यसवर्ष वर्ष पनि हुँदैन मेयर कप

शेयेर गर्नुहोस

टीकापुर १३ मंसिर /
टीकापुर नगरपालिकाले आयोजना गर्ने मेयर तथा उपमेयर कप फुटबल यसवर्ष पनि नहुन निश्चित भएको छ ।
नगरपालिकाले माघ महिनामा सहिद सप्ताहको आयोजना गर्दै सञ्चालन गर्दै आएको मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिता नहुने निश्चित भएको हो । खेलकुदलाई जीवन्त राख्न बिधालय स्तरीय मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिताले टीकापुरको फुटबल खेललाई उचाइमा पुर्याएको इतिहास हाम्रा अगाडि भए पनि पछिल्लो तीन वर्षदेखि मेयर तथा उपमेयर कप आयोजना हुन सकेको छैन ।
टीकापुर नगरपालिका भित्रका बिधालय तथा विद्यार्थी खेलाडीहरुका लागि महत्त्वपूर्ण उत्सवको रुपमा लिँदै आएको फुटबल प्रतियोगिता पछिल्लो तीन वर्ष अर्थात २०८० सालपछि हुन सकेको छैन । वर्तमान जनप्रतिनिधि निर्वाचित भएर आएपछि एकपटक मेयर तथा उपमेयर कप आयोजना गरिए पनि त्यसपछिका वर्षमा नगरपालिकाले बजेटको अभाव देखाउँदै प्रतियोगिता गर्न सकेको छैन ।
उसो त मेयर कपको नाममा नगरपालिकाले यसवर्ष पनि ८ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यो रकम अन्तर बिधालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खर्च गरेपछि मेयर तथा उपमेयर कपको तयारीमा रहेका खेलाडीहरुको सपना सपनामै सिमित भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत नरेश अवस्थीले बजेटको अभावका कारण मेयर कप आयोजना गर्न नसकिने बताएका छन् । “मेयर कपको लागि ८ लाख विनियोजन भएको थियो । त्यो बजेटबाट राष्ट्रपति रनिङ शिल्ड खेलाउनु पर्ने भयो ।” उनले भने, “अब हामीसँग यसवर्ष बजेट छैन । मेयर कप सायद हुँदैन ।”
स्थानीय तह जनप्रतिनिधि बिहिन भएपछि रोकिएको मेयर कप २०७४ को स्थानीय तहको निर्वाचनसँगै सुरु भएको थियो । त्यसपछिका दुई वर्ष कोरोनाका कारण मेयर कप हुन सकेन । पछिल्लो वर्षमा बजेट भन्दा पनि इच्छाशक्ति नभएका कारण मेयर तथा उपमेयर कप हुन नसकेको देखिन्छ । शिक्षा अधिकृत अवस्थी भने शाखाले माग गरेबमोजिम बजेट नगर सभाबाट विनियोजन नहुँदा खेलकुदसँगै अन्य अतिरिक्त क्रियाकलाप गर्न पनि चुनौती हुँदै आएको बताउँछन् । “हामीसँग २५ लाख बजेट छ । त्यसबाट स्थानीय पाठ्यक्रमको छपाइ सहित अन्य शिक्षा लगायतका गतिविधि सञ्चालन गर्नुपर्छ ।” उनले भने, “बजेटको निश्चित छ । अपेक्षा अनि कार्यक्रम धेरै हुँदा मेयर कप लगायतका नियमित कार्यहरू सञ्चालन गर्न निकै गाह्रो भैरहेको छ ।
२०८९ मा भएको मेयर तथा उपमेयर कपको विजेताले पाएका ट्रफी पनि कोसँग छन् भन्ने नगरपालिकालाई एकिन छैन । फेरि अन्तिम प्रतियोगिताको उपाधी कसले जितेको थियो भन्ने रेकर्ड पनि नगरपालिकासँग छैन । “पुरुष तर्फको ट्रफी कार्यालयमा फिर्ता आइसकेको छ । महिलातर्फको ट्रफी फिर्ता आएको छैन ।” शिक्षा अधिकृत अवस्थीले भने, “अब त्यलाई पनि मगाएर नगरपालिकामै राख्नुपर्छ ।”
उनका अनुसार मेयर तथा उपमेयर कपको ट्रफी बनाउन एक/ एक लाख रुपैयाँ लागेको थियो । त्यो ट्रफीमा सुन र चाँदीको लेप लगाइएको छ । मेयर तथा उपमेयर कपममा लगातार तीन वर्ष उपाधी जितेको बिधालयले मात्रै उक्त ट्रफी सधैका लागि लिन पाउँछ । नभए प्रतियोगिता आयोजना हुँदा नगरपालिकालाई ट्रफी फिर्ता गर्नुपर्छ । मेयर कपबाटै फुटबलमा उदाएका कैयौं खेलाडीले राष्ट्रिय तथा प्रदेश स्तरीय खेलकुदमा आफुलाई अब्बल सावित गरेका उदाहरण हाम्रा अगाडि छन् । त्यसकारण मेयर तथा उपमेयर कप आयोजना हुनुपर्ने खेलकुदमा भविस्य देखेका विद्यार्थी खेलाडीहरुले माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *