँपालिका मात्रै देखिन्छ । दोष हाम्रो छैन । जसले गलत गरेको छ त्यसैले बिरोध गर्ने काम भएको छ ।” अध्यक्ष चौधरीले मरेको गाईको व्यवस्थापनका लागि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।
गौशाला भित्र मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्रका स्थानीयलाई बस्न समेत गाह्रो भएको स्थानीय बपल रावत बताउनुहुँन्छ । “मरेका गाईको व्यवस्थापन नहुँदा आसपासक क्षेत्र दुर्गन्धित बनेका छन् । त्यसमा समिती पनि जिम्मेवार बन्न सकेको छैन । गाउँपालिकाका कुरै छोडौं ।” रावत भन्नुहुन्छ, “खोलामा पानी सुक्दा पानी चौपायाले पानी पाएका छैनन् । आहारा केही छैन । खान नपाएर दैनिक चौपाया मरिरहेका छन् ।”
उसो त वडा नं. १ मा गौशाला व्यवस्थापनकै लागि स्थानीय कृषकबाट चन्दा संकलनको काम पनि भैरहेको छ । गाउँका बडघर मार्फत चौपायाको आहाराका लागि स्थानीयबाट प्रती घर एक सयका दरले रकम संकलन भैरहेको वडा नं. १ का वडा अध्यक्ष सुरेश कुमार चौधरी बताउनुहुँन्छ । स्थानीयबाट संकलन भएको रकमले जग्गा भाडामा लिएर घाँस खेती गर्ने योजना चौपाया व्यवस्थापन समितिले बनाएको छ । चौपाया व्यवस्थापनलाई व्यवसायमा जोडेर आम्दानीको योजनाको कुरा वडा अध्यक्ष चौधरी सुनाउनुहुँन्छ ।
काम गर्न योजना र चाहना हुँदाहुँदै पनि वडा कार्यालयबाट काम गर्न सक्ने स्थिति नरहेको उहाँको गुनासो छ । आर्थिक रुपमा वडालाई कुनै अधिकार प्रत्याभूत नभएका कारण गाउँपालिकाको निर्देशन कुर्नुपर्ने उहाँ बताउनुहुँन्छ । “वडाका जनप्रतिनिधिहरु करारका कर्मचारी जस्तै छन् । निर्देशनअनुसारको काम गर्नुपर्ने समय सकिएपछि निस्कनुपर्ने ।” वडा अध्यक्ष चौधरीले भन्नुभयो, “नितिगत र आर्थिक निर्णयमा वडाको कुनै कुरा चल्दैन । वडाको आफ्नो स्रोत छैन । गाउँपालिकामा हाम्रो कुराको सुनुवाइ हुँदैन ।”
उहाँले गाउँपालिका र वडाको दुरी निकै टाढाको रहेको बताउँदै चौपाया व्यवस्थापनमा ब्याक्तिगत रुपमा हुने सहयोगमा आफुले निरन्तरता समन्वय गरेको भएपनि गाउँपालिका त्यसबाट पन्छिने काम गर्दै आएको दुख व्यक्त गर्नुभयो । “गाली खाने र जवाफ दिने ठाउँमा मात्रै हामी छौं । काम कसले कताबाट बिगारेको छ त्यसको खोजी गर्ने कोहि छैन ।” वडा अध्यक्ष चौधरी भन्नुहुन्छ, “नागरिकहरूले ठूलो अपेक्षा गरेका हुन्छन् । गाउँपालिकामा पनि हाम्रो सुनिदिने कोहि छैन । हाम्रो बहुमत छैन ।”
यो समस्यामा जानकी गाउँपालिका एक उदाहरण मात्रै हो । चौपायाव्यवस्थापनमा कैलाली तथा कञ्चनपुरका स्थानीय तह चुक्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *