महासंघका पदाधिकारीलाई स्वागत

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर २८ चैत /
यही २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको सुदूरपश्चिम तथा जिल्ला शाखाका लागि टीकापुरबाट निर्वाचित पदाधिकारीहरुलाई सञ्चार समूह टीकापुरले बधाइ तथा स्वागत गरेको छ ।
शुक्रबार टीकापुरमा भएको बधाइ तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित योगेश रावलले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा विवेकले भ्याएसम्मको काम गर्ने बताएका छन् । ‘टीकापुरको तागतकै कारण मैले उम्मेद्वारी पाएँ र ९ जिल्लाकै पत्रकारहरुसँगको राम्रो सम्बन्धले अध्यक्षको जिम्मेवारी प्राप्त भयो ।’ अध्यक्ष रावलले भने, ‘म यो वा त्यो गर्छु भनेर भन्दैन । राम्रोलाई बिगार्ने छैन । बिग्रेकोलाई सुधार्ने प्रयत्न गर्नेछु ।’
उनले आफूसँग टीकापुरको पनि नाम जोडिएको बताउँदै नेतृत्वलाई संयमित र पत्रकारको हक, हितका लागि जुन ढंगबाट निर्वाचनमा गइयो, त्यसैअनुसार सबैको समन्वय र सहकार्यबाट अगाडि बढ्ने बताएका छन् ।
कार्यक्रममा सञ्चार समूहका अध्यक्ष दीपक थापाले टीकापुरका पत्रकारको एकतालाई जिल्लाले सधैं मूल्याङ्कन गर्ने गरेको बताउँदै त्यसलाई अझै सशक्त बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् । पत्रकार तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले टीकापुरमा पत्रकारको एकता कायमै रहेको बताउँदै सबैको भावना समेटिने गरी टीकापुरले सम्मानजनक पद पाउँदै आएको बताएका छन् । उनले पत्रकारमा पनि पुस्ता हस्तान्तरणसँगै युवाहरुमा जिम्मेवार बनाउँदै आएको भन्दै नेतृत्वमा रहेकाहरुले पीडा सहन सक्नु पर्ने बताएका छन् ।
प्रदेश अध्यक्षको निर्वाचनमा रावलले ७ सय ५६ मत प्राप्त गर्दै विजयी हासिल गरेका थिए । उनका प्रतिद्वन्रूी कृष्ण ओलीले २ सय ९२ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा योगेन्द्र बहादुर बलायरले ६ सय ६५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लक्ष्मण तिवारीले ३ सय १६ मत प्राप्त गरेका छन् भने महासचिवमा रामसिंह ठगुन्नाले ६ सय १५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिवराज भट्टले ४ सय २५ मत प्राप्त गरेका छन् ।
समावेशी सचविमा प्रेम चुनाराले ६ सय ६६, सचिव पदमा हरिप्रसाद जोशीले ६ सय ६० कोषाध्यक्षमा रामबहादुर धामीले ५ सय ४८ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै खुला सदस्यमा दीपेन्द्र भण्डारीले ५ सय ६७, धर्मेन्द्र बिसीले ६ सय ३८, भागीरथ अवस्थीले ७ सय ९, बीरबहादुर बलायरले ५ सय ८४, तपेन्द्र कुँवरले ६ सय ६६ मत प्राप्त गरी विजयी भएका छन् भने महिला सदस्यमा कालिमैयाँ चौधरी ७ सय ४२, बन्दना बमले ७ सय ७, रामदुलारी रानाले ६ सय ४४ मत प्राप्त
गरेका छन् । दलित सदस्यमा ५ सय ७३ मत प्राप्त गर्दै भीम बि.क. निर्वाचित भएका छन् भने आदिबासी जनजाति सदस्यतर्फ रामबहादुर दहित ६ सय ४२ र रामलखन चौधरी ७ सय ७ मत प्राप्त गर्दै विजयी भएका छन् ।
त्यस्तै, कैलाली जिल्लामा हिमालय जोशी नेतृत्वको प्यानल निर्वाचित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *