शेयेर गर्नुहोस
टीकापुर २६ माघ /
बेल्जियममा बस्दै आएका गैर आवासीय नेपालीले (एनआरएनए) इजरायल घटनामा ज्यान गुमाएका विद्यार्थीहरुका परिवारलाई आर्थिक सहयोग गरेका छन ।
हमासको आक्रमणमा परी इजरायलमा घटनामा ज्यान गुमाएका दश जनाका परिवारलाई प्रति परिवार ५० हजारका दरले ५ लाख आर्थिक सहयोग गरेका हुन । सुदूरपश्चिम विश्व विद्यालय कृषि संकायका डिन डा. विष्णु बिलास अधिकारीले एक कार्यक्रमकाबीच उक्त सहयोग रकम प्रदान गरेका छन । रकम प्रदान गर्दै डिन अधिकारीले बेल्जियममा बस्दै आएका नेपालीहरुलाई आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन । उनले परदेशमा बसेर दुःखमा सम्झिएकोमा आभार समेत व्यक्त गरे ।
उनले आर्थिक सहयोग रकमले मृतक विद्यार्थीहरुका परिवारलाई थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । उनले १० जना बिद्यार्थीहरुको स्मृतिमा पार्क निर्माण गर्ने प्रक्रियामै रहेको पनि बताए । “इजरायली राजदुतसँग सल्लाह भएको छ । प्रदेश र स्थानीय सरकारसँग पनि स्मृति पार्क र सालिक निर्माणका लागि समन्वय र सहकार्यको कुर चलेको छ ।” उनले भने, ” साथै आगामी दिनमा सिकाइका लागि बिद्यार्थीहरुलाई बाह्य देश जान नपर्ने गरी नमुना कृषि फार्म निर्माणका लागि राजदुतले समन्वय गर्नुभएको छ ।” साथै डिन अधिकारीले इजरायलको राजदुतावासले मृतकका परिवारलाई उपलब्ध गराउने आर्थिक सहयोग केहि समयमा उपलब्ध हुने पनि बताएका छन् ।
अधिकारीले ज्यान गुमाएका मध्ये कैलालीको घोडाघोडी नगरपालिकाका नारायण प्रसाद न्यौपाने र जोशीपुर गाउँपालिकाका आशिष चौधरीका आफन्तलाई रकम प्रदान गरेका छन । न्यौपानेका बुवा हरिकृष्ण न्यौपाने र चौधरीका बुवा बेझुलाल डगौराले रकम बुझेका छन । अन्य विद्यार्थीहरुका परिवारलाई बैंक मार्फत रकम प्रदान गरिएको छ । उनीहरुलाई आउन जान समस्या हुने भएकाले बैंक मार्फत नै रकम प्रदान गरिएको छ ।
विदेशबाट सहयोग संकलन गरेर एनआरएनएका बेल्जियमका अध्यक्ष सीता सापकोटाको संयोजकत्वमामा भएकोमा नेपालमा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले सहजीकरण गरेका थिए । अध्यक्ष रावलले विदेशबाट संकलन भएको आर्थिक सहयोग मृतकका परिवारलाई उपलब्ध गराउन सहजीकरण गरेको बताउँदै आगामी दिनमा पनि यस्ता घटनामा सहयोग गर्न आग्रह गरेका छन् ।
‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका दश जना विद्यार्थीको हमासको आक्रमणमा परेर असोज २० गते ज्यान गएको थियो । ज्यान जानेमा कैलालीका न्यौपाने र चौधरी सहित बझाङका गणेशकुमार नेपाली, डोटीका पदम थापा, डोटीकै राजन फूलारा, दार्चुलाका लोकेन्द्रसिँह धामी, दार्चुलाकै दिपेशराज बिष्ट, सल्यानका प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साह रहेका छन । सोही कार्यक्रममा उनीहरु सहित विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका थिए । ती मध्ये कञ्चनपुरका विपिन जोशी अहिलेसम्म बेपत्ता छन ।