मोटरसाइकल खरिदका लागि २० लाख बजेट, पाँच वर्षमा २५ मोटरसाइकल खरिद

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ३१ साउन/
टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा मोटरसाइकल खरिदका लागि २० लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकामा नवनिर्वाचित भएर आएका वडा अध्यक्षहरुका लागि नयाँ मोटरसाइकल खरिदका लागि बजेट विनियोजन गरेको हो । २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचन पछि नगरपालिकाले नौवटै वडा अध्यक्षका लागि मोटरसाइकल खरिद गरेको थियो । दोस्रो निर्वाचन पछि सबै वडा अध्यक्षहरुले मोटरसाइकल नगरपालिकामा फिर्ता गरेपनि नवनिर्वाचित जनप्रतिनिधिहरुले अहिलेसम्म मोटरसाइकल पाएका छैनन् । पुराना नगरपालिकामा फिर्ता भएका मोटरसाइकलहरु नगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रयोगमा ल्याएका छन् ।
“नगरपालिकामा वडा अध्यक्षहरुबाट फिर्ता आएका मोटरसाइकल वडाका प्राविधिकहरुले प्रयोग गर्दै आउनुभएको छ । कार्यालयले निर्णय गरेर प्राविधिकलाई मोटरसाइकल दिने निर्णय गरेको छ ।” नगरपालिकाका स्टोर शाखा प्रमुख देवीप्रसाद आचार्यले भने, “कार्यालयले निर्णय गरेपछि स्टोरले दिन्न भन्न मिलेन ।” स्टोरले कार्यालयको निर्णयअनुसार वडामा कार्यरत कर्मचारीहरुलाई मोटरसाइकल हस्तान्तरण गरेको भनेपनि नगरपालिकाकै कर्मचारीहरुले ती मोटरसाइकल प्रयोगमा ल्याएको पाइएको छ । स्टोरले दिएको प्रमाणका आधारमा अधिकांश मोटरसाइकल नगरपालिकाकै कर्मचारीले प्रयोगमा ल्याएको पाइएको हो ।
हस्तान्तरण गरिएको तत्कालीन अवस्थामा निवर्तमान जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको मोटरसाइकल तथा साइकलहरु नगरपालिकाको स्टोर शाखामा बुझाएका थिए । स्टोर शाखाले त्यसको जिम्मा लिएको थियो । तर, स्टोरलाई जानकारी गराएर बुझाएका मोटरसाइकल सकुशल फिर्ता भएपनि केही वडा सदस्यले फिर्ता गरेका साइकलको अवस्था हेर्दा गम्भीर प्रश्न उठेको छ । केही वडा सदस्यले फिर्ता गरेको साइकल भन्दा राम्रो साइकल कवाडीमा बिक्री भएको हुन्छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/ ०७५ देखि गत आर्थिक वर्षसम्म २५ वटा मोटरसाइकल खरिद गरेको छ । गत आर्थिक वर्षमा मात्रै नगरपालिकाले पाँचवटा मोटरसाइकल खरिद गरेको पाइएको छ । नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुका लागि १६ मोटरसाइकल खरिद भएका छन् । जसमा पाँचवटा स्कुटर छन् भने ११ वटा मोटरसाइकल रहेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहले अधिकृत सरहको कर्मचारीहरुलाई तहअनुसार सवारीसाधनको उपलब्ध गराउन सक्ने व्यवस्था रहेको बताएका छन् । उनले आवश्यकताको आधारमा नगरपालिकाले कर्मचारीहरुलाई सवारीसाधन उपलब्ध गराएको बताए । “हामिले फिल्डमा खटिने कर्मचारीहरुका लागि सवारीसाधनको व्यवस्था गरेका छौं । त्यसमा पशु प्राविधिक, कृषि प्राविधिक, ईन्जिनियरहरु र अन्य फिल्डमा काम गर्ने कर्मचारीहरुका लागि हो ।” प्रमुख प्रशासकिय अधिकृत शाहीले भने, “जुन वडा अध्यक्षहरुले फिर्ता भएका मोटरसाइकल थिए, ती मोटरसाइकल प्राविधिकलाई प्रयोगमा ल्याउन दिएका छौं । अझै केही अपुग छ ।”
उनले गत तीन आर्थिक वर्षमा पनि नगरपालिकाले मोटरसाइकल खरिदका लागि बर्सेनि १५ लाख बजेट विनियोजन गर्दै आएको भएपनि बजेट खर्च हुन नसकेको बताएका छन् । चालू आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट वडा अध्यक्षहरुलाई र केही नगरपालिकाका प्राविधिकहरुलाई मोटरसाइकल खरिदका लागि बजेट विनियोजन गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *