मलको खोजीमा किसानको दौडधुप

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १३ मंसिर /
कैलालीको टीकापुर नगरपालिका वडा नं.६ का रामकृष्ण चौधरी एका बिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहज रुपमा रासायनिक मल नपाउँदा रामकृष्ण मलका लागि लाइनम बस्नुभएको हो । लाइनमा रामकृष्ण जस्तै दर्जनौं किसानहरु लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । सहकारीले मल उपलब्ध गराउने भएपछि लाइनमा बसेको रामकृष्ण बताउनुहुँन्छ ।
“खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहज रुपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन ।” रामकृष्णले भन्नुभयो, “बजारमा मल पाइँदैन । सहकारीहरुले पनि आफ्ना सेयर सदस्यहरुलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छोड्नु भएको छ । उहाँ मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउनुहुँन्छ ।
“खेत जोतेको हप्ता दिन भन्दा बढी भैसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन ।” लक्ष्मणले भन्नुभयो, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जागर पनि लाग्दैन ।” भजनी नगरपालिका वडा नं. ६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनको लागि बाहिर जाने तयारीमा हुनुहुन्छ । हिउँदे खेती लगाइसकेपछी चार/ पाँच महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नको लागि कमाउन जाने तयारीमा रहनुभएक सुरेशलाई मल नपाउँदा समस्या भएको छ । उहाँले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आउनुभएकोमा जसोतसो पाँच बिघा मात्रै गहुँ छर्न सफल भएको बताउनुभयो ।
“समयमै मल पाएएको भए सबै खेतमा गहुँ छरिसकिन्थ्यो । मल नहालेर गहुँ छरे भन्दा नछरे जस्तै हो ।” सुरेशले भन्नुभयो, “मल नपाउँदा यता खेती पनि सयममा लगाउन सकिएन भने उता कमाउन जाने भनेको ठाउँमा पनि जान सकिएको छैन ।” भजनीका गणेश साउँदको समस्या पनि उस्तै छ । उहाँले हिउँदे बाली लगाइसक्नुभयो, तर निकै मिहेनत गरेर । स्थानीय बजारमा रासायनिक मल नपाएपछि निकै कष्टका साथ छिमेकी बजार भारतबाट मल ल्याएर खेती लगाउनुपरेको उहाँ बताउनुहुँन्छ ।
“स्थानीय बजारमा मल पाइएन । मल भएका सहकारीले हामीलाई मल दिएन ।” गणेशले भन्नुभयो, “नभन्नुपर्ने कुरा हो तर लुकि चोरी भारतबाट मल ल्याएर खेती लगाउनुपर्ने बाध्यता भयो ।” स्थानीय बजारमा रासायनिक मलको चरम अभाव छ । मल खरिदका लागि अख्तियारी पाएक सहकारीले माग भएअनुसारको मल खरिद गर्न पाएका छैनन् । मुख्य आपूर्तिकर्ताको रुपमा रहेका कृषि सहकारीहरुमा दैनिक किसानहरु सहकारी धाउने गरेका छन् ।
बर्दियाको राजापुरका भीमबहादुर चौधरी मल पाइछ भनेर कैलालीको जानकी गाउँपालिका वडा नं.४ मा रहेको बिज वृद्धि कृषक सहकारी संस्थामा पुग्नुभयो । सहकारीमा मल नपाएपछि उहाँ रित्तो हात फर्किनुपरेको बताउनुहुँन्छ । “कताकता मल पाइन्छ भन्ने खबर सुनेपछि मलको लागि यहाँ आएका हौं । यता पनि मल रहेनछ ।” भीमबहादुरले भन्नुभयो, “बर्दियामा मल नपाउँदा कैलाली पुगियो तर पनि मल पाइएन । अब खेती कसरी लगाउने ?”
बिज वृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादनको काम गर्छ भने रासायनिक मल खरिदबिक्रीको काम पनि गर्दै आएको छ । अन्य कृषि सहकारीको भन्दा बढी मात्रामा मल बिक्री गर्दै आएको सहकारीले पनि माग भएबमोजिम मल नपाउँदा किसानलाई रित्तै फर्काउनुपरेको बताएको छ । सहकारीका व्यवस्थापन गोविन्द राज रावतले बिज वृद्धिका लागि बीउ उत्पादन गर्ने किसानलाई नै मल पुर्याउन नसकिएको बताउनुभयो । “मलको निकै अभाव छ त्यसमा पनि डिएपी मल पाइदैन । ” रावतले भन्नुभयो, “मल नपाएका कारण खेती गर्ने समय बित्दै गएको छ । किसान मलको खोजिमा दौडधुप गर्दैछन् ।”
टीकापुर नगरपालिका वडा नं. ८ मा रहेको धनसिंहपुर कृषि सहकारी संस्थाले पनि किसानहरुको माग अत्याधिक भएका कारण मलको आपूर्ति गर्न नसकेको संस्थाका अध्यक्ष धनसिंह साउँद बताउनुहुँन्छ । “मल बिक्रेता डिपोले ५०/६० कट्टा मल दिन्छ । एउटै किसानलाई १०/१२ कट्टा मल चाहिएको हुन्छ । कसरी पुर्याउन सकिन्छ यस्तो अवस्थामा ?” साउँदले भन्नुभयो, “किसानको समस्या प्रती राज्य गम्भीर नहुँदा बर्सेनि यस्ता समस्याको सिकार किसान हुनुपरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *