महोत्सवको ११ दिनमा ४४ लाख बढीको टिकट बिक्री

शेयेर गर्नुहोस


टीकापुर ०९ माघ /
टीकापुर महोत्सव २०८० ले माघ ७ गतेसम्म ४४ लाख भन्दा बढीको टिकट बिक्री गरेको छ ।
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा पुस २७ गतेबाट सुरु भएको सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवले माघ ८ गते सोमबारसम्म ४४ लाख ५३ हजार ५ सय ४० रुपैयाँको टिकट बिक्री भएको हो । संघका कोषाध्यक्ष लोकेश साउँदका अनुसार महोत्सवमा ६ सय ३० सिजनल टिकट बिक्री भएको छ । “महोत्सव अपेक्षा गरेअनुसार सफल हुँदै गएको छ । विगतमा जस्तो यसवर्ष पनि टीकापुरबासीको साथ सहयोग र महोत्सव अबलोकन गर्न आउने दर्शकहरुको मायाले टीकापुर महोत्सव सफल भएको हो ।” कोषाध्यक्ष साउँदले भने, “आगामी दिनमा पनि टीकापुर क्षेत्रको व्यापार व्यवसाय बढाउनका लागि संघले यस्ता मेला महोत्सव आयोजना गर्दै जानेमा विश्वस्त छौँ ।”
संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव संयोजक सन्तोष खड्काले महोत्सव सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले महोत्सव सञ्चालन गर्नु पुर्व थुप्रै चुनौतीको सामना गर्नुपरे पनि सञ्चालन भएपछिको अवस्था संतोषजनक रहेको बताए । “सुरुमा थुप्रै चुनौतीहरु हाम्रा अगाडि थिए । ती चुनौतीलाई सामना गर्न समस्या हुन्छ कि भन्ने थियो । आज समापनको समय नजिकिँदै जाँदा महोत्सवले सफलता हासिल गरेको छ ।” महोत्सव संयोजक खड्काले भने, “सबैको सहयोग, समन्वय र सहकार्यले महोत्सव पुर्णरुपमा सफल भएको छ ।”
महोत्सवमा व्यवसाय गर्नका लागि आएका व्यापारीहरुको प्रतिक्रिया पनि सकारात्मक रहेको उनको भनाई छ । “व्यापारीहरु खुशी हुनुहुन्छ । आगामी दिनमा पनि व्यवसाय गर्न आउने वातावरण महोत्सवले बनाएको छ ।” उनी भन्छन्, “आर्थिक तथा सामाजिक रुपमा पनि टीकापुर महोत्सव सफल भएको हामीले विश्वास गरेका छौँ । महोत्सव सफल हुनु र दर्शकहरुको मागअनुसार दुई दिन थप गरेका छौँ ।” खड्काले महोत्सवको विषयमा आइरहेका सबै प्रतिक्रियालाई सुझावको रुपमा लिएको बताउँदै आगामी दिनमा ती सुझावलाई अनुसरण गरेर अगाडि बढ्ने बताएका छन् । यसभन्दा पहिले माघ ८ गते समापन गर्ने महोत्सव दर्शकको मागअनुसार १० गते महोत्सव समापन हुने छ ।
दर्शकको मागअनुसार माघ ९ गते आज नायक पल शाह टीकापुर महोत्सवमा आउने भएका छन् । पछिल्लो समय दर्शकसामु निकै रुचाइएका नायक पल शाहलाई टीकापुर ल्याउन लागिएको संघका सचीव तथा साँस्कृतिक संयोजक तपेन्द्र कुँवरले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *