शेयेर गर्नुहोस
झलनाथ खनाल, भजनी १४ भदौ/
कैलालीको भजनी नगरपालिका वडा नं. ५ पगियाप्रसारका का महेन्द्रसिंह बुढाको घरमा यतिबेला कोहि छैन । मोहना नदीले कटान गर्दै घर पुर्ण जोखिममा परेपछि महेन्द्रको घरमा मान्छे बस्न सक्ने स्थिति छैन । बर्सेनि नदीको कटानले घरसँगै जोडिएको सडक आधा कटान गरिसकेको छ ।
सडक कटान भए नदीले धार नै परिवर्तन गर्न सक्ने जोखिम रहेको स्थानीय चन्द्र बोहरा बताउनुहुन्छ । मोहना नदीको कटानले बर्सेनि आजित बन्दै आउनुभएका चन्द्रलाई कुन दिन पुर्ण विस्थापित भएर जानुपर्ने हो भन्ने कुराको चिन्ता छ । बर्सेनि नदी कटान गर्दै वस्ती पस्न थालेपछि चन्द्र जस्तै सयौं परिवार मोहना नदीको कटानले आजित बनेका छन् । उहाँका अनुसार जीवनलाई हत्केलामा राखेर मोहनाको तटीय क्षेत्रका नागरिकहरूले जीवनयापन गरिरहेका छन् । स्थानीयको हजारौं बिघा लालपुर्जा भएको जमीन बगर बनिसकेको छ । नदीले बर्सेनि धार परिवर्तन गर्दै आएको छ ।
“नदी हिजो बग्ने ठाउँ देखायो भने आज कसैलाई पत्याउन गाह्रो हुन्छ । वस्तीमा नदी सर्ने हामी नदीबाट बच्नको लागी घर सार्ने गरेका छौँ । हाम्रो हत्केलामा जीवन छ ।” उहाँ भन्नुहुन्छ, “अब त सर्नको लागि ठाउँ छैन । अन्य ठाउँमा जग्गा छैन ।” त्यस क्षेत्रका नागरिकहरू वर्षा सुरु भएपछि दु:खका दिन सुरु भएको महसुस गर्दै आउनु भएको छ । मोहनाको कटानले कैयौं परिवार सुकुम्बासी बनेको स्थानीयको भनाई छ ।
सोही ठाउँका झंकर बहादुर साउँद आकाशमा कालो बादल मडारिएपछि रातभर जाग्राम बस्ने गरेको बताउनुहुन्छ । नदी वस्तीसम्मै पुगेपछि नदीको पानीको बहाव हेर्न रातीको समयमा स्थानीय परिचालित गर्नुपर्ने स्थिति आएको उहाँको भनाई छ । “सुरक्षीत स्थानमा जानलाई त्यस्तो ठाउँ छैन । यतै बस्नलाई कतिबेला के हुन्छ त्यसको कुनै ग्यारेन्टी छैन ।” झंकरले भन्नुभयो, “हाम्री पीडा सुन्ने कोहि छैन । जसोतसो भगवान भरोसा आजसम्म सकुशल छौँ भनौं भोलि कसले देखेको छ र ।” उहाँले नदी नियन्त्रणको आशा गर्दागर्दै दिनहरु बेथित भएको गुनासो गर्नुभयो ।
नागरिकहरू बर्सेनि पिडामा जीवन बिताउन बाध्य हुँदा पनि राज्यले बेखबर भएको दुखेसो सिद्धराज जैशीको छ । राहत, उद्दार तथा अनुगमनको लागि बर्सेनि पुग्ने सरकार नदी नियन्त्रण गर्नको लागि आउन नसकेको उहाँको भनाई छ । “नागरिकहरू पिडामा हुँदा राहत र उद्दारको लागि सबैले पहल गर्छन् । त्यसैगरी नदी नियन्त्रणको लागि पहल गरेको भए सायद भजनीले डुवानबाट छुटकारा पाउथ्यो कि ?” उहाँ भन्नुहुन्छ, “हामीलाई राहत चाहिएको छैन । हामीलाई भजनीको डुवानको दीर्घकालीन समाधान चाहिएको छ । हामीलाई त्रासरहित जीवनयापन गर्ने आधार चाहिएको छ ।”
भजनी चारैतिरबाट नदीले घेरिएको नगरपालिका हो । यहाँ कान्द्रा, मोहना, काँढा र पथरैया नदी भजनी नगरपालिकासँग जोडिएका छन् । ती नदीको पानीको सहज निकास हुन नसक्दा भजनी डुवानमा पर्दै आएको छ । हजारौं नागरिकहरु बाढी र डुवानका कारण बर्सेनि विस्थापित हुने गरेका छन् । “बृहत योजना ल्याएर चारै नदी नियन्त्रण गर्न सकेमात्र भजनीलाई डुवान र कटानको जोखिमबाट बचाउन सकिन्छ ।” स्थानीय सुर्यबहादुर चौधरी भन्नुहुन्छ, “होइन भने खेतीयोग्य जमीन बगर बन्ने क्रम रोकिने छैन । नागरिकहरूले सहजरूपमा जीवनयापन गर्न सक्ने छैन ।”
भजनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बुढाले संघीय सरकारका प्रतिनिधि आएर कैयौंपटक नदी नियन्त्रणका लागि सर्वे गरेर गएको बताउँदै योजना सहित कोहि नफर्केको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाको स्रोतसाधनले नदी नियन्त्रण गर्न सक्ने स्थिति नरहेको बताउँदै संघीय सरकारको वृहत् योजनाको आशामा भजनी रहेको बताउनुभयो । “हामीले हाम्रो स्रोतबाट हुनसक्ने काम गरेका छौँ । त्यो भनेको जैविक तटबन्ध मात्रै हो । त्यसका लागि गत वर्ष पनि १६ लाख खर्च भएकै हो । तर अहिले त्यो जैविक तटबन्ध कहाँ भएको हो थाहा नपाउने स्थिति छ ।” वडा अध्यक्ष बुढाले भन्नुभयो, “यसपटक पनि प्रदेश र संघ सरकारलाई आग्रह गरेका छौँ । आशा गरौं बजेट आउँछ कि ?”
उहाँका अनुसार मोहनाको कटानबाट करिब दुई सय ५० परिवार उच्च जोखिममा रहेका छन् । नदीले धार परिवर्तन गर्दा वस्ती सँगै हजारौं खेतीयोग्य जमिन थप बगर बन्ने देखिएको छ । अहिले पनि स्थानीय सरकारसँगको समन्वयमा जैविक तटबन्धको काम भैरहेको छ । “जहाँ बढी जोखिम रहेको छ त्यहाँ स्थानीयको जनश्रमदानबाट जैविक तटबन्धको काम भैरहेको छ ।” वडा अध्यक्ष बुढा भन्नुहुन्छ, “जसोतसो यो बर्खा कटेको भए त्यसपछि केही विकल्पमा काम गर्न सकिन्थ्यो ।” अहिले पनि भजनी त्रासमा छ ।