शेयेर गर्नुहोस
टीकापुर ०५ मंसिर/
मेयर अन्तरविद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
टीकापुर नगरपालिका शिक्षा, युवा खेलकुद शाखाको सहयोग प्रतियोगिता सुरु भएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगैरा थारुले विद्यार्थीहरुका लागि शिक्षा जति नै महत्त्वपूर्ण खेलकुद रहेको बताएका छन् । उनले स्वास्थ्यलाई स्वस्थ राख्न खेलकुद जरुरी रहेको बताउँदै खेलकुदले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
“टीकापुर हरेक दृष्टिकोणले सम्भावनाको भएको शहर हो । त्यसमध्येको एक हो खेलकुद पनि ।” उनले भने, “सम्भावना भएको यो शहरमा बाटो कुन रोज्ने तपाई हामीमा भर पर्ने कुरा हो ।” उनले विद्यार्थी जीवनमा अनुशासनको महत्व धेरै हुने र अनुशासन जान्नका लागि खेलकुदबाट सिक्न सकिने बताएका छन् । नगर प्रमुख थारुले नगरपालिकाले खेलकुदका गतिविधि सञ्चालनका लागि बर्सेनि लाखौं बजेट खर्च गर्दै आएको बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा शाखा अधिकृत नरेश अवस्थीले प्रतियोगितामा २८ वटा खेलकुदका बिद्या समावेश हुने बताएका छन् । उनले नगरपालिकाको शिक्षा शाखाको वार्षिक क्यालेन्डर अनुसार नै खेलकुद प्रतियोगिता सुरु भएको बताउँदै त्यसलाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।
सामुदायिक बिधालय अन्तर्गत यसवर्ष प्रतियोगिताको आयोजक सरस्वती माद्यामिक बिधालय बनगाँउ रहेको छ । उक्त कार्यक्रमको अध्यक्षता बिधालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर पुनमगरले गरेका थिए । बिधालयका प्रधानाध्यापक खगेन्द्र घर्तिमगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले गरेका थिए । खेलकुद कार्यक्रमका लागि बजेट विनियोजनमा निकै कन्जुस्याइँ हुँदै आएको भन्दै त्यसलाई बढाउन नगरपालिकालाई आग्रह गरिएको छ ।
प्रारम्भिक चरणबाट उत्कृष्ट खेलाडीहरुलाई फाइनलमा सहभागी गराएर प्रतियोगिता १० गते सम्पन्न गरिने बताइएको छ । हाल सामुदायिक तर्फ वडा नं. ५ सम्मका बिधालयलाई वीरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालयको खेलमैदानमा, संस्थागततर्फ वडा नं. ५ सम्मका बिधालयलाई टीकापुर बहुमुखी क्याम्पसको खेलमैदान र साविकको नारायण र धनसिंहपुर गाविस भित्रका बिधालयका विद्यार्थीलाई सत्ती खेलमैदानमा प्रतियोगितामा प्रतिस्पर्धा गराइएको छ ।
संस्थागत बिधालय अन्तर्गतको प्रतियोगिताको आयोजकको जिम्मेवारी सप्तऋषी माद्यामिक बिधालयले लिएको छ ।आयोजक विद्यालयका प्रीन्सीपल लिखराम चाैधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक शिवराम चाैलागाईले गरेका थिए । खेलमा संस्थागत तर्फका वडा नं.५ सम्मका २४ वटा विद्यालय सहभागी रहेको आयोजक विद्यालयले जनाएको छ ।










