महाधिवेशन प्रतिनिधिमा थापाको उम्मेदवारी

शेयेर गर्नुहोस


टीकापुर ०६ असोज /
टीकापुर । नेपाली विद्यार्थी संघको राजनीतिमा एक दशकभन्दा लामो समयदेखि सक्रिय युवा नेता नृप जंग थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. १ बाट ३५ वर्षमुनिको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
विद्यार्थी जीवनदेखि नै अन्याय, अत्याचार र विभेदका विरुद्ध आवाज उठाउँदै आएका थापाले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेको बताएका छन् । वि.सं. २०७० सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका थापा २०७९ सालको स्ववियु निर्वाचनमा टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
विद्यार्थी राजनीतिलाई केवल पद र प्रतिष्ठाको माध्यम नभई विद्यार्थीका अधिकार, शैक्षिक सुधार र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने प्रयास गरेको थापाको दाबी छ । उनको नेतृत्वकालमा क्याम्पसमा विभिन्न रचनात्मक तथा विद्यार्थीमुखी गतिविधिहरू सञ्चालन भएको बताइन्छ ।
थापाको राजनीतिक यात्रामा अर्को उल्लेखनीय प्रशंसाको आधार २०८१ सालको स्ववियु निर्वाचन भएको उनी बताउँछन् । त्यस निर्वाचनमा सात विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै उनले आफ्नो राजनीतिक प्रभाव र संगठनात्मक क्षमताको परिचय दिएका बताइन्छ ।
शैक्षिक रूपमा पनि थापा निरन्तर अध्ययनमा छन् । उनले अर्थशास्त्रमा आई.ए. तथा समाजशास्त्रमा स्नातक तह पूरा गरेका छन् भने हाल विकास अध्ययनमा स्नातकोत्तर (एम.ए.) अध्ययनरत छन् । विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको राजनीतिक यात्रा अब पार्टीको मूल राजनीतिक संरचनातर्फ अघि बढ्ने क्रममा देखिएको छ । लामो समय विद्यार्थीका बीचमा रहेर काम गरेका थापाले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै महाधिवेशनमा पुग्ने आकांक्षा अघि सारेका छन् ।
उनले उम्मेदवारीसँगै कैलाली क्षेत्र नं. १ मा युवा पुस्ताको राजनीतिक प्रतिनिधित्व, विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश तथा नयाँ पुस्ताको भूमिकाबारे बहस समेत सुरुवात गरेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *