शेयेर गर्नुहोस
टीकापुर १२ कार्तिक /
मालपोत कार्यालय टीकापुरमा बेथिति मौलाउँदै गएको भन्दै लम्कीचुहा नगरपालिका वडा नं. ४ का कृष्ण बहादुर खत्रीले कार्यालयको कामकाज सेवाग्राहीमैत्री बनाउन माग गरेका छन् ।
मालपोत कार्यालय टीकापुर परिसर बाहिर आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै खत्रीले मालपोत कार्यालय टीकापुरको लापरबाही र मनपरी तन्त्रको विरुद्धमा जनचेतनाका लागि भन्डाफोर कार्यक्रम मार्फत सेवाग्राहीमत्री काम गर्न माग गरेका हुन । उनले मालपोत कार्यालयका विरुद्धमा ईलाका प्रशासन कार्यालय टीकापुर र नापी कार्यालय टीकापुरलाई बोधार्थ राखेर १६ बुदे मागसमेत राखेका छन् । मालपोत कार्यालयले दिनप्रतिदिन सेवाग्राहीलाई दिनसम्म दुख दिएको भन्दै त्यसको साक्षी आफू भएको बताएका छन् । “मैले सेवा लिन मालपोत आउँदा जुन दुख र अनावश्यक खर्चको भारी बोक्नुपर्यो । त्यो अधिकांश सेवाग्राहीले भोग्नु र बोक्नुपरेको छ ।” उनले भने, “सेवाग्राहीलाई सेवा दिन स्थापना भएको कार्यालय हो की सेवाग्राहीलाई ठग्न ।
खत्रीले १० फिट मोहडा भएको ६ सय ८० मिटर लम्बाईको जग्गाको मुल्यांकन मालपोतले झण्डै ११ लाख गरेको बताउँदै उक्त जग्गाको मुल्यांकन करिब दुई लाख मात्रै रहेको बताएका छन् । “मलाई समस्या आउँदा धेरै कुरा बाहिर आएका छन् । यहाँ १४ लाखमा किनेको जग्गाको लाभाङ्श कर मात्रै ११ लाख तिर्नुपर्ने आएको थियो रे । यो मालपोतको मनमर्जी होईन ?” उनले भने, “सेवाग्राही लाचार छन् । मालपोतले भनेको मानौँ क्षमता भन्दा बढी गर्नुपरेको छ । नमानौं भने समयमा काम हुँदैन मालपोत धाउँदै महिना बित्छ ।”
उनले दैनिक लाखौं राजश्व संकलन गर्ने कार्यालयले एउटा बैंकको डेस्क राख्न नसक्नु लज्जास्पद कुरा भएको बताएका छन् । मालपोतल सेवाग्राहीलाई प्रभावमा पारेर गलत फाइदा उठाउने गरेको भन्दै खत्रीले त्यसका विरुद्ध कठोर भएर प्रस्तुत हुनुपर्ने बताए ।










