म माथि निराधार आरोप लागेका छन् : भण्डारी

शेयेर गर्नुहोस


टीकापुर १२ असार /
जानकी गाउँपालिकाका अध्यक्ष खकेन्द्र भण्डारीले आफू माथी निराधार आरोपहरु लगाइएको बताउँदै त्यस्ता अनावश्यक हल्लाको पछाडि नलाग्न आम नागरिकहरूलाई अपिल गरेका छन् ।
बिहीवार पत्रकार सम्मेलन मार्फत सामाजिक सुरक्षा भत्ता प्रकरणमा जोडिएर बाहिर सार्वजनिक भएका तथ्यमा कुनै सत्यता नभएको बताउँदै त्यस्ता अनावश्यक कुराको पछाडि नलाग्न अपिल गरेका हुन । “यदि मैले गलत गएकै हो भने त्यसको छानबिन भएर प्रमाणित हुनुपर्यो । छानवीन हुँदाहुँदै कसैलाई दोषी ठहर गरेर चरित्र हत्या गर्ने काम गर्नु राम्रो होइन ।” उनले भने, “भोलि म दोषी ठहर भएपछि त्यसको सजाय भोग्न म तयार छु । अहिले आफै आफै न्यायाधीश भएर जुन अफवाह फैलाउने काम भएको छ यो नीति सम्मत छैन ।”
वडा अध्यक्ष भण्डारी सहित वडा सदस्य कल्पना खड्का, तत्कालीन वडा सचीव प्रेमबहादुर बुढा विरुद्ध २०७९ साउन १० गते वडाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसंधान आयोगमा मुद्दा परेको थियो । त्यो मुद्दा आज पनि अनुसन्धानमै रहेको बताइएको छ । वडा अध्यक्ष भण्डारी सहितका व्यक्तिले मृत्यु भैसकेका व्यक्तिहरुको नाममा समेत सामाजिक सुरक्षा भत्ता खुट्टाको ल्याप्चे लगाएर बुझेको आरोप छ । उक्त विषयमा भण्डारी विरुद्ध २०८० जेठ ३ गते र २०८१ जेठ २४ गते भृकुटीमण्डप स्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरिएको थियो । त्यसपछि निकै चर्चामा आएको उक्त विषयको बारेमा पत्रकार ऋषी धमलाले वडा नं. ९ पुगेर रिपोर्टिङ समेत गरेका थिए ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष भण्डारीले आफुले कुनै अपराध नगरेको बताउँदै जनताको माझबाट नभाग्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक अभियान्ताको नाममा आफुमाथी ठूलो जालझेल हुँदै आएको बताउँदै त्यसता कुराहरूबाट आफू कहिल्यै विचलित नहुने बताएका छन् । “हामी नष्ट भएर जाउला तर भ्रष्ट कहिल्यै हुन सक्दैनौं ।” उनले भने, “अभियन्ताको नामा भैरहेको नक्कली काम धेरै दिन टिक्ने छैन ।”
तत्कालीन वडा सचीव प्रेमबहादुर बुढाले २०७४/०७५ मा गाउँपालिकामा बैंक स्थापना नभैसकेको खण्डमा गाउँगाउँमा गएर सामाजिक सुरक्षा भत्त वितरण गर्नुपरेको बताउँदै त्यस्तो कुनै अनियमितता नभएको जिकिर गरे । उनले सामाजिक सुरक्षा भत्ता पाएका सेवाग्राहीको तथ्यांक सुरक्षित रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *